मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. केशव शर्मा
२०७७ असोज २१ बुधबार ०६:५०:००
Read Time : > 9 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

किन बढ्दै छ भरतपुरमा डुबान ?

बहस

Read Time : > 9 मिनेट
डा. केशव शर्मा
२०७७ असोज २१ बुधबार ०६:५०:००

खेतीयोग्य जमिन मासियो, सिँचाइको वैकल्पिक व्यवस्था भयो, हाम्रो ठाउँबाट नहर लगेर अरूलाई मात्र फाइदा भएको छ भन्ने मनोविज्ञानबाट भरतपुरवासी बाहिर निस्कनुपर्छ

विगत केही वर्षदेखि हरेक मनसुनको समयमा तरार्ईका सहरहरू डुबानमा परेका समाचारहरू आइरहेका छन् । नेपालमा मात्र होइन, विकसित देशका सहरहरू पनि हिजोआज डुबानबाट प्रभावित भएको पाइन्छ । भारतसँगको सीमा क्षेत्रमा पर्ने सहरहरू भारतले बाँधेका बाँध, निर्माण गरेका सडक आदिले डुबानमा परे तापनि पूर्व–पश्चिम राजमार्गमा पर्ने सहरहरू पनि डुबानबाट प्रभावित भएका छन् । सहरी क्षेत्र विशेष गरी तीन कारणले डुबानमा पर्ने गर्दछ : पहिलो– मौसम परिवर्तन वा विभिन्न कारणले छोटो अवधिमा अति वर्षा हुनु, दोस्रो– सहरी क्षेत्रमा विभिन्न संरचना निर्माणका कारण आकाशबाट परेको पानी जमिनमुनि जान नपाएर बगेर खोलाखोल्सीतिर पुग्नु र यस्तो वर्षात्को पानीका लागि आवश्यक ढल वा नालाको व्यवस्था नहुनु, तेस्रो कारण– सहरी क्षेत्र वा आसपासका प्राकृतिक खोल्सा तथा नालाहरू मासिनु वा पुरिनु र नदी तथा खोलाहरू अतिक्रमण हुनु हो । भरतपुर, चितवनलगायत तराईका अधिकांश सहर डुबानमा पर्ने मुख्य कारण दोस्रो र तेस्रो हो । यो लेखमा नेपालको केन्द्रबिन्दु मानिने र सबभन्दा उच्च गतिले (१३–१५ प्रतिशतले) सहरीकरण भइरहेको चितवनको भरतपुर महानगरपालिकामा हुने डुबानको लेखाजोखा गर्न खोजिएको छ । 

उच्च वर्षा : धेरैले भरतपुरमा अहिले भएको डुबान उच्च वर्षाका कारण हो भन्ने गरेको पाइन्छ, तर तथ्यांकले त्यस्तो भन्दैन । यस क्षेत्रमा योभन्दा ठूलो पानी पर्ने गरेको छ । चितवनको झवानीको जलमापन केन्द्रको तथ्यांकअनुसार यो क्षेत्रमा ०६४ साउन ३२ गते २४ घन्टामा करिब ३११ मिलिमिटर पानी परेको थियो । त्यस्तै, रामपुरमा भएको जलमापन केन्द्रको तथ्यांकअनुसार यस क्षेत्रमा ०६३ सालमा २४ घन्टामा करिब ४०५ मिलिमिटरसम्म पानी परेको देखिन्छ । तर, यसपालिको उच्चतम वर्षा भनेको करिब १२५ मिलिमिटर प्रतिदिन हो । गत वर्षहरूको तथ्यांकले यो वर्ष अतिवर्षा भएको देखाउँदैन । यद्यपि, पूरै वर्षा (मनसुन)को अवधिमा परेको पानी हेर्ने हो भने गत वर्ष र यो वर्ष अलि धेरै पानी परेको भने देखिन्छ । तर, डुबान हुनका लागि छोटो अवधिमा धेरै पानी वा निरन्तर वर्षा भएको हुनुपर्दछ । मनसुनको सुरुवातमै पनि केही स्थानमा सामान्य डुबानको समस्या देखिनुले पनि ठूलो वर्षाको कारणले डुबान भएको भन्ने स्थिति छैन ।

सहरीकरण र संरचना निर्माण : राप्ती उपत्यका विकास परियोजनाअन्तर्गत चितवनमा बस्ती बसाल्न सुरु गरिएको थियो, जुनवेला प्रत्येक ५–१० बिघाको प्लटमा ग्रिड आकार (पूर्व–पश्चिम र उत्तर–दक्षिण हुने गरी) सडक डिजाइन गरिएको थियो । ठाउँठाउँमा गौचरण, धेरै खुला स्थान, बगैँचा र पोखरीहरू राखिएको थियो । यसर्थ पनि भरतपुर एउटा उदाहरणीय सहर बन्न सक्ने सम्भावना भएको क्षेत्र हो । तर, हाम्रो स्थानीय सरकार र प्राविधिकहरूको अदूरदर्शिता र लापरवाहीका कारण अस्तव्यस्त सहरतिर उन्मुख हुँदै छ, भरतपुर ।

हाम्रो सहरी सडकमा वर्षामा बग्ने पानीलाई व्यवस्थित गर्ने र निकास गर्न ढल (ड्रेन) प्रणालीलाई समावेश गरिएको देखिँदैन । यो कुरा भरतपुर महानगरपालिकामा पनि लागू हुन्छ । सहरमा सडक जति महत्वपूर्ण हो, ढल र क्रसड्रेन पनि त्यति नै महत्वपूर्ण हो, ढललाई पनि सहरी सडककै अंग बनाइनुपर्दछ । बाटोको भाग छुट्याएर बाँकी रहेको भागमा ड्रेन बनाइन्छ, जुन वर्षाको पानीलाई समेट्न पर्याप्त हुँदैन ।

हाम्रो सहरी सडकमा वर्षामा बग्ने पानीलाई व्यवस्थित गर्ने र निकास गर्न ढल (ड्रेन) प्रणालीलाई समावेश गरिएको देखिँदैन । यो कुरा भरतपुर महानगरपालिकामा पनि लागू हुन्छ । सहरमा सडक जति महत्वपूर्ण हो, ढल र क्रसड्रेन पनि त्यति नै महत्वपूर्ण हो, ढललाई पनि सहरी सडककै अंग बनाइनुपर्दछ ।
 

विश्वका अन्य मुलुक जस्तै– अमेरिका, जापानमा ड्रेनलाई उति नै प्राथमिकता दिन्छन्, जति सडकलाई । तर, भरतपुर महानगरपालिकामा बर्खेपानी निकासको राम्रो प्रबन्ध नभएकाले मध्यमखालको वर्षा हुँदा पनि स–साना ठाँउहरूमा पानी जम्न गई जनजीवन नै अस्तव्यस्त बन्ने क्रम बढ्दो छ । विगत तीन वर्षमा भरतपुर महानगरमा करिब ३ सय किलोमिटर सडक कालोपत्रे गरिएको दाबी महानगरपालिकाको छ, तर अधिकांश सडक निर्माणका क्रममा ढल निर्माण गरिएको छैन । यो नै भरतपुरमा डुबानको प्रमुख कारण बन्नेछ । भरतपुर हाइट अलि समथर भू–भागमा भएकाले यो समस्या बढी छ । यस वर्षको बर्खामा त भरतपुर अस्पतालको आकस्मिक कक्ष र अन्य विभागमा पानी पसेर उपचार नै प्रभावित बन्यो । यस्ता घटना वर्षैपिच्छे बढ्दो क्रममा छन् । 

विभिन्न आर्थिक, सामाजिक तथा राजनीतिक कारणले भरतपुरमा अव्यवस्थित सहरीकरण उच्च गतिमा भएको पाइन्छ । संयुक्त राष्ट्रसंघको एक अध्ययनअनुसार विश्वको उच्च १० सहरीकरण वृद्धि भएको क्षेत्रभित्र नेपाल पनि पर्दछ । जर्नल अफ रिसोर्स इकोलोजीमा प्रकाशित लेखका अनुसार ०४७ देखि ०७५ सम्ममा भरतपुर महानगरपालिकाभित्र मात्र भवन, सडक तथा अन्य पूर्वाधारहरूले ओगटेको क्षेत्रफल करिब पाँच सय प्रतिशतले बढेको छ । त्यही अवधिमा खुला स्थान करिब ७५ प्रतिशतले घटेको देखिन्छ । त्यस्तै, उक्त अवधिमा खेतीयोग्य जमिनमा उल्लेखनीय गिरावट आएको देखिन्छ । ४०–५० को दशकसम्म अहिलेको भरतपुर महानगरपालिका क्षेत्रभित्र थुप्रै पोखरी, चौर र गौचरण थिए । 

सामान्यतया आकाशबाट परेको पानी खाली जमिनबाट २५ प्रतिशतजति मात्र बगेर खोल्सातिर पुग्छ भने बाटो, पूर्वाधारका क्षेत्रहरूबाट भने ७५ प्रतिशत पानी बगेर खोलाखोल्सीमा पुग्दछ । तर, यो कुरा माटोको प्रकार, जमिनको ढलान (स्लोप), रूखबिरुवाको घनत्व आदि धेरै कुरामा भर पर्दछ । बढ्दो सहरीकरण र भौतिक संरचनाका कारण जमिन अप्रवेश्य (इम्परमिएबल) भई वर्षा भएको धेरैजसो पानी जमिनमुनि जान नपाई भेल बन्दै खोलानालामा गएर मिसिन्छ । यति मात्र नभई वर्षाको पानी खोलासम्म पुग्ने समयसमेत कम लाग्ने गर्छ ।

कृषि गरिने जमिन क्रमशः घट्दै जानु, खेतीपाती, रूखहरूको विनाश हुनुले पनि भरतपुरमा बाढी, डुबान बढ्दो छ । कुनै समयमा सिसौ, बकैनाजस्ता प्रजातिका रूखहरूको राजधानी नै मानिने चितवनमा अहिले त्यस्ता प्रजातिका रूख देख्नै मुस्किल छ । नारायणी लिफ्ट सिँचाइका नहर र खगेरी सिँचाइको नहरमा एक–दुई दशकसम्म टन्न रूखहरू देखिन्थे, अहिले सबै मासिएका छन् ।

सामान्यतया एक हेक्टर क्षेत्रफलमा झारपातले ढाकेको जमिनको तुलनामा सडक, भवन तथा अन्य पूर्वाधारहरू भएको जमिनबाट वर्षाको पानी बगेर आउने उच्च बहाव डेढदेखि दुई गुना बढी हुने मानिन्छ र प्राकृतिक नाला वा खोल्सोमा छोटो समयमै धेरै पानी जम्मा हुन जान्छ । प्राकृतिक खोल्सा, घोल, नाला आदि खुम्चँदै जाँदा त्यसमाथि खोला तथा नदी किनारको अतिक्रमणले बहाव क्षेत्र साँघुरो र खोलामा पानीको बहावलाई असर गर्ने गरी संरचना निर्माण हुने क्रम बढ्दो छ । खोलाको चौडाइ पर्याप्त नहुँदा बहावको गति बढ्नुका साथै पानीको सतहसमेत उच्च हुन पुग्छ, जसकारण खोला सजिलै आसपासका बस्तीमा पस्ने जोखिम बढेर गएको छ । 

चितवनमा विगत दशकमा सडक निर्माण र जग्गा प्लटिङले तीव्रता पाएको छ । प्लटिङका नाममा घर नै नभएका जग्गामा समेत कालोपत्रे बाटो बनाउने र बिजुलीका खम्बा गाड्ने काम भएको छ । सडकलाई कालोपत्रे गर्दा सडकलाई जमिनको सतहबाट माथि उठाइएको छ, तर वर्षाको पानीलाई व्यवस्थापन गर्न कुनै प्रबन्धन गरिएको छैन ।

अझ गहिरो जग्गा, जसलाई चितवनतिर घोल जमिन भनिन्छ, जहाँबाट वर्षामा ठूलो मात्रामा पानी बग्ने गर्दछ, त्यस्तो स्थानलाई पुरेर पूरै घडेरी बनाइएको छ । उच्च सडक र गहिरो जग्गा पुरेर घडेरी बनाउँदा वर्षाको पानी आफ्नो गतिमा बग्न पाउँदैन र ठाउँ–ठाउँमा डुबान पर्ने गर्दछ । सरकार, स्थानीय निकाय, र निजी क्षेत्र सबैले भरतपुरमा सडक एवं अन्य संरचनाहरू निर्माण गर्दा जलविज्ञानलाई पूरै बेवास्ता गरेको पाइन्छ, जसको परिणाम अहिले भोग्दै छौँ ।

आजभन्दा ३–४ दशकअघि निर्मित नारायणी लिफ्ट सिँचाइका नहर होस् वा पुराना सडक हुन्, ती संरचना निर्माण गर्दा ठाउँठाउँमा ठूलो–ठूलो ह्युमपाइपहरू राखेको पाइन्छ । त्यति वेलाका कल्भर्टहरू पनि ठूलो–ठूलो निर्माण गरेको पाइन्छ । तर, हिजोआज निर्माण गरिएका सडकमा कतै–कतै एक–दुई स–साना ह्युमपाइप औपचारिकताका लागि मात्र राख्ने गरिएको छ । 

खोलाको अतिक्रमण : भरतपुरमा विशेष गरी वर्षात्को भेल पानी बग्ने दुईवटा प्रमुख खोला र सिँचाइका लागि बनाइएका नहरहरू हुन् । दुई खोलामा पुङीखोला र केरुङाखोला हुन् । पुङीखोला भरतपुरको उत्तरी भेगमा पर्ने आपटारीबाट सुरु भएर भरतपुरका प्रमुख बजारहरू क्षेत्रपुर, लाइन्सचोक, लन्कुपुल, तिरधारे हुँदै रामघाटमा गएर नारायणी नदीमा मिसिन्छ ।

यस खोलाको लम्बाइ करिब ६ किलोमिटर छ । केही वर्षअघिसम्म यो खोला ठूलो देखिन्थ्यो, वर्षाका वेला ठूलो मात्रामा पानी बग्थ्यो । यो खोलाको अतिक्रमणका कारण भरतपुरको ओरालो तल र नारायणीको पूर्वी क्षेत्र डुबानमा पर्ने सम्भावना उच्च छ । पुङीखोलाको मुहानतिर एउटा कृत्रिम ताल निर्माण गर्ने र पुङीखोलालाई पुनर्जीवित गर्ने कुरा चले पनि यो खोलालाई पुरानो अवस्थामा ल्याउन ठूलै राजनीतिक इच्छाशक्ति आवश्यक पर्छ । 

अर्काे प्रमुख खोला भनेको केरुङाखोला (घोल भनेर चिनिन्छ) हो, जुन खोला भरतपुरको भोजाङआसपासबाट सुरु भएर दक्षिणतिर गौरीगन्ज, गीतानगर, पटिहानी हुँदै जगतपुरमा गएर राप्ती नदीमा मिसिन्छ । केरुङाखोला करिब २८.४ किलोमिटर छ । भरतपुर महानगरपालिकाको दक्षिण–पश्चिम क्षेत्रको सबभन्दा ठूलो खोला नै केरुङा हो । केरुङाखोलामा बनेका पुराना पुल वा कल्भर्ट कम्तीमा १०–१५ मिटरको लम्बाइ र अग्ला देखिन्छन् ।

हरेक वर्षाको समय केरुङाखोला उर्लेर आउँथ्यो, खोलाको पानी पुलमाथिबाट बग्थ्यो र ७५–१०० मिटरसम्मको चौडाइमा तर्न नसकिने गरी खोला बग्थ्यो । ठूलो पानी पर्दा कत्रो बाढी आयो होला भनेर मान्छेहरू केरुङाखोला हेर्न जान्थे । त्यत्रो खोलालाई ठाउँ–ठाउँमा केही मिटरमा खुम्च्याइएको छ । वर्षाको समय फराकिलो भएर बग्ने ठाउँ पुरेर अग्लो बनाइएको छ ।

चितवनमा विगत दशकमा सडक निर्माण र जग्गा प्लटिङले तीव्रता पाएको छ । प्लटिङका नाममा घर नै नभएका जग्गामा समेत कालोपत्रे बाटो बनाउने र बिजुलीका खम्बा गाड्ने काम भएको छ । सडकलाई कालोपत्रे गर्दा सडकलाई जमिनको सतहबाट माथि उठाइएको छ, तर वर्षाको पानीलाई व्यवस्थापन गर्न कुनै प्रबन्धन गरिएको छैन ।

अबको केही वर्षमा यो खोलाको गीतानगरदेखि उत्तरतिरको खण्ड खोज्नुपर्ने गरी अतिक्रमण गरिँदै छ । यसले भरतपुरको प्रमुख बजार क्षेत्र मात्र होइन, गौरीगन्जदेखि गीतानगरसम्मको ठूलो क्षेत्रमा डुबान हुने निश्चित छ । अहिले केरुङाको घोल व्यवस्थापन गर्ने, दायाँ–बायाँ साइकल लेन बनाउने कुरा चल्दै छ । यदि केरुङा घोलको जलक्षेत्र तथा जलविज्ञानको अध्ययन गरेर केरुङाको घोललाई चाहिने क्षेत्र नछोडीकन विकासको नाममा काठमाडौंको धोबीखोलालगायतमा जस्तै दायाँ–बायाँ पर्खाल उठाएर सानो कुलोमा परिणत गर्ने हो भने भरतपुर महानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नेछन् ।

सिँचाइका नहरको उपेक्षा : करिब चार हजार सात सय हेक्टर जग्गामा सिँचाइ गर्ने उद्देश्यले ४० को दशकमा निर्माण गरिएको नारायणी लिफ्ट सिँचाइका नहरहरूले भरतपुरका अधिकांश क्षेत्र डुब्नबाट जोगाएको थियो । भरतपुर महानगरपालिकाको क्षेत्रपुरबाट सुरु भएर मुख्य सहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर मासिँदा वा अतिक्रमणमा परेर खुम्चिँदा सहरी क्षेत्र डुबान हुने गरेको प्रस्ट देखिन्छ । विगत केही वर्षदेखि नारायणी लिफ्ट सिँचाइको करिब १० किलोमिटरभन्दा बढी नहर स्थानीय जनता र जनप्रतिनिधिहरूकै अग्रसरतामा पुरेर सडक र पार्क निर्माण गरिएका छन् ।

नहरको आसपासमा घडेरी भएकाहरूले नहर पुरेर बाटो बनेपछि सोही बाटोतर्फ मोहडा पारेर घर निर्माण गरेका छन्, जसले वर्षाको पानीको बहावलाई झनै रोकेको छ । जबदेखि बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेस्टहाउस चौर, कारागार, क्यान्सर गेट, नारायणपुरसम्म पुग्ने नहर ‘सी’मा अतिक्रमण सुरु भयो, त्यही वेलादेखि गेस्टहाउस चौर, जिल्ला प्रहरी कार्यालयअगाडिको भाग डुबानमा पर्न सुरु भइसकेको थियो ।

डुबानको कारण खोज्नुको सट्टा नारायणी लिफ्ट नहर ‘सी’लाई केही वर्षअघि औचित्य नभएको भन्दै पुरिएपछि सामान्य वर्षामा पनि भरतपुरका अधिकांश सरकारी कार्यालय रहेको क्षेत्र, सरकारी अस्पातल र आसपासका सडकहरू डुबानमा पर्न थालेका हुन् । भरतपुर नगरपालिका हुँदाका बखतका क्षेत्रहरू अहिले प्लटिङले भरिभराउ भएकाले सिँचाइका लागि नारायणी नहर अब चाहिँदैन भन्ने परेको छ, जुन अत्यन्त गलत छ ।

नारायणी लिफ्ट सिँचाइका नहरहरूलाई वर्षामा धान रोप्नका लागि सिँचाइ गर्ने मात्र होइन, यसको प्रयोग सुक्खा पोखरीको रूपमा पनि गर्न सकिन्छ, जुन कुरा स्थानीय जनता, जनप्रतिनिधि र नगरपालिकाका प्राविधिकहरूले पनि बुझ्न सकेनन् । अहिले विकसित देशका सहरहरूमा पानी पर्दा आउने भेल र डुबानबाट बच्न सुक्खा पोखरी बनाउने चलन बढ्दो छ । सुक्खा पोखरीहरू अधिकांश समय सुक्खा हुन्छ, ठूलो पानी पर्दा वरिपरिको पानी त्यही पोखरीमा जम्मा हुन्छ र डुबानबाट सहरलाई जोगाउँछ । त्यस्तै, सुक्खा पोखरीहरूले भूमिगत पानीको पुनर्भरणमा पनि ठूलो सहयोग पुग्छ ।

वर्षाको समयमा पनि नहरलाई दुई किसिमले प्रयोग गर्न सकिन्छ । न्यून वर्षा हुँदा नहर सञ्चालन गर्ने सिँचाइका लागि र अधिक वर्षा भयो भने नहरको पम्प बन्द गर्ने र वर्षाको पानीलाई नहरमार्फत सुरक्षित निकास दिने । हाम्रो कमजोर बुझाइ के भयो भने नहर भनेको सिँचाइलाई मात्र हो । सिँचाइका लागि नहरहरू आवश्यक भएनन् भने पनि यी नहर मास्नु हुँदैन, यिनले सुक्खा पोखरीको काम गर्छन् । मूल नहर र शाखा नहरको दायाँ–बायाँ सडक वा केही खाली जमिन भएकाले वर्षात् नहुने समयमा खुला स्थानको रूपमा यिनीहरूलाई प्रयोग गर्न पनि सकिन्छ ।

विपद्को समयमा आकस्मिक उद्धार र विपद् व्यवस्थानमा ठूलो सहयोग हुन्छ । भरतपुर नगरपालिका महानगरपालिका भएपछि खगेरी सिँचाइका नहरहरू पनि भरतपुरअन्तर्गत नै परेका छन् । खगेरी सिँचाइको नौ मुख्य र चार शाखा नहर गरी करिब २३ किलोमिटर छ, जसले पश्चिम चितवनको तीन हजार नौ सय हेक्टर जग्गामा सिँचाइ गर्दछ । खेतीयोग्य जमिन घडेरीमा परिवर्तन हुनु, नहरको विकल्पको रूपमा धेरै बोरिङको प्रयोग गर्न थाल्नु जस्ता कारणले खगेरी नहर उपेक्षामा पर्दै छ, जसकारण आसपासका क्षेत्रमा डुबानको समस्या पर्न सक्छ । 

अबको निकास : केही वर्षअघिसम्म पनि चितवनमा बाटोभन्दा केही भित्र घर बनाउने प्रचलन थियो । बाटोको उन्नयन गर्ने, ढल र साइकल लेन बनाउन पुग्ने जग्गाको समस्या हुँदैनथ्यो । अझै पनि भरतपुर महानगरपालिकाले सडक निर्माण वा उन्नयन गर्दा ढल र साइकल लेन अनिवार्य गराउने र जलविज्ञानको अध्ययनअनुसार क्रसड्रेन राख्ने काम गर्न सक्दछ, पहिले बनिसकेका सडकमा पनि जलविज्ञानको अध्ययन गरेर साइड र क्रसड्रेन राख्न सकिन्छ ।

महानगरभित्रको जग्गा नक्सांकन गरेर कुन–कुन क्षेत्रलाई सुरक्षित राख्ने, कुन क्षेत्रमा हुने निर्माणलाई नियमन गर्नुपर्ने अध्ययन गरेर निक्र्योल गर्नुपर्दछ, नत्र धेरै ढिलो हुनेछ । कसैले जग्गा प्लटिङ गर्छ र सडक निर्माण गर्छ भने अनिवार्य रूपमा जलविज्ञानको अध्ययन गरेर त्यहीअनुसारको संरचना निर्माण गर्ने गरी मात्र अनुमति दिनु र उचित अनुगमन गर्नुपर्छ । 

खेतीयोग्य जमिन मासियो वा सिँचाइको वैकल्पिक व्यवस्था भयो वा हाम्रो ठाउँबाट नहर लगेर अरूलाई मात्र फाइदा भएको छ भन्ने मनोविज्ञानबाट भरतपुर बजारका बासिन्दा बाहिर निस्कनुपर्नेछ । हाम्रो वरपरको वातावरण सन्तुलित राख्न र भूमिगत पानीको सतह घट्न नदिन पनि यसले सहयोग गरिरहेको छ । अहिले नेपालमा पूर्व–पश्चिम ग्रान्ड नहरको आवश्यकताबारे बहस चलिरहेको छ, जसले तराईमा डुबान नियन्त्रण गर्न र भूमिगत पानीको पुनर्भरणमा केही हदसम्म सहयोग हुनेछ भनिएको छ । त्यसैले नहरको आवश्यकता सिँचाइका लागि मात्र होइन, वर्षाको पानीको सुरक्षित व्यवस्थापन र भूमिगत पानीको पुनर्भरणका लागि पनि हो ।

पुरिएका नहरहरू खनेर पूर्ववत् फर्काउनुको विकल्प पनि छैन । त्यसैले नारायणी लिफ्ट सिँचाइका नहरहरू मर्मतसम्भार र अतिक्रमणबाट जोगाउने काम सिँचाइ विभागको मात्र हुनुहुँदैन, महानगरले पनि केही दायित्व लिनुपर्दछ । कथंकदाचित, नारायणी लिफ्ट सिँचाइको पम्प बिग्रिएर नहरमा पानी नआउने अवस्था आयो भने पनि महानगरले यसअन्तर्गतका नहरहरूको सुरक्षा गर्नुपर्छ । 

जुनसुकै ठाउँमा पनि कुनै संरचना निर्माण गर्दा त्यहाँको जलविज्ञानलाई अध्ययन गरेर मात्र गरौँ, नत्र आगामी दशकमा डुबान तथा बाढीले ठूलो विपद् निम्त्याउनेछ र त्यसलाई सच्याउन ठूलो मूल्य चुकाउनुपर्ने हुनेछ । विकास भनेकै कालोपत्रे सडक मात्र हो भन्ने भ्रमबाट स्थानीय जनता, प्रतिनिधि र प्राविधिकहरू मुक्त हुनुपर्‍यो । आगामी केही दशकपछिको सहरको स्वरूप समेटिने गरी एकीकृत अवधारणा बनाऔँ, त्यसअनुसार आजैबाट काम थालौँ ।

अहिले स्थानीय निकायमा उल्लेखनीय इन्जिनियर तथा प्राविधिक भएको अवस्थामा हामीले निर्माण गर्ने हरेक संरचना इन्जिनियरिङमा आधारित हुनुपर्‍यो र दीर्घकालीन हुनुपर्‍यो । अहिलेसम्मको अवस्था हेर्दा स्थानीय निकायमा भएका धेरै निर्माणले इन्जिनियरिङलाई नै गिज्याइरहेको भान हुन्छ । यो कुरा तराईका सबै सहरमा लागू हुन्छ ।

(इन्जिनियरिङमा विद्यावारिधि गरेका शर्मा भरतपुर–६ निवासी हुन्)