मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज २३ शुक्रबार १८:२३:००
Read Time : > 8 मिनेट
प्रदेश डिजिटल संस्करण

विद्यालयहरूमा छैन विपतमैत्री पठनपाठनको तयारी

Read Time : > 8 मिनेट
२०७७ असोज २३ शुक्रबार १८:२३:००

अछामको रामारोशन गाउँपालिका– १, मलासीकोटमा रहेको तिर्गलादेवी मावि ६ महिनायता क्वारेन्टिन स्थलको रूपमा प्रयोग भएको छ । भारतबाट फर्केकाहरू अहिले पनि यही विद्यालयको क्वारेन्टिनमा बसिरहेका छन् । यहाँ अध्ययनरत साढे दुई सय विद्यार्थी भने गत चैतयता विद्यालय छिर्न सकेका छैनन् । शिक्षक कुनाको एउटा कोठामा जम्मा हुन थालेका छन् । तर, विद्यालयमा पठनपाठन सञ्चालन गर्ने तयारी छैन ।
    
प्रधानाध्यापक प्रेमराज खनाल विद्यालयलाई क्वारेन्टिन बनाइएकाले तत्काल पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउँछन् । विकट क्षेत्र भएकाले अनलाइनबाट पनि पठनपाठन सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ । कक्षाकोठालाई अहिले पनि क्वारेन्टिनका रूपमा प्रयोग गरिएकाले बालबालिकामा कोरोना संक्रमणको जोखिम र त्रास छ ।
    
कुनै माध्यमबाट पनि नियमित पठनपाठन सम्भव नभएपछि विद्यालयले गत असारमा शिक्षकलाई टोलटोलमा पठाएर विद्यार्थीलाई गृहकार्य दिने उपाय लगायो । सो उपायले पनि एक हप्तामात्रै काम गऱ्याे । भौगोलिक विकटताले गर्दा त्यसलाई निरन्तरता दिन नसकिएको विद्यालयले जनाएको छ । यही अवस्था लामो समयसम्म रहिरहे पठनपाठन कसरी निरन्तर गर्ने भन्ने तयारी पनि नरहेको प्रधानाध्यापक खनाल बताउँछन् ।
    
सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको नवदुर्गा माविलाई क्वारेन्टिन र ‘होल्डिङ सेन्टर’ बनायो । सीमानाका बन्द गरेर लकडाउन सुरु भएदेखि नै भारतको गौरीफन्टा नाकानजिक रहेको यो विद्यालय क्वारेन्टिन र होल्डिङ सेन्टरका रूपमा प्रयोग हुँदै आयो । भारतबाट फर्कनेहरू गन्तव्य स्थलसम्म जाने सवारीसाधनको बन्दोबस्त नभएसम्म यही विद्यालयमा बसे । 
    
अहिले होल्डिङ सेन्टर हटाइएको छ । तर, निर्मलीकरण र सरसफाइ भएको छैन । शिक्षक विद्यालय आउन र हाजिर गर्न थालेका छन् । तर, उनीहरू पनि खुलेर विद्यालयमा यताउता गर्न सकेका छैनन् । सुरक्षित मानिएका कुनै साँघुरा कोठामा जम्मा हुने गरेका छन् । विद्यार्थी गत चैतदेखि नै विद्यालय गएका छैनन् ।
    
कैलालीमा केही स्थानीय तहले विद्यार्थी भर्ना गर्न थालेका छन्, तर होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिएको विद्यालय निर्मलीकरण र सरसफाइ नहुँदा भर्ना अभियान सहज नभएको प्रधानाध्यापक रामकुमार चौधरी बताउँछन् । ‘हजारौँको संख्यामा भारतबाट फर्केका मानिस बसेकाले विद्यालय अत्यन्तै दुर्गन्धित छ । 

निर्मलीकरण पनि गरिएको छैन । कक्षाकोठा फोहाेर छन् । भौतिक क्षति पनि भएको छ,’ उनी भन्छन्, ‘भर्ना सुरु गर्न नै अझै केही दिन लाग्छ । पठनपाठन सुरु गर्न सक्ने त अवस्था छैन ।’ 

होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएकाले विद्यालयको कक्षाकोठामा आगो बालिएको छ । डेस्कबेन्च टुटफुट भएका छन् । दिसापिसाब गरिएको छ । कार्पेट काम नलाग्ने भएको छ । ‘बुक कर्नरका किताब छैनन् । बालबालिकाका खेलौना केही हराएका छन्, केही टुटफुट भएका छन्,’ चौधरी भन्छन्, ‘सरसफाइ र क्षति भएका सामग्रीको मर्मतका लागि उपमहानगरपालिकामा निवेदन दिएका छौँ ।’ बन्द भएको लामो अवधिमा विपतमैत्री पठनपाठनको तयारी छैन नै, नियमित पठनपाठन सञ्चालन गर्नसक्ने अवस्थासमेत नरहेको उनी बताउँछन् ।

सबै विद्यार्थीको पहुँचमा इन्टरनेट, कम्प्युटरको सुविधा नभएकाले अनलाइन कक्षालगायत वैकल्पिक उपाय अवलम्बन गर्न नसकिएको विद्यालयको भनाइ छ । ‘अहिले त लामो समय बन्द रह्यो । यो अवस्था धेरै लामो समय गए के गर्ने ? अथवा भोलिका दिनमा पनि यस्तै विपत् आइलागे कसरी पठनपाठन सञ्चालन गर्ने भन्नेबारे सोचेका छैनौँ,’ चौधरी भन्छन्, ‘त्यस्तो अवस्थामा सरकार, स्थानीय तहले निर्णय गर्लान् ।’

प्रदेश राजधानी धनगढीको मुख्य बजारमै रहेको त्रिनगर माविले विद्यार्थीहरुलाई किताबसमेत वितरण गर्न सकेको छैन । अध्ययनरत एक हजार एक सय विद्यार्थीमध्ये आधाभन्दा बढीले किताब लगेका छैनन् । सरकारले यसअघि भदौबाट पठनपाठन सुरु गर्ने भनेपछि यो विद्यालयमा बनाइएको क्वारेन्टिन साउन १ गतेबाट बन्द गरिएको थियो । त्यसअघि शिक्षकसमेत विद्यालयमा छिर्न सकेनन् । अहिले शिक्षक हाजिर गरेर घर जाने गरेका छन् ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार अहिले विद्यार्थीको अभिलेखीकरण र वर्गीकरणको तयारी थालिएको प्रधानाध्यापक भूपाल खड्का बताउँछन् । विद्यालय क्वारेन्टिनका रूपमा प्रयोग गरिएकाले विद्यार्थी विद्यालय आउन मानसिक रूपमा तयार नदेखिएको उनको भनाइ छ । साधनस्रोतको अभाव र संक्रमणको जोखिमले कक्षाकोठामै पठनपाठन गर्नेबाहेक अन्य विकल्प अपनाउन सकिने अवस्था नरहेको खड्का बताउँछन् ।

विपतमा शिक्षा
विद्यालय बन्द भएको लामो समय बितिसक्दा पनि पठनपाठन सञ्चालनको विषयमा अन्याेल कायम नै रहेको उल्लेखित उदाहरणले देखाउँछ । वैकल्पिक विधिबाट पठनपाठन सञ्चालनका लागि सरकारले हालै विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पनि जारी गरेको छ । तर, पठनपाठन सञ्चालनका लागि कैयौँ विद्यालय अझै प्रस्ट छैनन् । विद्यार्थी सिकाइ निर्देशिका जारी भएपछि केही विद्यालय अहिले बल्ल विद्यार्थीको पहिचान, अभिलेखीकरण र वर्गीकरणमा जुटेका छन् ।

भविष्यमा आइपर्न सक्ने यस्तै विपतमा कसरी पठनपाठन सञ्चालन गर्ने भन्नेबारे विद्यालयमा पूर्वतयारीको सुरुवात भएको छैन । विपत् आइपर्दा विद्यालय कसरी सञ्चालन गर्ने भनेर भौतिक र विपतमैत्री नीति तयारी गर्नुपर्ने निकायहरू पनि मौन छन् । लकडाउन सुरु भएपछि सुदूरपश्चिममा भारतबाट फर्कनेको घुइँचो लागेपछि यहाँका अधिकांश विद्यालयलाई क्वारेन्टिन स्थल बनाइएको थियो । केही विद्यालयका क्वारेन्टिन भने अहिले हटाइएको छ । क्वारेन्टिन बनाइएका कतिपय विद्यालयमा शिक्षकले हाजिर गर्न सक्ने अवस्थासमेत छैन । क्वारेन्टिन नबनाइएका विद्यालयमा पनि कक्षाकोठामा उपस्थित भएर वा वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्ने तथा भविष्यमा विपत् आइपर्दा कसरी सञ्चालन गर्ने भन्ने पूर्वतयारी छैन । 
    
कैलालीको गौरीगंगा नगरपालिकाभित्र रहेका मावि तहका सबै विद्यालयलाई क्वारेन्टिन बनाइएको छ । पठनपाठन कसरी सुचारु गर्ने भनेर छलफल सुरु भए पनि ठोस तयारी भने नरहेको नगरपालिकाको शिक्षा शाखाका उपसचिव हरिश पन्त बताउँछन् । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा विद्यार्थी वर्गीकरणको मापदण्डअनुसार गौरीगंगाका आधाभन्दा बढी विद्यार्थी सबै किसिमको पहुँचबाहिर रहेका देखिएको उनले बताए । 
    
‘सबै विद्यार्थीले पाठ्यपुस्तक पनि पाएका छैनन् । इन्टरनेट, टेलिभिजनलगायत प्रविधिको पहुँच बाहिर रहेका विद्यार्थीको संख्या ठूलो रहेकाले पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने अन्याेल छ,’ पन्त भन्छन्, ‘विद्यालय तत्काल सञ्चालन गर्न पनि समस्या छ ।’ शिक्षक पठनपाठनका लागि तयार रहे पनि विद्यालयमा संक्रमण फैलिए त्यसको आक्षेप आफूलाई आउला भन्ने डर उनीहरूमा देखिएको पन्तले बताए ।

संक्रमण बढ्दै गएर तत्काल विद्यालय सञ्चालनको अवस्था नआए पठनपाठन कसरी सञ्चालन गर्ने भन्नेबारे नगरपालिकाको कुनै तयारी छैन । आगामी दिनका सम्भाव्य अन्य विपतका समयमा विपतमैत्री कक्षा सञ्चालनबारे भौतिक र नीतिगत तयारी पनि नरहेको नगरपालिकाको भनाइ छ । 

‘यसबारे कहिल्यै छलफल भएको छैन,’ नगरपालिको शिक्षा शाखाका अधिकृत वीरबहादुर नेपाली भन्छन्, ‘जनप्रतिनिधि सबै कोरोनातिरै लागेका छन् । त्यतातिर कसले ध्यान दिने ?’ कोरोना संक्रमणको अवस्था लम्बिँदै गए वैकल्पिक रूपमा पठनपाठन सञ्चालन गर्ने, भविष्यमा आइपर्ने विपतलाई लक्षित गरेर शिक्षा क्षेत्रका लागि नीतिगत र भौतिक तयारी गर्नेतर्फ जनप्रतिनिधिको ध्यान नदिएको उनको गुनासो छ । यस्ता विषय कर्मचारी तहबाट मात्र सम्भव नहुने उनले बताए । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका भने सबै विद्यालयलाई इमेलबाट पठाइएको नगरपालिकाको भनाइ छ ।
    
‘विद्यालयहरुमा विपत् व्यवस्थापनको तयारी शून्य छ । हरेक प्राकृतिक विपतमा आश्रय स्थल पनि विद्यालय नै बनेका छन्,’ प्रा.डा. हेमराज पन्त भन्छन्, ‘अहिलेको सिकाइलाई मनन गरेर भविष्यको विपतकाे तयारीमा जुट्नुपर्छ ।’ अब वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुको विकल्प नभएको उनी बताउँछन् । सबैभन्दा उपयुक्त अनलाइन कक्षा हुन सक्ने उनको धारणा छ । त्यसका लागि गाउँ वा टोलमा थोरै समूहमा बसेर प्रयोग गर्न मिल्ने गरी विद्यार्थीलाई आवश्यक उपकरण, इन्टरनेट चलाउन डाटा प्याक आदि सरकारले उपलब्ध गराउनुपर्ने पन्त बताउँछन् । यस्तै सामाजिक दूरी कायम गर्दै टोलटोलमा गएर पनि कक्षा सञ्चालन गर्न सकिने उनले बताए ।
    
नगरमा रहेका विद्यालयमा पठनपाठनको तयारी नगरेको अर्को तह हो– गोदावरी नगरपालिका । गोदावरीले विद्यार्थी भर्ना सुरु गर्न सकेको छैन । पठनपाठन त परको कुरा, भर्ना कहिलेदेखि र कसरी सुरु गर्ने भन्ने नै तय भएको छैन । गोदावरीका अधिकांश विद्यालयले किताब पनि वितरण गर्न सकेका छैनन् । नगरपालिकामा कोरोना संक्रमण तीव्र बनेकोले नियमित वा वैकल्पिक विधिबाट पठनपाठन सञ्चालनको कुनै तयारी नरहेको नगर प्रमुख हरिसिंह साउद बताउँछन् ।
    
‘कोरोना संक्रमणको अवस्था लामो समयसम्म यस्तै रहे वा पछि यस्तै अरू विपत् आए पठनपाठनलाई कसरी सञ्चालन गर्ने भन्नेतर्फ अहिले सोचेका छैनौँ । त्यसका लागि भौतिक र नीतिगत तयारी छैन,’ नगर प्रमुख साउद भन्छन्, ‘अब सरोकारवालासँग छलफल गरेर भविष्यमा पनि आउन सक्ने अहिलेकै जस्तो अवस्थामा पनि पठनपाठनमा बाधा नपुग्ने गरी तयारी गर्छाैँ ।’ 
    
कोरोना संक्रमणका कारण विद्यालय बन्द भएको सात महिना पुगे पनि कैयौँ स्थानीय तहहरूमा विद्यालय केन्द्रित विपतकाे तयारीका लागि कुनै काम भएको पाइँदैन । यस्तो अवस्थामा पठनपाठन प्रभावित हुन नदिन कसरी व्यवस्थापन गर्ने भन्नेबारे यहाँका स्थानीय तह र प्रदेश सरकारले तयारी थालेका छैनन् । विपतका वेला वैकल्पिक शैक्षिक अभ्यासहरू सञ्चालन गर्ने, भविष्यका लागि नीतिगत तथा पूर्वाधारको तयारी गर्नेतर्फ प्रदेश सरकारले पनि ध्यान दिन सकेको छैन । 
    
लामो समय विद्यालय बन्द हुँदा पठनपाठन सञ्चालनका लागि शिक्षकहरूले पनि चासो नदिएको अभिभावकको आरोप छ । अभिभावक संघ नेपालका पूर्वक्षेत्रीय संयोजक देवराज अवस्थी पठनपाठन सञ्चालनमा शिक्षक, स्थानीय र प्रदेश सरकार पनि कोरोनालाई देखाएर पन्छिएका बताउँछन् । ‘जोखिम होला तर कोरोना संक्रमण नभएको ठाउँमा विद्यालय सञ्चालन गर्न सकिन्थ्यो । संक्रमण भएका ठाउँमा पठनपाठनका अन्य विधि पनि अपनाउन सकिन्छ । त्यतातिर कसैको ध्यान छैन’, उनी भन्छन्, ‘पढ्न नपाउँदा बालबालिकाको भविष्य अन्याेल बनेको छ ।’ कोरोना संक्रमणको अवस्था लामो समयसम्म रहन सक्ने भएकाले पठनपाठन कसरी सञ्चालन गर्ने भनेर योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
    
विद्यालय बन्द भएपछि विद्यार्थीले पढाइभन्दा अन्य कुरामा ध्यान दिन थालेका अभिभावक बताउँछन् । पढ्ने बानी हटेर अरू कुरामा ध्यान जाँदा बालबालिकाहरू पढेको कुरा बिर्सँदै जान थालेका अभिभावक रामचन्द्र जोशीले बताए । यसले बालबालिकाको मनोविज्ञानमा असर गर्ने र पढाइप्रति वितृष्णा पैदा गर्न सक्ने जोशीको भनाइ छ । त्रिनगर माविमा १० कक्षामा अध्ययनरत जमुना साउद नियमित पढ्न नपाउँदा सिकेका कुरा पनि बिर्सन थालेको बताउँछिन् । ‘अंग्रेजी, गणितलगायतका विषय आफैँ पढ्दा बुझिँदैन । सात महिनासम्म विद्यालय जान नपाउँदा पढेका धेरै कुरा बिसिएँ’, उनी भन्छिन्, ‘विद्यालय चाँडो खुले हुन्थ्यो ।’
    
विद्यालय सात महिनासम्म बन्द हुँदा नियमित वा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न शिक्षक उदासीन रहेको अभिभावकको आरोप छ । ‘शिक्षक निष्क्रिय भए, आफैँ केही गर्नुपर्छ भन्ने सोच भएन । सरकारी विद्यालयमा उसै पनि बेवास्ता हुन्थ्यो । अहिले कोरोना बहाना बन्यो,’ अर्का अभिभावक नरेन्द्र साउद भन्छन्, ‘संक्रमणको जोखिमले कक्षाकोठामा पढाउन नसकेपछि टोलटोलमा गएर विद्यार्थीलाई गृहकार्य दिने तथा सिकाइमा सहजीकरण गर्न सकिन्थ्यो ।’
    
शिक्षकहरू भने यो आरोप स्वीकार गर्न तयार छैनन् । सरकारले नै देशभर विद्यालय बन्द गरेकाले आफूहरूले केही गर्न नसक्ने उनीहरूको भनाइ छ । शिक्षक महासंघका डोटीका अध्यक्ष शंकर कठायत शिक्षकले बसीबसी तलब खाइरहेको भन्ने आरोपले आफूहरूलाई पिरोल्ने गरेको बताउँछन् । संक्रमण फैलिए त्यसको जिम्मेवारी लिनुपर्ने डरले शिक्षकहरू आफैँ वैकल्पिक माध्यमबाट पठनपाठनमा अग्रसर हुन डराएका उनले बताए ।
    
शिक्षकले चाहेर मात्रै पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । संक्रमणको जोखिमसँगै शौचालयजस्ता न्यूनतम पूर्वाधार आवश्यक पर्ने भएकाले सरकारले अहिले भनेको टोल शिक्षा कार्यक्रमको प्रभावकारितामा पनि उनले सन्देह व्यक्त गरे ।

आश्रय स्थल विद्यालय
अहिले कोरोना महामारी व्यवस्थापनमा मात्र विद्यालय प्रयोग भएका होइनन्, बाढी, पहिरो तथा भूकम्पजस्ता विपतका वेला पनि पीडितलाई राख्ने ठाउँ प्रायः विद्यालय नै हुन्छ । विपत् व्यवस्थापनको अन्य विकल्प नहुँदा विपतका वेला विद्यालय प्रयोग गर्ने गरिएको सरोकारवाला बताउँछन् । विद्यालयलाई विपतमा प्रयोग गरिँदा पठनपाठन प्रभावित हुने गरेको छ । अहिले देशभरका धेरैजसो विद्यालय क्वारेन्टािका रूपमा प्रयोग गरिएका छन् ।

संक्रमणको जोखिमसँगै विद्यालय क्वारेन्टिन बनाइएकाले पनि पठनपाठन सञ्चालन हुन नसकेको उपप्राध्यापक भवानसिंह चलाउने बताउँछन् । सात महिनासम्म पठनपाठन नहुँदा विद्यार्थीको भविष्य नै अन्याेलमा परेको उनको भनाइ छ । यसले बालबालिकाको मनोविज्ञानमा पनि नकारात्मक असर परेको उनले बताए । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले पढेका कुरा बिर्सने, पढाइ ‘ग्याप’ हुने, विद्यालय छोड्नेको संख्या बढ्नेजस्ता असरहरू देखिने विज्ञहरू बताउँछन् । यसबाहेक दीर्घकालीन असरहरू पनि रहेको उनीहरूको भनाइ छ ।

यसले उमेरअनुसारको ज्ञानको विकासमा असर गरेको मनोविज्ञान विषयका उपप्राध्यापक चलाउने बताउँछन् । पढाइ निरन्तर भएन भने मानसिक सिकाइमा अवरोध हुने उनको भनाइ छ । ठूलो संख्यामा बालबालिका विद्यालय छोड्ने सम्भावना पनि देख्छन्, उनी । ‘लामो समय पठनपाठन नहुँदा ‘जेनेरेसन ग्याप’ हुन्छ । दक्ष जनशक्ति उत्पादनमा ‘ग्याप’ हुन्छ । अहिलेको ग्यापले भोलि देशमा दक्ष जनशक्तिको कमी हुन सक्छ,’ उनी भन्छन्, ‘त्यसको असर समाजको अन्य विकास क्रममा पनि देखिन्छ ।’ ज्ञानको विकास उमेरपछि गर्न नसकिने उनी बताउँछन् । बन्द भएको सात महिनासम्म पनि नियमित वा कुनै वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन नहुनु सरकार सञ्चालन र नीति निर्माणमा रहेकाहरूको अकर्मण्यता भएको सरोकारवालाको भनाइ छ ।

केही ठाउँमा सञ्चालन 
सात महिनापछि केही विद्यालयले भने नियमित र वैकल्पिक माध्यमबाट पठनपाठन थालेका छन् । केहीले तयारी गर्दै छन् । कैलालीको कैलारी गाउँपालिकाले शिक्षकहरूलाई घरघरमै पठाएर विद्यार्थीको सिकाइमा सहजीकरण गर्न थालेका छन् । दार्चुलाको व्यास गाउँपालिकाले भौतिक दूरी कायम गर्दै पठनपाठन सुरु गरेको छ । संक्रमण दर न्यून रहेकाले भौतिक दूरी कायम गर्दै पठनपाठन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिंह धामीले जानकारी दिए ।
    
अछामको मेल्लेख गाउँपालिकाले पनि पालिकाभित्रका विद्यालयमा पठनपाठन सुरु गरेको छ । भौतिक दूरी कायम गर्दै वैकल्पिक उपायमार्फत पठनपाठनका क्रियाकलापलाई निरन्तरता दिइएको जनता मावि मेल्लेखका प्रधानाध्यापक नृप विकले बताए । बाजुरामा पनि कोरोना संक्रमितको संख्या न्यून रहेका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गर्न थालेका छन् ।
    
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुगमन महाशाखा प्रमुख झंकर विष्टले विपतका  वेला पनि पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने मापदण्ड र नीति बनाउन लागिएको बताए । विद्यालयमा विपतकाे पूर्वतयारी कसरी गर्ने, विपतका वेला पठनपाठन गर्दा के–के कुरामा ध्यान दिनेजस्ता विषयमा प्रदेशका ८८ वटै स्थानीय तहका शिक्षा शाखाका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक आदिलाई तालिमसमेत दिन लागिएको उनले बताए । 


अहिलेको अवस्थामा पठनपाठन कसरी सुचारु गर्ने भन्नेबारे पनि प्रदेशले छलफल अगाडि बढाएको विष्टको भनाइ छ । संक्रमण कम भएको समुदायका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘कतिपय विद्यालयले नियमित पठनपाठनको तयारी पनि गरेका छन् । विद्यार्थीलाई कक्षाकोठामा उपस्थित गराउन नसक्ने अवस्थाका लागि कुन विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने भन्नेबारे हामी कार्यविधि बनाउँदैछौँ,’ उनले भने, ‘अब कुनै न कुनै विधिबाट पठनपाठन सुरु हुन्छ ।’