१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज १७ शनिबार १८:००:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

खेलाडीको तलबमा विभेद :  क्रिकेटतर्फ पुरुष र महिलाबीच १८ देखि ३५ हजारसम्म अन्तर, फुटबलमा महिलालाई ८ हजार कम

क्रिकेटमा ‘ए’ ग्रेडका पुरुष खेलाडीलाई मासिक ५० हजार, महिलालाई १५ हजार मात्र, फुटबलमा पुरुषले १५ हजार पाइरहँदा महिलालाई मासिक सात हजार मात्र

Read Time : > 2 मिनेट
२०७७ असोज १७ शनिबार १८:००:००

नेपालमा करिब दुई सयवटा खेल संघ छन् । तीमध्ये नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)ले मात्र आफ्ना खेलाडीलाई मासिक तलब दिन्छन् । तर, दुवै संघले गर्ने तलब भुक्तानी असमान छ । पुरुषको तुलनामा महिला खेलाडीले आधाभन्दा कम तलब पाउँछन् ।

क्यानले केन्द्रीय सम्झौतासहित खेलाडीलाई मासिक तलब दिन थालेको ६ वर्ष पुग्दै छ, जसले ०७१ देखि खेलाडीलाई तलब दिन थालेको हो । एन्फाले पनि आफ्ना खेलाडीलाई तलब दिँदै आएको छ । अन्य कुनै खेल संघले आफ्ना खेलाडीलाई नियमित तलब दिँदैनन् ।

एन्फाले महिला र पुरुष दुवैतर्फ राष्ट्रिय टोलीका खेलाडीलाई मासिक तलब दिन्छ । पुरुष खेलाडीले मासिक १५ हजार रुपैयाँ पाइरहेका छन् । महिला खेलाडीलाई भने मासिक सात हजार मात्रै दिइन्छ ।

यस्तै, क्यानले ए, बी र सी वर्गीकरणका आधारमा क्रिकेट खेलाडीलाई तलब दिन्छ । ‘ए’ वर्गीकरणमा परेका पुरुष खेलाडीले मासिक ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, ‘बी’ वर्गीकरणमा ४० र ‘सी’का खेलाडीले ३० हजार रुपैयाँ मासिक तलब बुझ्छन् ।

तर, महिलातर्फ ‘ए’ वर्गीकरणमा परेका खेलाडीले १५ हजार रुपैयाँ मात्र पाउँछन् । जब कि, पुरुषतर्फ ‘सी’ वर्गीकरणमा परेका खेलाडीले ३० हजार रुपैयाँ पाइरहेका छन् । महिलातर्फ ‘बी’ क्याटेगोरीका खेलाडीले १२ हजार र ‘सी’ले मासिक १० हजार रुपैयाँ मात्र बुझ्छन् ।

महिला खेलाडीलाई पनि तलब दिने निर्णय क्यानले गत ७ असोजमा गरेको हो । उनीहरूलाई पनि पुरुषकैजस्तो केन्द्रीय सम्झौतासहित तलब दिइने भएको छ । तर, तलब भने पुरुषको भन्दा निकै कम छ । क्यानको केन्द्रीय कार्यालयले सीधै खेलाडीसँग कन्ट्र्याक्ट गरेर तलब भुक्तानी दिने प्रक्रियालाई केन्द्रीय सम्झौता नाम दिइएको हो । त्यस्तो सम्झौता एक वर्षको हुने गर्छ ।

क्यानले गरेको ग्रेडिङप्रति पुरुष र महिला दुवै खेलाडीले असन्तुष्टि जनाएका छन् । सोहीकारण क्यानले खेलाडीको फेरि वर्गीकरण गर्ने भएको छ । तलबमान भने यसअघिकै कायम रहने क्यानले बताएको छ ।

पहिलोपटक तलब पाउने निर्णय भएकामा महिला खेलाडी उत्साही छन् । साथमा, पुरुष खेलाडीको तुलनामा मासिक तलब कम निर्धारण गरिएकामा उनीहरू बेखुसी पनि छन् ।

महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षत्री क्यानको निर्णयलाई सकारात्मक मान्छिन् । तर, यो रकम पर्याप्त नभएको उनको तर्क छ । ‘पहिलोपटक महिला खेलाडीलाई पनि मासिक तलब दिने निर्णय भएको छ । यो हाम्रा लागि राम्रो निर्णय हो,’ रुविना भन्छिन्, ‘म अहिल्यै पुरुष क्रिकेटसँग दाँज्न पनि चाहन्नँ । तर, यो रकम हाम्रा लागि पर्याप्त छैन । क्यानले यस विषयमा आगामी दिनमा ध्यान देओस् ।’

महिला फुटबल टोलीकी कप्तान निरु थापा समान तलबका लागि लामो समयदेखि कुरा उठाए पनि पूरा नभएको बताउँछिन् । ‘अहिले महिला फुटबल समितिले पनि समान तलबका लागि कुरा उठाइरहेको छ,’ निरु भन्छिन्, ‘तर, तलबकै सन्दर्भमा हामीले लामो समयदेखि कुरा उठाएका छौँ । यद्यपि, यो असमान व्यवहार अझै जारी छ ।’

‘राम्रो सुरुवात हो, तर यति रकमले पुग्दैन’
रुविना क्षत्री
कप्तान, महिला क्रिकेट टोली

रुविना क्षत्री

क्यानले महिला खेलाडीलाई पनि केन्द्रीय सम्झौतामा राखेर तलब दिने निर्णय गर्नु राम्रो सुरुवात हो । यो निर्णयले महिला क्रिकेट खेलाडीलाई धेरै खुसी बनाएको छ । अबदेखि महिला खेलाडीले पनि खेलेर तलब पाउने भएका छन् । पुरुष खेलाडीले महिलाको भन्दा धेरै बढी तलब पाउँछन् । ‘ए’ ग्रेडमा परेका पुरुष खेलाडीले ५० हजार पाउँदा त्यही ग्रेडका महिला खेलाडीले १५ हजार मात्रै पाउने भनिएको छ ।तलबमा महिला र पुरुषबीच ठूलो अन्तर छ । तर, म पुरुष क्रिकेटसँग दाज्न चाहन्नँ । पुरुष टोली एक दिवसीय टोली बनिसकेको छ । पुरुष खेलाडीले पनि पहिलोपटक तलब पाउँदा अहिलेको जति थिएन । यद्यपि, यति रकमले महिला खेलाडीलाई जीवन धान्न सहज छैन भन्ने दृष्टिकोणबाट कुरा उठाइरहेकी छु । यो रकमले क्रिकेट सामग्री किन्न पनि पुग्दैन । बाहिरका खेलाडी काठमाडौं आउँदा यति रकमले कसरी व्यवस्थापन गर्न सक्छन् ? क्यानले भविष्यमा यो विषयमा ध्यान दिने विश्वास छ । कोभिड–१९ महामारीका कारण यस वर्ष कुनै प्रतियोगिता भएका छैनन्, जसका कारण खेलाडीको आर्थिक अवस्था जर्ज बनेको छ । त्यसैले, क्यानले दिने भनेको रकम एकमुष्ट दिए थप राहत हुने थियो ।

‘हामीले पनि देशकै लागि खेल्ने हो, तर तलबमा विभेद छ’
निरु थापा
कप्तान, महिला फुटबल टोली

निरु थापा

हामीले धेरैपटक कुरा उठायौँ । समान तलब हुनुपर्छ भन्यौँ । अहिलेसम्म भएको छैन । महिला फुटबल खेलाडीले पनि देशकै लागि खेल्ने हो । हामीले पनि देशलाई नै योगदान दिने हो । तर, तलबमा अझै विभेद छ । यो असमान व्यवहार हामी अझै बेहोर्दै आएका छौँ । पुरुष खेलाडीले पाउने तलबको आधाभन्दा पनि कम महिला खेलाडीले पाउँछन् । यस्तो व्यवहारले महिला खेलाडीलाई प्रोत्साहित गर्दैन । तलबमै विभेद हुन्छ भने खेलाडी कसरी खेलमा लाग्छन् ? हामीले कुरा उठाएपछि महिला फुटबल समितिले पनि महिला खेलाडीको तलब वृद्धिका लागि पहल गरिरहेको छ । भविष्यमा महिला फुटबलरले पनि पुरुषसरह तलब पाउने आशा छ ।