१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o९:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परीक्षणको दायरा बढाउने वेला प्रदेश १ का तीन पिसिआर मेसिन बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५३:oo

कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै जाँदा प्रदेश १ का तीनवटा पिसिआर मेसिन बन्द भएका छन् । लकडाउन अन्त्य भएसँगै बजारमा चहलपहल बढ्दा संक्रमणको जोखिम उच्च छ । यो वेला परीक्षणको दायरा बढाउन विज्ञले सुझाब दिएका छन् । तर, प्रदेश १ मा भने परीक्षणको दायरा बढाउनुको सट्टा पिसिआर मेसिन नै बन्द गरेर राखिएको छ । कोरोना परीक्षणका लागि चाहिने रिएजेन्ट अभावमा झापाका दुई र विराटनगरको एक गरी तीनवटा मेसिन बन्द छन् ।

मेची अस्पताल भद्रपुर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरको पिसिआर मेसिन ‘रोस’ कम्पनीका छन्  । यी दुई कम्पनीका लागि यही कम्पनीको रिएजेन्टले मात्र काम गर्छ । सोही कारण प्रयोगशाला बन्द भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका प्रमुख जयवेन्द्र यादवले बताए । ‘यी दुई मेसिनका लागि रोस कम्पनीकै रिएजेन्ट चाहिन्छ । यो रिएजेन्ट प्रदेश १ मा छैन । मेची अस्पतालको ल्याब पूर्ण रूपमा बन्द भयो,’ उनले भने, ‘प्रदेश प्रयोगशालामा अर्को मेसिन ल्याएर यसको सट्टा काम गरिरहेका छौँ ।’

यस्तै, झापा कन्काई नगरपालिकास्थित कोटीहोममा रहेको पिसिआर ल्याब पनि बन्द भएको छ । यसअघि प्रयोग भएको भन्दा फरक कम्पनीको रिएजेन्ट केन्द्र सरकारबाट आएका कारण यसले काम नगरेको यादवले बताए । ‘कोटीहोमको प्रयोगशालामा पहिला अर्कै रिएजेन्ट थियो । अहिले अर्कै आयो,’ उनले भने, ‘यसको बायोमेडिकल इन्जिनियरले अलिकति मिहिनेत गर्दा यहाँचाहिँ मिल्ने सम्भावना छ ।’

प्रदेश प्रयोगशाला र मेची अस्पतालमा रहेको ‘रोस’ कम्पनीको पिसिआर मेसिन स्विस सरकारले सहयोग गरेको प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताइन् । तर, यो मेसिनका लागि चाहिने रिएजेन्ट पाउन भने मुस्किल भएको उनी बताउँछिन् । ‘चाडपर्व नजिकिँदै छ । संक्रमित पनि बढिरहेका छन् । तर, यो जुन कम्पनीको मेसिन हो त्यही कम्पनीको रिएजेन्ट चाहिने रहेछ । त्यो नहुँदा चलिरहेको अवस्था छैन । हामीले संघीय सरकारलाई पनि आग्रह गरिरहेका छौँ । सरकारी प्रक्रिया न हो । केन्द्रले पनि खरिद प्रक्रियामै जानुपर्‍यो त्यसकारण ढिला भइरहेको छ,’उनले भनिन्, ‘अहिलेसम्म केन्द्रबाट आएर चलाएका थियौँ । हामीले किन्न पनि पाएनौँ । संघले ल्याएपछि हामीले पनि प्राप्त गर्छौँ ।’

उनले प्रदेश १ को आवश्यकताअनुसार नै पाँचवटा ल्याब सञ्चालनमा ल्याइएको बताइन् । ‘मेचीले झापा र त्यताका पहाडी जिल्लालाई जोड्छ भनेर मेसिन चलाएका हौँ,’ उनले भनिन्, ‘आवश्यकताकै आधारमा हामीले प्रदेशमा यति धेरै मेसिन चलाएका छौँ ।’

स्विस सरकारले दिएको यो दुई मेसिन अरूभन्दा तुलानात्मक रूपमा खर्चिलो भएको राज्यमन्त्री गजमेरले बताइन् । ‘यसको रिएजेन्ट खरिदमा अरूभन्दा अहिले महँगो छ । तर, यसले परिणाम पनि अरूभन्दा धेरै दिन्छ भनेर विज्ञहरूले भन्नुभएको छ,’ उनले भनिन् ।

प्रदेश १ मा हाल पाँचवटा ल्याब छन् । त्यसमध्ये अहिले तीनवटा सञ्चालनमा छन् । जसको क्षमता दैनिक करिब ६ सय मात्र रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख यादवले बताए । ‘पहिला पुल सिस्टमबाट गर्दा धेरै गरिन्थ्यो । अहिले पजिटिभ केस धेरै छ । प्रत्येकको एक्लाएक्लै गर्नुपर्दा थोरै मात्र गर्न सकिन्छ,’ उनले भने । यो प्रदेशबाट दैनिक दुई हजारको संख्यामा स्वाब संकलन भएर प्रयोगशालासम्म आउने गरेको उनले बताए ।

सञ्चालनमा रहेका मेसिन बन्द हुँदा प्रदेश १ मा कोरोना परीक्षणको रिपोर्ट ढिला आउने समस्याले स्थानीय तहले हैरानी व्यहोर्नुपरेको छ । पठाएका स्वाबको रिपोर्टका लागि एक सातासम्म पर्खनुपर्ने समस्या पुनः देखिएको छ । ‘स्थानीय तहले पनि अनावश्यक बढी स्वाब पठाउँछन्,’ यादव भन्छन्, ‘जसले रिपोर्ट चाँडो दिन समस्या भयो ।’