१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ कार्तिक १ शनिबार १५:४६:००
Read Time : > 1 मिनेट
सप्तरंग

रोयल्टी माग्दा भीख मागेजस्तो गर्नुपर्छ 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १ शनिबार १५:४६:००

लकडाउनका वेला र अहिले पनि संगीतकार अर्जुन पोखरेल संगीत सिर्जनामै व्यस्त छन् । श्रोतामाझ नयाँ गीतहरू ल्याइरहेका छन् । साथै आफ्नै युट्युब च्यानललाई पनि व्यावसायिक रूप दिइरहेका छन् । युट्युब च्यानलमार्फत हुने आम्दानी भाग लाउनु नपर्ने भएकाले यसमा अलि बढी नै लागेको पोखरेलको भनाइ छ । 

अहिलेसम्म पोखरेलको युट्युब च्यानलमा आफैँले निर्माण गरेका सातवटा गीत राखिसकेका छन् । पोखरेलको संगीत रहेको ‘नबोली नबोली’, ‘काले केटा २’ जस्ता गीत युट्युब ट्रेन्डिङमा छन् । पोखरेल भन्छन्, ‘आफ्नै च्यानलबाट गीत सार्वजनिक गर्दा आफ्नो सिर्जना आफैँसँग रहन्छ भन्ने हो ।’

नेपालमा सिर्जनाको प्रतिलिपि अधिकारलाई लिएर वेलावेला बहस चल्ने गरेको छ । स्रष्टाहरूले आफ्नो सिर्जनाको पारिश्रमिक आफूले नपाएको गुनासो गर्छन् । केही पारिश्रमिक लिएर सिर्जना गरेपछि त्यस गीतबाट पाइने रोयल्टीलाई लिएर संगीतकर्मीले वेलावेला आवाज उठाउँछन् । तर, अहिलेसम्म त्यसरी रोयल्टी पाएको उदाहरण निकै कम सुनिन्छ । सिर्जनाबाट प्राप्त रोयल्टी दाबी गर्दा पनि स्र्रष्टाले भीख मागेजस्तो गर्नुपर्ने अवस्था छ । यही समस्याबाट नगुज्रनका लागि पनि युट्युब च्यानलमार्फत गीतहरू सार्वजनिक गरेको बताउँछन् संगीतकार पोखरेल । आफ्नो च्यानलबाट सार्वजनिक गरेको भिडियोमध्ये धेरै लगानीका भिडयोको लगानी उठाउने सम्भावना कम भए आफ्नै स्वामित्वमा रहिरहँदा त्यसले कालान्तरमा राम्रै गर्ने विश्वास उनको छ । ‘लगानी तत्काल नउठाए पनि पछि उठ्दै जान्छ । हामी स्रष्टालाई थाहै हुन्न, हाम्रा गीत कति ठाउँमा बेचिएका छन् । हामीलाई त युट्युब र पिआरबिटी मात्र थाहा छ,’ पोखरेल भन्छन्, ‘आफ्नो रोयल्टी माग्दा पनि भीख मागेजस्तो गर्नुपर्ने अवस्था छ । जुन–जुन प्लेटफर्ममा बेचेका छन्, उनीहरूले बेचिएको ठाउँ पनि राम्रोसँग देखाउँदैनन् । किनभने त्यो देखेपछि स्रष्टाले त रोयल्टी दाबी गर्छ ! यस्ता यावत् समस्याका कारण पनि मैले आफ्नै च्यानल खोलेको हुँ ।’

पोखरेलका कति गीत हिट छन् । तर, उनले गीत सिर्जना गर्दाताकाको पारिश्रमिकबाहेक रोयल्टीको नाममा केही पाएका छैनन् । त्यसरी आफूले सम्झौता पनि नगरेको बताउँछन् । उनी त्यसले गर्दा पनि आफ्ना गीतबाट लगातार आइरहने रोयल्टीबाट वञ्चित छन् । 

अहिले युट्युब ट्रेन्डिङमा रहेका ‘काले दाइ २’, ‘नबोली नबोली’जस्ता गीत पनि सुरुमा पोखरेलले लगानीकर्ता नभेट्टाएर आफैँले बनाएका थिए । केही मान्छेलाई प्रस्ताव पनि राखेका थिए, तर उनीहरूले मानेनन् । तर, गीत हिट भएपछि केही मान्छेले पोखरेललाई भने, ‘पहिला त यसरी चल्लाजस्तो लागेकै थिएन । के हो के हो, अनुमानै गर्न गाह्रो ।’

पोखरेल भन्छन्, ‘एउटा गीतका लागि कति कुरामा मान्छेलाई कन्भिन्स गराउनुपर्छ । आफू कन्भिन्स भएको विषयमा पनि कन्भिन्स गराउनुपर्छ । र पनि सबै तयार भइहाल्दैनन् । त्यही भएर पनि मैले आफैँ लगानी गरेर आफ्नै च्यानलबाट काम सुरु गरेको हुँ ।’