मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक विद्यालयको गुणस्तर सुधारे निजीमा स्वतः चाप घट्छ : मेयर शाक्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालयमा स्वतः चाप कम भएर जाने बताएका छन् । 

शुक्रबार काठमाडौं महानगरपालिका– ३ स्थित शिवपुरी माध्यमिक विद्यालयको ७२औंँ वार्षिकोत्सव समारोहमा मेयरले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । 

‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेका छन् अब त्यसैगरी बिस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन, त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर विद्यार्थी र अभिभावकको मन जित्न सक्नुपर्छ ।’

मेयर शाक्यले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्यको जिम्मा म लिन सक्छु भन्ने ध्येयका साथ पठनपाठनमा ध्यान दिई विद्यार्थीका साथै अभिभावकलाई पनि विश्वस्त बनाउनुपर्ने बताए । 

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने बाध्यता स्वतः अन्त्य हुन्छ,’ उनले भने, ‘हामी बजारमा केही वस्तु किन्न जाँदा कसैले गुणस्तरीय वस्तु सस्तोमा दियो भने महँगोमा किन्न जाँदैनौँ, शिक्षा पनि त्यही हो ।’ 

महानगरका तर्फबाट शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा लिएको र विद्यालयले व्यवस्थापकीय पक्षमा कुनै कमजोरी हुन नदिने बताए । 

वार्षिकोत्सवको अवसरमा मेयर शाक्यले सो विद्यालयमा निर्मित सूचना प्रविधि प्रयोगशालाको समेत उद्घाटन गरे । विद्यालयले दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । 

‘विद्यालयमा शौचालय बनाउने, धुलोमुक्त खेल मैदानका लागि पूर्वाधार तयार पार्ने, विद्यालयलाई आकर्षक बनाउन रङ लगाउने, महावाणी र भित्ते चित्रलेखन गर्नेलगायत काममा हामीले लगानी गरिरहेका छौँ ।सामुदायिक विद्यालयको स्तर उकास्न विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक–शिक्षिका र अभिभावक सबै मिलौँ,’ मेयर शाक्यले भने । 

कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा एक हजार तीन सयजना विद्यार्थी अध्ययनरत छन् ।