
नेपाल क्रिकेट संघ (क्यान)लाई खुला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सबै पक्षबाट सुझाब आएपछि क्यानले प्रशिक्षकका लागि दरखास्त आह्वान गरिसकेको छ ।
दरखास्त दिने मिति सकिएको छ । तर, अहिलेसम्म को–कसले दरखास्त दिएको सर्वाजनिक भने गरिएको छैन ।
छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ, अहिले चासोको विषय बनेको छ ।
दुई दशकअगाडि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो ।
श्रीलंकाली प्रशिक्षक डायसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मिहिनेत गरेर क्रिकेटको बलियो जग बसालेसँगै अर्का प्रशिक्षक पुबुदले नेपाली क्रिकेटलाई नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेले ।
त्यसपछि नेपालले विभिन्न डिभिजनका खेललाई पार गर्दै अहिले एक दिवसीय मान्यता पाएको छ । ट्वान्टी–२० विश्वकपमा पनि अनुभव बटुल्न सफल भयो, नेपाली क्रिकेट टोली ।
त्यसो त अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपाली टोलीलाई १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिइसकेका छन् । यो अवधिकमा नेपालले अन्तर्राष्ट्रियस्तरमा स्थान पनि बनाउन सफल भयो ।
पछिल्लो समय पाएको सफलतालाई जोगाउनका लागि आउँदो दिनमा अनुभवी र नेपाली टोलीलाई धेरैभन्दा धेरै मैत्रीपूर्ण खेलको तालमेल गर्ने प्रशिक्षक खाँचो भएको धेरैले औँल्याउँदै आएका छन् ।
अहिलेको अवस्थामा नेपाली क्रिकेट टोलीका लािग अनुभवी र अन्तर्राष्ट्रियस्तरमा बलियो प्रभाव भएको प्रशिक्षक आवश्यक भएको बताउँछन्, पूर्वक्रिकेटर पवन अग्रवाल ।
अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ । क्रिकेट गतिविधि चलायमान त्यति हुन सकेका छैनन् । यो समय क्यानलाई नयाँ प्रशिक्षक खोज्ने उपयुक्त समय मिलेको छ ।
नेपाली टिमको प्रशिक्षक बनेर को आउला ? भन्ने चासो सर्वत्र बढ्दै गइरहेको अवस्थामा पूर्वकप्तान विनोद दासले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपाललाई विश्व क्रिकेटलाई नजिकबाट बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको बताउँछन् ।
०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ । राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी तोकिएको छ । तर, क्रिकेटको गतिविधि भने शून्य छ ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित गरिरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न पदाधिकारीको नियुत्तीलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउन आवश्यक रहेको क्रिकेटरहरू बताउँछन् ।