मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडाैं
२०७७ कार्तिक १ शनिबार ०९:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

असोज २ गतेदेखि सुरु भएको मलमास सकियो

Read Time : > 1 मिनेट
रासस काठमाडाैं
२०७७ कार्तिक १ शनिबार ०९:४२:००

मलमास सकिएसँगै शनिबारदेखि बडादसैँ सुरु

प्रत्येक ३२ महिना १६ दिन एक घन्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास शुक्रदेखि समापन भएको छ । असोज २ गतेदेखि सुरु भएको अधिकमास शुक्रबार सकिएको हो। 

ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चन्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घन्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।  एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ । 

महिनामा दुईवटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिष विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलले बताए । 

यस अवसरमा रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण स्थगित गरिएको थियो ।  यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । स्थानीयवासीले भने बिहान सवा सात बजेसम्म मन्दिरमा पूजा आराधना गर्न पाएका थिए ।    

मलमासको अवधिभर मच्छेनारायणमा टाढाटाढावाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेकाेमा यस वर्ष चन्द्रागिरि नगरपालिकाले मेला नगर्ने निर्णय गरेको थियो । मलमास अवधिभर कीर्तिपुरबाट चार किलाेमिटर दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन हुने गरेकामा यस वर्ष घरघरमै मच्छेनारायण पूजा एवं पुरुषोत्तममास माहात्म्य वाचन गर्न नगरपालिकाले अनुरोध गरेको नगर प्रमुख घनश्याम गिरीले बताए ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरेका थिए । मत्स्यरूपी भगवानले प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख गरिएको उनले बताए ।

यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष सुरु हुने औँसीदेखि नै मलमास लागेकाले नेपालीको महान् चाड बडादसैँ एवं तिहार एक महिना ढिला परेको छ । मलामास सकिएसँगै शनिबारदेखि बडादसैँ सुरु भएकाे ।    यसअघि ०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने ०५८ मा परेको थियो । १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको हो ।