मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २३ शुक्रबार
  • Thursday, 05 December, 2024
डा. नीति अर्याल खनाल
२o७७ असोज २३ शुक्रबार o९:३६:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘जुम्यानल’ : एक भाले पुराण

अग्रलेख

Read Time : > 4 मिनेट
डा. नीति अर्याल खनाल
नयाँ पत्रिका
२o७७ असोज २३ शुक्रबार o९:३६:oo

जुम नामक अमेरिकी पुँजीवादी एपमा जम्मा भएर जुर्मुराउने भएकाले यसलाई अंग्रेजीमा ‘जुम्यानल’ भन्ने गरिन्छ

कोरोना महामारीको कालमा सत्ता सम्हालेर बसेकाको अकर्मण्यता र दोगलापनले त हद पार गर्‍यो । संसारकै लामो चार महिनाव्यापी लकडाउन त ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा दर्ता गराएकी गराएनन् कुन्नि ! त्यही विश्व रेकर्ड कायम गर्ने लामो लकडाउनमै करिब १२ सय नेपालीले जीवनबाट निराश भएर आत्महत्या गरे । महिला र बालबालिकामाथि घरेलु हिंसा चुलियो, श्रमजीवी पसिना बगाउनधरि नपाएर सडकमै भोको पेट देहत्याग गर्न बाध्य भए । त्यही समय सत्ताका कमजोरी ढाक्न नयाँ नक्सा बनाउने नाममा राष्ट्रवादको नक्कली नाटक मञ्चन गरियो ।

विज्ञका सुझाब उडाउन रुचाउने प्रधानमन्त्रीज्यू आफैँ कोरानाविज्ञ भई हाछ्युँमा उड्ने अति सामान्य रोग भनेर हाँसोमा उडाइदिनुहुन्छ । यस्तो कठिन परिस्थितिबीच हाम्रो रगत, पसिना र आँसुले भिजेको करको ‘सदुपयोग’ गर्न नै त होला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य महँगो सोल्टी होटलमा क्वारेन्टाइन बस्नुहुन्छ । अनि सरकारको कर्कस हितोपदेश सुनिन्छ, ‘हामी केही गर्न सक्दैनौँ, आफ्नो जिम्मा आफैँ लेऊ ।’ हामी जतिसुकै राष्ट्रवादका खोक्रा बिम्बमा छाती फुलाऔँ, साँच्चै यो समय नेपालको नागरिक हुँदा सबैभन्दा लाचार र निरीह महसुस भएको समय हो । 

महामारीका यी सब फरक–फरक परिदृश्यबीच हामी माझ अर्को महामारी फैलियो, कोरोनाकै गतिमा– ‘जुम्यानल’ । यो शब्दको व्युत्पत्ति र अर्थको चर्चा गर्ने अनुमति चाहन्छु । खासमा हुनुपर्ने ‘प्यानल’ हो । तर, सबै वक्ता, उस्तै परे आमन्त्रित प्रमुख अतिथि र सञ्चालक पनि पुरुष हुने भएकाले अंग्रेजीमा ‘म्यानल’ भयो । उसो त शुद्ध झर्रा नेपालीमा ‘पुनेल’ (पुरुष मात्र बोल्ने) अथवा भाले प्रजातिका मानिस मात्र हुने भएकाले ‘भ्यानल’ भन्दा पनि भयो, सुविधाअनुसार । सहकर्मी श्याम शर्माका अनुसार पुरुष वक्ताभित्रै पनि विविधता हेर्दा अधिकांश बाहुन–क्षेत्री मात्र नै ‘म्यानल’मा देखिने भएकाले छोटकरीमा ‘बाक्षेमा म्यानल’ पनि भन्न सकियो । 

महामारीको वेलामा ‘जुम’ भन्ने मिटिङ एपको विश्वव्यापी प्रयोग बढ्यो । हामी नेपाली पनि के कम, घर–घरमा जुम, अफिस–अफिसमा जुम । एक घर, कुनै न कुनै सदस्य ‘म्यानल’मा, सके वक्ता नभए पनि श्रोता बन्ने लहर चल्यो । अलिकति चल्तापुर्जा बाचाल मान्छेको एकाध सेमिनारको पोस्टरमा फोटो नआए सामाजिक प्रतिष्ठा नै गुम्ने स्थिति देखा परेपछि समस्याको समाधानका रूपमा आयो, ‘जुम्यानल’ । जुम नामक अमेरिकी पुँजीवादी एपमा जम्मा भएर जुर्मुराउने भएकाले यसलाई अंग्रेजीमा ‘जुम्यानल’ भन्ने गरिन्छ । यसमा जति धेरै पुरुष वक्ता हुन्छन्, 

‘म्या’ को लेघ्रो त्यति नै बढी तान्नुपर्छ । जस्तै– दुईजना मात्र वक्ता छन्, सीधै ‘जुम्यानल’ भने भयो, दुःख भएन । तर, पाँचजना एकसे एक धुरन्धर विद्वत् पुरुष गम्भीरतम भावभंगीमा पोस्टरमा झुल्किनुभो भने त्यति नै लामो लेघ्रो तान्नुपर्छ– ‘जुम्याऽऽऽऽऽनल’ । योभन्दा धेरै पुरुष देखिने पोस्टरको बारेमा पहिले नै सचेत भएर, लामो श्वास तानेर मात्र ‘जुम्यानल’ उच्चारण गर्नुहुन अनुरोध छ । घाँटीमा समस्या हुनेले लेघ्रो मौन राख्नुहोला, नत्र स्वरनलीमा क्षति पुग्न सक्छ । 

सुरुसुरुमा निर्बाध खुरुखुरु चलेको ‘जुम्यानल’ अहिले बडो संकटमा परेछ । ‘डलर डकारेर टन्न भएपछि उग्राउँदै बसेका नारीवादीहरू’ फेसबुकदेखि ट्विटरसम्म ट्याउँट्याउँ गरेर आयोजकलाई हायल–कायल पार्न थालेछन् ।

‘जुम्यानल’का फरक–फरक शैली र शिष्टाचार हुन्छन् । पहिलो– ‘जुम्यानल’बारे सेयर र कमेन्ट गर्नु । अलि हुनेखाने, पुगिसरी आएका, आफूले आदर–सत्कार गर्नुपर्ने महानुभावको पोस्टर आएपछि विषयवस्तुको तारिफ गर्दै कमेन्ट लेख्नुपर्छ, सेयर गर्दा अझ फलिफाप हुन्छ । महामारीले भेटघाट, चिया गफ, भट्टी गफमा सहजै प्राप्त हुने चाकरीको मौका गुमेको छ । त्यसैले सामाजिक सञ्जालमार्फतै यस्तो कार्य सम्पन्न गर्न सकिन्छ । अनौपचारिक अध्ययनको निष्कर्षले के देखाउँछ भने चाकरीका लागि सामाजिक सञ्जाल अहिलेको सबैभन्दा सजिलो, छिटो–छरितो अनि सर्वसुलभ माध्यम हो । सबैभन्दा फाइदाको कुरा त यस माध्यमबाट गरिएको चाकडीको अभिलेखीकरण र तथ्यांकको दस्ताबेजीकरण पनि भरोसायोग्य हुने भएकाले भविष्यमा सो चाकडीको गम्भीरतामा संशय उठे त्यसलाई प्रमाणित गर्न बडा सजिलो छ । 

दोस्रो भनेको कार्यक्रमको परम्परागत शैलीको ‘डिजिटलाइजेसन’ गर्ने हो । कार्यक्रममा आमन्त्रित वक्ता चाहे घरको खाटमा बसून्, सुकुलमा बसून् या कुर्चीमा– कार्यक्रम संयोजकले नाम लिई–लिई आसन ग्रहण गराउनुपर्छ । वास्तवमा भन्ने हो भने यी ‘जुम्यानल’हरू विद्वत् पुरुषको ‘इगो म्यानेजमेन्ट’का माध्यम पनि हुन्– केमा बोल्ने, कसरी बोल्ने, को बोलाए नबोल्ने, कसको फोटो सिरानमा राख्ने, पुच्छारमा कसलाई पुर्‍याउने ? ‘जुम्यानल’कै पोस्टर जम्मा पारेर कुनै दिन कसैले ‘जुम्यानलभित्रको शक्ति राजनीति ः एक गम्भीर विश्लेषण’ शीर्षकमा बहस चलाए हामी लाभान्वित हुने थियौँ । 

उहिले–उहिले ठूलो मञ्च खडा गरेर, ध्वजापताका बाँधेर पण्डित बोलाएर धर्मकर्म, वरत्र र परत्रको अभिलाषा र लोकहितका लागि पुराण लगाइन्थ्यो । ‘जुम्यानल’को उद्देश्य आखिर यही त हो । ‘जुम्यानल’मा भने निश्चित किसिमको पुराण सुनाइन्छ, भाले पुराण । कारण स्पष्ट छ, पहिलो त मानवजातिको भाले प्रजाति मात्रै बोल्ने, दोस्रो लोकहितका लागि महिला श्रोताहरू मन्त्रमुग्ध भएर भक्तिभावले सुन्नुपर्ने । पुराणका वक्ता पुरुष हुनुका पछाडिको प्रमुख कारण जगजाहेर नै छ । तैपनि भनिहालूँ, उहाँहरूको घरमा बिहानदेखि बेलुकासम्म घरकोे लुते धन्दादेखि लिएर केटाकेटी र बुढाबुढीको स्याहारसुसार गरिदिने एक विनापारिश्रमिक काम गर्ने महिला श्रमिक हुनुहुन्छ । अनि त उहाँहरूलाई ‘जुम्यानल’मार्फत लोककल्याणकारी दिव्य उपदेश बाँड्ने कठिन जिम्मेवारी आइलागेको छ । 

सुरुसुरुमा निर्बाध खुरुखुरु चलेको ‘जुम्यानल’ अहिले बडो संकटमा परेछ । ‘डलर डकारेर टन्न भएपछि उग्राउँदै बसेका नारीवादीहरू’ फेसबुकदेखि ट्विटरसम्म ट्याउँट्याउँ गरेर आयोजकलाई हायल–कायल पार्न थालेछन् । ‘जुम्यानल’ बनाउने छिटो र छरितो तरिका भनेको ‘काले काले मिली खाऊँ भाले’ आफ्नो वरिपरिको चिनेजानेको पुरुषसाथीलाई नै भन्ने त हो । अनि त सामाजिक पुँजी र पहुँच बढाउन अलि ठूलो घागडान नेता अनि विद्वत् पुरुष बोलाउनुपर्‍यो । यो सबैथोक व्यवस्थापन गर्दागर्दै विचरा पुरुष आयोजकले आफ्नै छेउछाउका महिला नदेख्ने दृष्टिदोषबाट पीडित हुनुभएको पीडा कसैले बुझिदिएनन् । 

कोरोना लाग्नुभन्दा पहिले पो यताउता भेट हुन्थ्यो, अनि ‘कार्यक्रममा सारीमा चिटिक्क परेर ‘उद्घोषण गर्न आऊ’ भन्न पाइन्थ्यो । फेरि जो पायो त्यही महिला वक्ता बोलाउन पनि आयोजकलाई समस्या छ, हेर्नु । अलि नम्रभावमा आयोजक र वक्ताको चित्तको पित्तमा कत्ति पनि ठेस नपुग्ने गरी बोल्ने संस्कारी महिला आजभोलि दुर्लभ प्रजातिमा परिसके, लोप हुने गम्भीर खतरा छ । अनि ‘जुम्यानल’हरूले महिला नै सहभागी नगराएकोचाहिँ होइन, श्रोताहरू भइहाल्छन् नि । कोरोनापूर्व भौतिक उपस्थिति हुने कार्यक्रममा महिलालाई उद्घोषक, कार्यक्रम सञ्चालक बनाइदिएकै हो । त्यति पनि गर्न नसकेको परिस्थितिमा पनि सारीमा चिरिच्याट्ट महिलालाई अतिथि पुरुषको छातीमा ब्याच भिराइदिने अनि गलामा खादा ओढाइदिने सुवर्ण अवसर दिइएकै हो । त्यतिले नपुगेपछि होइन कहाँबाट ल्याउनु महिलाविज्ञ ? अलि अगाडि हाइड्रो इन्जिनियरको ‘जुम्यानल’मा एक प्रसिद्ध विज्ञको तस्बिर भेटिएपछि ट्विटरमा उनलाई कुनै ‘बेसोमती’ले प्वाक्क सोधेछ– ‘महिला खोइ ?’ अनि उहाँले गहिरो अनुसन्धान गरी फेला पारेको निष्कर्ष ‘महिलाविज्ञ रूखमा फलाउन अति गाह्रो हुने’ सेयर गर्नुभएको थियो ।

हुन त एकाध महिलाविज्ञ रूखमा फलिहाले पनि घामपानी अनि अग्र्यानिक मल नपाएर ओइलाएका हामीले देखेकै हो । त्यसो त एनजिओको विकासे मलले महिलाविज्ञहरू फस्टाउँदा, प्रांगारिक मलको भरमा दुःख गरेर हुर्केका उच्च जातिका पुरुष विज्ञहरू चिन्तित भएको देख्दा, मलाई गहभरि आँसु आएको थियो । आजभोलि ‘जुम्यानल’ आयोजकलाई साह्रै गाह्रो, पोस्टर सार्वजनिक भएर सकल सामाजिक सञ्जालमा एक राउन्ड बेइज्जत भएपछि, त्यो पोस्टरमा जसरी पनि एउटा महिला थप्ने बाध्यता आइलागेको छ । उहाँहरूको दुःखलाई आत्मसात् गरेर डा. अमिना सिंहले एउटा सूचना जारी गर्नुभएको थियो । सूचनाको व्यहोरा यसप्रकार छ :

महिला चाहिएको सूचना !!!

हाम्रा विभिन्न गोष्ठी, सेमिनार, वेबिनार तथा समितिमा महिलाको उपस्थिति नभएको हामीलाई बोध गराइएपछि, सो कारण हाम्रो प्रगतिशील छविमा पर्न सक्ने हानिलाई मध्यनजर गरी महिलाको उपस्थिति जनाउन केही थान महिला चाहिएको जानकारी गराउँछौँ । यदि तपाईं महिला हुनु्हुन्छ वा कुनै महिला चिन्नुहुन्छ भने हामीलाई सम्पर्क गर्न सादर अनुरोध गर्दछौँ ।

(नेपाल पितृसत्ता समाज)

एक विश्वस्त स्रोतबाट प्राप्त सूचनाअनुसार बोल्न सक्ने महिलाको व्यापक खोजी भइरहेको जानकारीमा आएको छ । ‘जुम्यानल’का आयोजकका अनेकौँ दुःख र कष्टलाई समानुभूति गरेर बोजु–बजै नाम गरेको समूहले महिलाविज्ञको सूची तयार गर्दै छ रे ! अनि प्रणिका कोयु नाम गरेकी नारीवादीले एकजना क्यानेडियन मेयरको सिको गर्दै वेबिनारमा कसले कति बोल्छन् भनेर अनुसन्धान नै गरेर बसेकी छन् रे ! तर, उनको अनुसन्धानको माध्यम रहेछ ऊन र काँटी । कसले कति बोल्छ त्यहीअनुसारले फरक रंगको धागो परिवर्तन गर्दै, बुन्दै जाँदा वेबिनारका वक्ताको लिंग मात्र होइन, जातीय पहिचान पनि खुल्ने गरी ऊनीको पछ्यौरा बुनेकी छिन् रे ! बुन्दाबुन्दै रातो रंगको ऊन धेरै छिटो सकियो रे ! रातो रंगले कुन समूहलाई प्रतिनिधित्व गरेको होला, अनुमान गर्ने जिम्मा पाठककै । 

(खनाल समाजशास्त्र विभाग, पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत छिन्)