प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको शुभकामना सन्देशमा प्रयोग भएको निसान छापलाई विवादमा तान्न कुप्रचार गरेकाे आरोप लगाएका छन् ।
उनले ट्विटमा प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा प्रयोग भएको निसान छापमा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने बताएका हुन् ।
उनले नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्सामा सबै प्रस्ट देख्न सकिने दाबी गरेका छन् ।
‘डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत् सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु । लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निसान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसद्को सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो । तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन,’ प्रेस नोटमा उल्लेख छ ।