मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २ बिहीबार
  • Thursday, 15 April, 2021
नवीन गुरुङ संखुवासभा
२०७७ कार्तिक ५ बुधबार ११:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राहतको आसमा तीन महिनादेखि पहिरोपीडित टेन्टमुनिको वासमा

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ कार्तिक ५ बुधबार ११:५६:००

संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँका पहिरो विस्थापितलाई वासको चिन्ता अहिले पनि उत्तिकै छ । 
तीन महिनाअघि गएको पहिरोबाट विस्थापित भएका पीडित परिवारहरू सहयोगका आसमा अझै टेन्टमा बस्न बाध्य भएका छन् । 

पहिरोले घरवास बगाएको तीन महिनासम्म पनि सरकारले पहिरो विस्थापितका लागि स्थायी पुनर्वासको व्यवस्थापन गर्न सकेको छैन । 

पहिरोबाट विस्थापित भएका व्यक्ति कहिले आफ्नै घरमा बस्न पाइने हो भन्ने चिन्ता लागेको उनीहरूले बताउने गरेका छन् । 

प्लाष्टिकको टेन्टमा बस्दा कहिले घामले पोलेर गर्मी हुने त कहिले पानीको बाछिटा आउने र भुइँबाट चिसो आउने गरेको टेन्टमा बसिरहेका पहिरो विस्थापित स्थानीय हिरालाल राईले गुनासो सुनाए । 

‘खानका लागि चामल, दाल र तेल पाएका छौँ, तर बस्ने वास आफ्नै घरजस्तो छैन । कति दिन यो टेन्टमा बस्नुपर्ने हो थाहा छैन,’ हिरालालले भने, ‘यहाँ बुधबारेका अस्थायी वासस्थानमा मात्रै २९ घरका करिब एक सय २० जनाभन्दा धेरै मानिस बसोवास गरिरहेका छौँ । धेरैजना भएकाले बिहान शौचालय जान झन् समस्या छ । पुरुषहरू नजिकै खोलाखोल्सीतिर जाने गरेका छौँ, तर महिला दिदीबैनीलाई पालो कुर्नु नै समस्या हुन्छ ।’

हिरालालजस्तै अर्की पहिरो विस्थापित प्रमिला राईले पनि धेरैजना एकैठाउँमा बस्नुपर्दा खानपान र शौचालयलगायतका धेरै समस्या भोग्नु परिरहेको बताइन् । 

‘एकैठाउँमा २९ घरपरिवार बसेका छौँ । भात पकाउने ठाउँ तीनवटा मात्रै चुलाे छ । तीन–चार घर मिलेर एकैठाउँ भात पकाएर खान्छौँ । पालैपाले पकाउनुपर्छ । पानी परेको वेला र बेलुकीचाहिँ निकै समस्या हुन्छ,’ प्रमिलाले भनिन् । 

अस्थायी वासमा बसिरहेका अर्का धीरज राईले स्थानीय सरकारले चाँडै आफूहरूलाई सुरक्षित स्थानमा स्थायी पुनर्वास गरिदिओस् भन्ने अपेक्षा रहेको बताए । 

‘यो ठाउँको कुनै पनि भूगोल बलियो छैन । जुनसुकै समयमा पहिरो जान सक्छ । त्यसैले हामी जानीजानी पहिरोमा फेरि हाम्रो आफन्तहरू गुमाउनुभन्दा पहिले नै सुरक्षित स्थानमा सारिदिए राम्रो हुन्छ,’ राईले भने । 

यति लामो समयसम्म अस्थायी टन्टमा बस्नुपर्दा विभिन्न समस्या हुने गरेको विस्थापितहरूले गुनासो गरेका छन् ।

पहिरो विस्थापितहरूलाई कसरी चाँडै स्थायी पुनर्वासमा सार्ने भनेर गम्भीर भएर लागिपरेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङको दाबी छ । 

उनले स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा पहिरो विस्थापित एक सय ६ घरपरिवारलाई तीन ठाउँमा अस्थायी वासस्थान तयार गरेर राखिएको बताउँदै सरकारी बजेटबाट जग्गा खरिद गर्न नपाउने भएकाले समस्या भएकाले दाताहरूबाट संकलन रकमले जग्गा खरिद गर्ने योजना रहेको बताए । 

अध्यक्ष कुलुङले भने, ‘हालसम्म विभिन्न दाताहरूबाट ४५ लाख रुपैयाँ संकलन भइसकेको छ । छिट्टै जग्गा व्यवस्थापन गरेर विस्थापित परिवारलाई सार्ने काम हुन्छ ।’

गएको असार २७ गते राति पहिरो जाँदा सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँका नौ घर बगाउनुका साथै ११ जना बेपत्ता बनाएको थियो । त्यसपछि उद्धार गर्ने क्रममा स्थानीय २५ वर्षीय मदन राईको हृदयाघातको कारण मृत्यु भएको थियो । 

पहिरोले जमिन सबै चिराचिरा भएर बस्न खतरा भएपछि बेसिन्दा गाउँका ८६ घरपरिवार र चप्चेवाका २० घरपरिवार गरी एक सय ६ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् ।

विस्थापितलाई गाउँपालिकाले तत्कालका लागि सिलिचोङ गाउँपालिका– १ को चित्रेमा ५७ घर, पौखमटारमा २० घर र बुधबारेमा २९ घरपरिवारलाई अस्थायी टेन्टमा राखेको छ ।

यसअघि पनि २०६७ सालमा सिलिचोङ गाउँपालिकाको नै सिकदिममा पहिरो जाँदा १३ जना बेपत्ता बनेका थिए ।