१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १२ बुधबार ११:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोकर्ण राज निकुञ्जको पर्खाल जीर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १२ बुधबार ११:०५:००

नेपाल ट्रस्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् ।
निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किलाेमिटर पर्खालमध्ये धेरै भाग जीर्ण छ ।

उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकललगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । जीर्ण पर्खाल ठाउँठाउँमा भत्किएको छ । भत्किएका केही स्थानमा काँडेतार लगाए पनि धेरै स्थानमा खुला छ ।

गोकर्णबाट जोरपाटी निस्कने सडक विस्तार भइरहेकाले धेरैजसो साना सवारी गोकर्णेश्वर मन्दिरबाट माकालबारी निस्कने सानो सडकबाट हिँड्छन् । विस्तार भइरहेको सडक वर्षामा हिलो र हिउँदमा धुलो हुने भएकाले वैकल्पिक सडक रोज्नुपरेको मोटरसाइकलमा यात्रा गरिरहेका दिलेन्द्र रायमाझी बताउँछन् । पर्खालभित्रतिर राज निकुञ्जमा पक्की सडक छ । वैकल्पिक रूपमा उपयोग गर्ने गरी राज निकुञ्जभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले पटकपटक माग गर्दै आएको छ ।

गोकर्णेश्वर नगरपालिका– ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल जीर्ण हुँदा साना सवारी जोखिममा परेको, भत्किएको स्थानबाट राज निकुञ्जका वन्यजन्तु आई खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको बताउँछन् ।  नेपाल ट्रस्टको कार्यालयमा यससम्बन्धी गुनासा धेरैपटक गरिएको उनले सुनाए । 

वर्षौँदेखि जीर्ण बनेको पर्खाल बनाउन कार्यालयको ध्यान नगएको स्थानीयवासी गुनासो गर्छन् । जीर्ण पर्खाल भत्किएकाले दाउरा, रूखलगायत चोर्न राज निकुञ्ज छिर्न पनि सहज भएको छ । नेपाल ट्रस्टको कार्यालयको एकाइ कार्यालय दक्षिणढोकामा छ ।

जहाँबाट उत्तरवाहिनीतिर पुग्न समय लाग्ने भएकाले पनि निकुञ्जभित्र चोरी गर्न छिर्न चाहनेका लागि सहज भएको छ ।एकाइ कार्यालयका प्रमुख विष्णुबहादुर बस्नेत पर्खाल भत्किएको विषयमा केन्द्रीय कार्यालयमा वर्षौँअघिदेखि नै जानकारी गराउँदै आएको बताउँछन् । पर्खाल बनाउन चालू आर्थिक वर्षमा ठेक्का भएकाले छिटै काम हुने पनि उनले सुनाए । रासस