चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग राख्दै कञ्चनपुरका महिला अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
मंगलबार बिहान ११ बजेदेखि एक घन्टासम्म नागरिक संघर्ष समितिमा आबद्ध महिला अधिकारकर्मीले डा. केसीको जीवनरक्षाको माग राखेर प्रशासनको मूल गेटमा धर्ना दिएका हुन् ।
नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले डा. केसीको सत्याग्रह नागरिकको हितमा भएकाले सरकारले माग पूरा गर्नुपर्ने बताइन् । सरकारले माग पूरा गर्न बेवास्ता गरेका कारण आन्दोलनमा उत्रनुपरेको उनको भनाइ छ ।
नागरिक संघर्ष समिति कञ्चनपुरकी सदस्य एवं अधिकारकर्मी शारदा चन्दले सरकारले डा. केसीका सबै माग सम्बोधन गरेर स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताइन् । ‘डा केसीले उठान गरेका माग पूरा गर्नुपर्ने भन्दै प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ,’ उनले प्रश्न गरिन्, ‘जनताको पक्षमा भएका माग सम्बोधन गर्न ढिलाइ किन ?’