हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका– १० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका– ११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको स.८प ८४८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका थिए ।
मृतक हकिम स.८प ८४८१ नम्बरको मोटरसाइकलमा पछाडि सवार थिए । उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका– १० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन् ।
त्यस्तै अर्का मृतक खडक नगरपालिकाका– ११ बिसहरियाका साह प्रदेश २–०१–००१ त ३७०१ नम्बरको मोटरसाइकलका चालक हुन् । उक्त मोटरसाइकलमा पछाडि सवार उनकी २६ वर्षीया पत्नी सुनिता साह गम्भीर घाइते भएकी छिन् । घाइतेको उपचारका लागि विरागटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।