१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख ३० आइतबार १२:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रहरले होइन बाध्यताले : दसैँको मुखमा मुग्लान पस्दै नेपाली (तस्बिरसहित)

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:o६:oo

चाड पर्वका वेला आफ्नो परिवारसँग बसेर मनाउन कसलाई मन हुँदैन र ? तर, मन भएर के गर्नु बाध्यताले पिरोलेपछि मन लागेका कुरा पनि गर्न पाइँदैन । 

बिदेसिएका समेत दसैँमा घर फर्कन्छन्, तर बाध्यताको कसीमा घोटिएर केही नेपाली दसैँको मुखमा विदेश अर्थात् भारत पस्न बाध्य भएका छन् । त्यसमाथि कोरोनाको महामारीका वेला जन्मेको धर्ती छोडेर उनीहरू बिदेसिन बाध्य भएका हुन् । 

महान् पर्व बडादसैँकै मुखमा नेपाली युवा भारत पस्दै छन् । भारतमा कोरोना महामारी चले पनि दसैँ मुखमा नेपाली युवा भारत पस्न लागेका हुन् । 

पश्चिमी गड्डाचौकी नाका भएर दैनिक नेपाली भारत पसिरहेका छन् । नेपालभन्दा भारतमा कोरोना महामारी चलिरहेको छ, नेपालमा सुरक्षित भए पनि बाध्यताले फेरि नेपाली युवा भारत परिरहेको उनीहरूले जनाएका छन् । 

१ कात्तिक घटस्थापनादेखि औपचारिक रूपमा दसैँ सुरु भए पनि नेपाली यहीबीचमा भारत पस्न लागेका छन् ।  

गड्डाचौकी नाकाबाट भारत पसिरहेका नेपालीले स्वदेशमा रोगभन्दा पनि भोकले मर्नुपर्ने अवस्था आइरहेकाले बिदेसिन बाध्य भएको बताएका छन् । 

खप्तसिडी गाउँपालिका– ५ बाजुराका वीरसिंह खडका सात महिनाअघि भारतबाट फर्किएका थिए । यही नाका भएर खडका वैशाखमा भारतबाट फर्किए पुनः भारत गएका छन् ।

ठीक सात महिनामा उनी फेरि दशैकै मुखमा भारत गएका हुन् ।

‘कोरोना कहरका बीच आफू भारतबाट ज्यान बचाउन स्वदेश फर्किएको थिएँ,’ खडकाले भने, ‘भारतमा कमाएको पैसा सकियो, घरमा बेरोजगार भएर बस्नुभन्दा रोजगारीमा फर्किएको छु ।’ 

दिल्लीको प्लास्टिक कम्पनीमा कार्यरत खडकाले स्वदेशमा सात महिनासम्म कुनैपनि रोजगार नपाएपछि डरैडरले विदेशीन बाध्य भएको बताए । 

‘दशैँ आए पनि हामीलाई उस्तै हो’ उनले भने, ‘घरमा खान लाउन नपुगेपछि भोकभोकै मर्नुभन्दा पुन काममा फर्किएको हुँ ।’ 

घरमा बेरोजगार बसेर छोराछोरीको पालनपोषण गर्न नसकिने बताउँदै उनले सन्तानको भविष्यका लागि बिदेसिएको बताए । 

आठ महिनाअघि भारतबाट फर्किँका बैतडी गोठालापानीका वीरेन्द्र महराले स्वदेशमा रोजगारी नपाएपछि बाध्यताले पुनः बिदेसिन लागेको बताए । 

‘घरमा नुन खानलाई पैसा छैन, दैनिक घरपरिवार चलाउन धौधौ भइरहेको छ,’ उनले भने, ‘त्यही भएर कोरोना महामारीबीच बिदेसिन लागेको हुँ ।’ 

दसैँभन्दा पनि घरपरिवार चलाउनका लागि बिदेसिन लागेको बताए । 

‘दसैँ–तिहारका वेला कसलाई घरमा सँगै बस्ने रहर कसलाई हुँदैन र,’ उनले भने, ‘भोको पेटमा दसैँ कसरी बनाउने ?’

बेदकोट नगरपालिका– १ दैजी कञ्चनपुरका उद्धवराज भट्ट पनि ६ महिनाअघि भारतबाट घर फर्किएका थिए । 
गत जेठमा भट्ट जुन नाका भएर घर आएका थिए, अहिले त्यही नाका भएर बिदेसिएका छन् । 

‘उतिवेला ज्यान जोगाउन रोजगारी छाडेर घर आएँ,’ उनले भने, ‘घरमा लामो समय बेरोजगार बसियो, कहीँकतैबाट रोजगारी पाइएन, त्यही भएर फर्किएँ ।’ 

दसैँको मुखमा बिदेसिन मन नहुँदानहुँदै पनि रोगभन्दा भोक मेटाउनका लागि बिदेसिएको उनले बताए ।

लालझाडी गाउँपालिका– ४ जाईका छोटेलाल चौधरीले डरैडरले दसैँकै मुखमा भारत बस्न लागेको बताए । 

हरियाणाको एक उद्योगमा कार्यरत उनले कोरोनाका कारण रोजगारी गुमाएपछि गत असारमा घर फर्किएको बताए । 
‘उता रोजगारी गुमाएँ, अहिले मिलेको छ,’ उनले भने, ‘घरमा बस्दाबस्दै उल्टै ऋणले डुबिन थाल्यो, त्यही भएर भारत पस्न लागेँ ।’

कात्तिक पहिलो साता ६ दिनको अवधिमा गड्डाचौकी नाकाबाट ६ सय ८१ जना भारत प्रवेश गरेका छन् भने एक हजार दुई सय ८९ ले नेपाल प्रवेश गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १ कात्तिकदेखि ६ सम्म ६ सय ८१ जना नेपाली भारत पसेका छन् । 

भारत पस्दा यताको आधार, रासन एवं पेनकार्ड भएपछि भारतीय सुरक्षाकर्मीले प्रवेश दिने गरेको छ । 

ad
ad