मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १६ आइतबार
  • Sunday, 28 February, 2021
नवीन गुरुङ संखुवासभा
२०७७ कार्तिक ७ शुक्रबार १०:१३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरो विस्थापितलाई वासको चिन्ता, दसैँले ल्याएन खुसी

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ कार्तिक ७ शुक्रबार १०:१३:००

नयाँ घर पाइने आसमा तीन महिनादेखि बालबालिका र वृद्धवृद्धासमेत टेन्टमा रात बिताउँदै

दसैँ संघारमै आइसकेको छ । थुप्रैले आ–आफ्ना घर कमेरो र रातोमाटोले लिपपोत गरी सिँगारेका छन् । तर, सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका पहिरो विस्थापितको मुहारमा कुनै खुसी छैन । किनभने तीन महिनाअघि पहिरोले घर भत्काइदिएपछि घरबारविहीन भएका उनीहरूले अहिले टेन्टमा टाउको लुकाउन बाध्य भएका छन् । 

बालबालिका र वृद्धवृद्धासमेत तीन महिनादेखि टेन्टमा बस्दै आएका छन् । तीन महिनासम्म पनि सरकारले स्थायी पुनर्वासको व्यवस्थापनमा चासो नदिँदा उनीहरू चिन्तित छन् । एकातिर चाडपर्वमा पनि आफ्नो घरमा बस्न नपाएको पीडा छ, अर्कोतिर प्लास्टिकको टेन्टमा बस्दा कहिले घामले पोलेर गर्मी हुन्छ त कहिले पानीको बाछिटाले भिजाउँछ । भुइँबाट आउने चिसोले थुप्रैलाई बिरामी बनाइसकेको विस्थापित हिरालाल राईले बताए । चामल, दाल र तेल पाए पनि वासको टुंगो नलाग्दा आफूहरू खुसी हुन नसकेको उनले गुनासो गरे । 

‘कति दिन यो टेन्टमा बस्नुपर्ने हो थाहा छैन, यहाँ बुधबारेका अस्थायी वासस्थानमा मात्रै २९ घरका करिब एक सय २० जनाभन्दा धेरै बसिरहेका छौँ,’ हिरालालले भने, ‘शौचालय, खानेपानीको पनि समस्या भोगिरहेका छौँ ।’

दसैँले ल्याएन खुसी
पहिरोले विस्थापित प्रमिला राईले पनि चाडपर्वको खुसी आफूसम्म आउन नसकेको बताइन् । घरबारविहीन हुनुपर्दा चाडपर्व आएको–नआएको कुनै वास्ता नभएको भन्दै उनले एकै ठाउँमा धेरैजना बस्नुपर्दा खानपान र शौचालयको ठूलो समस्या रहेको जानकारी दिइन् । ‘एकै ठाउँमा २९ घरपरिवार बसेका छौँ । भात पकाउन तीनवटा मात्रै चुलो छ । तीन–चार घर मिलेर एकै ठाउँ भात पकाएर खान्छौँ । पालै–पालो पकाउनुपर्छ । पानी परेका वेला र बेलुकीचाहिँ निकै समस्या हुन्छ,’ प्रमिलाले भनिन् । 

अस्थायी वासमा बसिरहेका धीरज राईले स्थानीय सरकारले चाँडै आफूहरूलाई सुरक्षित स्थानमा स्थायी पुनर्वास गरिदिओस् भन्ने अपेक्षा रहेको बताए । उनले सिलिचोङ गाउँपालिकामै बस्ने हो भने फेरि पनि पहिरो जान सक्ने भएकाले सुरक्षित स्थानमा पुनर्वासको आग्रह गरे । सदरमुकाम खाँदबारीआसपासको क्षेत्रमा आफूहरूलाई पुनर्वास गराउनुपर्ने उनले बताए । ‘यो ठाउँको कुनै पनि भूगोल बलियो छैन । जुनसुकै समयमा पहिरो जान सक्छ । त्यसैले जानी–जानी पहिरोमा परेर फेरि आफन्तहरू गुमाउन चाहँदैनौँ । त्यसैले हामीलाई सुरक्षित स्थानमा सारे हुन्थ्यो,’ राईले भने । 

अस्थायी वासमा कोरोनाको त्रास
अस्थायी टेन्टमा बसिरहेकालाई कोरोनाले पनि त्रसित गराउने गरेको छ । कोभिड–१९ को संक्रमण बढ्न नदिन विस्थापितको अस्थायी वासस्थानमा जोसुकैलाई सजिलैसँग भेटघाट गर्न मनाही गरिएको छ । तर, अस्थायी वासस्थानमै पनि भिडभाड र जमघट हुने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अस्थायी टेन्टका स्वास्थ्य इन्चार्ज हरिधन राईले जानकारी दिए । उनले एकै ठाउँमा धेरै मानिसको बसोवास भएकाले सामान्य अवस्थामा पनि हेरचाह गरिरहेको र हालसम्म कुनै पनि रोगको समस्या नआएको इन्चार्ज राईले बताए । केही दिनअगाडिसम्म सोही अस्थायी टेन्टमा तीनजना गर्भवतीसमेत थिए । गर्भवती, वृद्धवृद्धा र बालबालिकाको बसोवास भए पनि हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखा नपरेको स्वास्थ्य इन्चार्ज राईले बताए । 

दाताको सहयोग कुर्दै स्थानीय तह
सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो विस्थापितले वासस्थानको तयारीमा आफूहरू सक्रिय रहेको दाबी गरे । उनले स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा पहिरो विस्थापित एक सय ६ घरपरिवारलाई तीन ठाउँमा अस्थायी वासस्थान तयार गरेर राखिएको बताउँदै सरकारी बजेटबाट जग्गा खरिद गर्न नपाउने भएकाले समस्या भएको बताए । समस्या समाधानका लागि दाताहरूबाट आर्थिक संकलन गरी सोही रकमले जग्गा खरिद गर्ने योजना रहेको उनले जानकारी दिए ।

विस्थापित परिवारलाई सरकार र विभिन्न दातृ संघसंस्था र दाताले प्रदान गरेको सहयोगबाट खानपानको व्यवस्थापन गरिएको उनले बताए । गाउँपालिकाको कार्यविधिअनुसार आफ्नो संयोजकत्वमा पाँच सदस्यीय राहत संकलन तथा वितरण समिति बनेको भन्दै उनले कार्यपालिका सदस्य नरभूपाल राईको संयोजकत्वमा पाँच सदस्यीय जग्गा व्यवस्थापन समिति गठन भएको जानकारी दिए । अध्यक्ष कुलुङले भने, ‘हालसम्म विभिन्न दाताबाट ४५ लाख रुपैयाँ संकलन भइसकेको छ । छिटै जग्गा व्यवस्थापन गरेर विस्थापित परिवारलाई सार्ने काम हुनेछ ।’

गएको २७ असारमा गएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका नौ घर बगाउनुका साथै ११ जना बेपत्ता बनाएको थियो । त्यसपछि उद्धार गर्ने क्रममा स्थानीय २५ वर्षीय मदन राईको हृदयघातको कारण मृत्यु भएको थियो । पहिरोले जमिन सबै चिरा–चिरा भएर बस्न खतरा भएपछि बेसिन्दा गाउँका ८६ घरपरिवार र चप्चेवाका २० घरपरिवार गरी एक सय ६ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् । विस्थापितलाई गाउँपालिकाले तत्कालका लागि सिलिचोङ गाउँपालिका–१ को चित्रेमा ५७ घर, पौखमटारमा २० घर र बुधबारेमा २९ घरपरिवारलाई अस्थायी वास टेन्टमा राखेको छ ।