मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार १६:३९:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्छ : प्रधानमन्त्री (पूर्णपाठसहित)

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार १६:३९:००

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नभागेको जनाएका छन् । 

देशका नाममा शुक्रबार सम्बोधन गर्दै उनले नागरिकको रक्षा गर्नु सरकारको निःसर्त दायित्व भएको जनाएका हुन् ।  

उनले कोरोना परीक्षण र उपचारको यथोचित प्रबन्ध यो सरकारले गर्ने जनाए । उनले त्यतिमा मात्र नरोकिएर कोरोनाको खोपको सहज पहुँचका लागि सरकार क्रियाशील रहेको दाबी गरे । 

कोरोना संक्रमितको उपचार सरकारले नगर्ने भन्दै अफवाह फैलाइएको उनले आरोप लगाए । उनले महामारीका वेला आफवाहको तुवाँलो लाग्ने गरेको भन्दै अहिले कोरोनाका वेला पनि चैत महिनादेखि अहिलेसम्म अफवाहका तुवाँलो निरन्तर फैलाइरहेको बताए ।

उनले मृत्युदर ०.६ प्रतिशतभन्दा माथि जान नसकेको उल्लेख गर्दै काेरोनाविरुद्ध लड्न सबै सिपाहीका रूपमा अघि बढ्नुपर्ने बताए ।

‘सक्ने आफैँ बाँच, नसक्ने जे सुकै गर’ भन्ने हल्ला सुनिएको छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना उपचारका क्रममा उपचार गर्न सक्दिनँ भनी स्वघोषणा गर्नेहरूलाई सरकारले उपचारको निरन्तर व्यवस्था गरेको बताए । र, यो निरन्तर जारी रहने उनको भनाइ छ । 

साथै उनले शव व्यवस्थामा कोही कसैलाई भेदभाव नगरी समान व्यवहार गरिएको बताए । अवस्थाअनुसार पारिवारिक सहभागितामा शव व्यवस्थापन गर्ने व्यवस्था गरिएको उनको भनाइ छ । 

सम्बाेधनकाे पूर्ण पाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपालीहरूको ठूलो चाड, बडादसैँ सुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

बडादसैँलगायतका हाम्रा चाडपर्वहरू यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरूको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरू विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरू निर्माण भएका छन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरू, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरूबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनको महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रबन्धका लागि हाम्रा पूर्वज र अग्रजहरूले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरूको विकास गरेका हुन् ।

यी चाडबाडहरू केवल पर्व र उत्सवहरू मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरू हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य–मान्यताहरु यिनै सामाजिक प्रबन्धहरूका आधारमा विकसित भएका छन् । खासमा चाडपर्वहरू समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बकहरू हुन् । साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् । त्यसैले, यी चाडपर्वहरूका सकारात्मक अन्तर्यहरू, जो महान् र जीवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता चाडपर्वहरूलाई नितान्त पुरातन मान्यताका रूपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिंगाे समाजलाई निरर्थक, निरश र प्रयोजनहीनजस्तो बनाउँछ ।

तर, चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरूलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरूलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । भनिन्छ नि, बोटबिरुवाको रक्षा गर्नु भनेको ऐंजेरु पाल्नु होइन । 

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

बडादसैँलाई विभिन्न वर्ष, फरक–फरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौँ । महाविनाशकारी भुइँचालो गएको साल पनि दसैँ आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपालमुनि बसेर भए पनि यस परम्परालाई धान्यौँ ।

पारिवारिक मिलनको चाडका रूपमा वर्षमा एकचोटि हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक यस्ता महान् पर्वहरू मनायौँ ।

यस वर्ष हामी, कोभिड– १९ महामारीको भूमरीबीच बडादसैँ–०७७ लाई स्वागत गरिरहेका छौँ । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरू पनि परपर बस्न बाध्य छौँ । पहिले–पहिले छुट्टी नमिल्दा र यस चाडपर्वमा घर जान नपाउँदा निराश हुने हामीहरू अहिले छुट्टी मिल्दासमेत चाहेर पनि घर फर्कने र परिवारमा घुलमिल हुने अवस्थामा छैनौँ । सतहमा सबै स्वस्थ देखिन्छौँ, फेरि पनि कुनवेला ओछ्यानमा पर्नुपर्ने हो र अलग–अलग थन्किनुपर्ने हो, टुंगाे छैन । अनिश्चय र आशंकाको बीचमा हामी छौँ । 

अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनुपरेको छ । आफ्ना मान्यजनहरूसँग टीका–जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरूमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैँ मनाउनुहुन म सबैमा आग्रह गर्न चाहन्छु ।

दसैँको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ । यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ । त्यसैले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरू केन्द्रित गरेको छ । 

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःसर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन । म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड– १९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारीविरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।

सामान्यतया यस्ता राष्ट्रिय विपत्तिको वेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गर्दछन् । गत वर्ष चैत ११ गते पहिलोचोटि लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभीत र असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाह चलेका छन् । सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा पाँच हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ । तर, आमदेशवासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरू क्रमशः फाटेका छन् । जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै ०.६ प्रतिशतभन्दा माथि जान सकेको छैन । निको हुने दर क्रमशः बढ्दै छ । 

मैले भन्दै आएको छु, महामारीविरुद्धको यस लडाइँमा हामी प्रत्येक सिपाही हौँ । हामी हरेकको यस लडाइँमा आफ्नो सुरक्षा, परिवारको सुरक्षा, अनि समुदाय र आमजनताको सुरक्षाका लागि योगदान हुनु आवश्यक छ । यसो भनिरहँदा, सरकारले सक्ने आफैँ बाँच, नसक्ने जेसुकै गर भन्यो भन्नेजस्ता हल्ला फेरि पनि सुनिएको छ । महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ । हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीको परम्परा नै रहेको छ । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ । सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ । मृतकहरूको शव व्यवस्थापनको सन्दर्भमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ । सँगसँगै स्थानीय परम्परा र पारिवारिक संस्कारलाई समेत मध्यनजर गरी पारिवारिक संलग्नतामा शव व्यवस्थापन गर्न सकिने प्रबन्धसमेत मिलाइएको छ । निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरू स्वेच्छाले आफैँ, आफ्नै खर्चमा उपचार गराइरहनुभएको छ । राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरूको यो कार्य आफैँमा प्रसंशनीय छ । 

कठिन घडीमा नै परिवार, नातागोता, छरछिमेकी र जनप्रतिनिधिहरूको सहयोगको महत्व हुन्छ । पीडाका घाउमा पारस्परिक सहयोग र एकताको भावनाबाट मल्हम लगाउन सकिन्छ । आफैँ संक्रमित हुँदा होस् वा परिवारका कोही, त्यसको मनोवैज्ञानिक असर गहिरो हुन्छ । संक्रमित बिरामीहरू संक्रमणले सिर्जना गरेको भयबाट अपहेलित हुने र उपचार नपाउनेजस्तो स्थिति हुनुहुँदैन । अत्यन्त सावधानी र आत्मीयताका साथ गरिने सहयोगी व्यवहारले बिरामीहरूको मनोबल उच्च पार्न र छिटो निको बनाउन मद्दत पुऱ्याउँछ । 

यस महामारीविरुद्धको हाम्रो लडाइँ राजनीति वा अन्य स्वार्थहरूको टकरावसँग सम्बन्धित छैन र हुनुहुँदैन । कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्नु त किमार्थ पनि उचित हुँदैन । फेरि पनि म दोहऱ्याएर स्पष्ट पार्न चाहन्छु, यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा आफ्ना कर्तव्यहरूबाट विमुख हुन सक्दैन र भएको छैन । त्यसैले, जनताको स्वास्थ्य सुरक्षा एवं जीवनरक्षाका लागि सरकारले घोषणा गरेका नियमहरूको कडाइका साथ पालना गर्न म सबैमा आग्रह गर्न चाहन्छु । 

यस्तो वेलामा हामीले सबै प्रकारका चिकित्सा प्रणालीहरू, तद्अन्तर्गतका विधि र औषधिहरू, तत्सम्बन्धी विज्ञ र चिकित्सकहरूको परामर्शमा मात्रै नियमको पालना र औषधिहरू सेवन गर्नु उचित हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाइमा बढी ध्यान दिने, ताजा खानेकुरा खाने, तातोपानी पिउने र सम्बन्धित विधाका चिकित्सकको परामर्शमा औषधीय गुणले युक्त रहेका घरेलु औषधीय तत्वहरूको प्रयोग गर्नेजस्ता कुरामा सक्दो ध्यान दिनु जरुरी छ । 

कोभिड– १९ बाट जनतालाई बचाउन मानवीय र सेवाभावका साथ आ–आफ्नो मोर्चामा हरेक खतरा र कठिनाइ व्यहोर्दै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि, परोपकारी संघसंस्था र व्यक्तिहरू निरन्तर क्रियाशील हुनुहुन्छ । अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरूप्रति उच्च सम्मानका साथ उहाँहरूको योगदानको प्रशंसा गर्दछु । 

यसपालिको बडादसैँ मनाइरहँदा म कोभिड– १९ संक्रमणका कारणले भएको मानवीय क्षतिप्रति दु:ख र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । संक्रमणबाट बिरामी अवस्थामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यस महामारीको संक्रमणबाट आफू जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो । 

त्यसैले, यसपालीको बडादसैँ, हामी जो जहाँ–जहाँ छौँ, त्यहीँ–त्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु । 

संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी मैले पनि यसपालि प्रधानमन्त्रीनिवासमा हुने ‘बडादसैँको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन गरिसकेको छु । 

दिदीबहिनी तथा दाजुभाइहरू,

जस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस र सहजताका साथ दुःखको सामना गर्ने गरेका छौँ । यस महामारीले पनि अहिले हाम्रो परीक्षा लिइरहेको छ । 

अनुशासन, उच्च मनोबल, सतर्कता र पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु । 

बडादसैँ २०७७ को सबैमा हार्दिक शुभकामना !

धन्यवाद ।