मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज १५ बिहीबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेयरको चुनावी प्रतिबद्धता गिज्याउँदै छन् पोखरा महानगरका सडकले

Read Time : > 2 मिनेट
२०७७ असोज १५ बिहीबार १८:००:००

पोखरा महानगरका मेयर मानबहादुर जिसीले निर्वाचनमा गरेको एउटा महत्वपूर्ण प्रतिबद्धता थियो, नगरका सडकमा बनेका खाल्डाखुल्डी २४ घन्टाभित्रै पुरिसक्ने । तर, निर्वाचित भएको तीन वर्ष बित्दै गर्दा महानगरका सडक खण्डहरझैँ बनेका छन् । नगरक्षेत्रका सडकले मेयर जिसीको प्रतिबद्धतालाई गिज्याइरहेका छन् ।

महानगरका सडक अहिले नगरवासीका लागि मेयर जिसीलाई खिसिट्युरी गर्ने माध्यम बनेका छन् । सडकमा बनेका खाल्डातर्फ औँल्याउँदै नगरवासीले भन्ने गर्छन्– मेयरका सडक ।

सवारीसाधन गुड्दा खाल्डामा जमेको पानीले बटुवा भिज्ने अवस्था रहनु महानगरपालिकाकै लज्जाको विषय रहेको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला टिप्पणी गर्छन् । सडक नियमित मर्मतसम्भार हुनुपर्नेमा त्यस्तो नदेखिएको उनी बताउँछन् ।

महानगरपालिका कार्यालय अघिल्तिरको सडकमा बनेको खाल्डो जमेको पानीमा महानगरको प्रतिविम्ब देखिन्छ । तिनै खाल्डा पनि पुर्न सकेको छैन, पालिकाले । खाल्डाखुल्डीका विषयमा राखिएको जिज्ञासमा मेयर जिसी भन्छन्, ‘कोरोना संक्रमण नभएकोे भए पोखराका सडक चिल्ला भइसकेका हुन्थे र गुनासो गर्ने अवस्था नै आउने थिएन ।’

पोखरा महानगरपालिकाको मुख्य गेट अघिल्तिर बनेको खाल्डो, जहाँ जमेको पानीमा महानगरको बोर्ड छर्लंग देखिन्छ ।

महानगरपालिकाले सहरी सडकलाई अस्फाल्ट कंक्रिटिङ गर्न सम्झौता नै गरिसकेको र कोरोना संक्रमणका कारण मजदुर नपाउँदा समस्या आएको उनको भनाइ छ । ‘सुरुमा भएका कामदार फर्काइयो । भारतबाट मजदुर ल्याउनुपर्ने रहेछ । यस्तो वेला गुनासो सुन्नेबाहेक केही गर्न सक्ने अवस्था नै रहेन,’ उनी भन्छन् । सडकबाहेकका काम भने महामारीमै पनि निरन्तर गर्न सकिएको, तर कालोपत्रे गर्ने जनशक्ति नहुँदा समस्या परेको उनको प्रस्टीकरण छ ।

जताततै खाल्डैखाल्डा
पोखरा न्युरोडमा बीचसडकमै पानको पात आकारको खाल्डो बनेको छ । सभागृह चोकमा सदाबहार खाल्डो परिरहन्छ । त्यसमाथि अहिले खानेपानी पाइप लाइन बिछ्याउन सडक किनारामा खनिएको छ । तर, पाइप लाइन बिछ्याएर पनि कंक्रिट गरिएको छैन ।

सभागृह चोकमा पाइप लाइन बिछ्याएर पनि कंक्रिट नगरी अलपत्र छाडिएको सडक ।

महेन्द्रपुल चोकमै खाल्डो बनेको छ । यस्तै, रानीपौवा हुँदै पश्चिमाञ्चल अस्पताल चोक जोड्ने सडकमा बनेका खाल्डाका कारण स्थानीय बासिन्दाले सास्ती खेपिरहेका छन् ।

महेन्द्रपुलदेखि पृथ्वीचोकसम्म नयाँ बजार क्षेत्रमा ठाउँ–ठाउँमा खाल्डा परेका छन् । महानगरभित्र खाल्डा नपरेका सडक भेट्न मुस्किल छ । जिरो किलोमिटरदेखि विन्ध्यवासिनी सडकखण्ड मात्र अस्फाल्ट कंक्रिट गरिएकाले खाल्डाको समस्या छैन । यो पोखरा–बाग्लुङ राजमार्गको एक खण्ड हो ।

ठेक्का भयो तर, काम हुन पाएन
विन्ध्यवासिनी सडकखण्डमा जस्तै अस्फाल्ट कंक्रिट गर्ने महानगरको योजना छ । त्यसका लागि मुख्य सहरी सडकको स्तरोन्नति गर्न पोखरा महानगर, पूर्वाधार विकास कार्यालय, कास्की र सडक विभागको सहकार्यमा कागजी प्रक्रिया पूरा भएर काम सुरु हुने चरणमा थियो ।

त्यसका लागि महानगरले १७ करोड रुपैयाँ छुट्याएको छ । उक्त बजेटबाट १२ किलोमिटर सडक निर्माण गर्न ‘इलाइट मोतीधन जेभी’सँग सम्झौता पनि भएकोे छ । न्युरोडबाट महेन्द्रपुल हुँदै सिद्धार्थचोक, महेन्द्रपुलबाट रानीपौवा हुँदै अम्मरसिंह चोक, महेन्द्रपुलदेखि पालिखेचोक हुँदै केआई सिंह पुल र सुन्दर फिडसम्मको सडक अस्फाल्ट कंक्रिटिङ गर्न महानगरले फागुनमा सम्झौता गरेकोे थियो ।

महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेका अनुसार सुरुमा जाइकाअन्तर्गतको बृहत् खानेपानी आयोजना विस्तार हुँदै गरेकाले पुनः सडक खन्नुपर्ने भन्दै केही ढिलाइ भयो । त्यसपछि ११ चैतमा लकडाउन सुरु भएपछि सबै काम रोकियो । अवस्था सहज भएर तराईबाट कामदार नआउँदासम्म सडक निर्माण अगाडि बढ्ने अवस्था नदेखिएकोे काफ्लेको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय, कास्कीका प्रमुख दिनेशकुमार घिमिरेका अनुसार मुस्ताङचोकदेखि राष्ट्र बैंक चोक, सहिद चोक हुँदै लेकसाइड हल्लन चोकसम्म र हल्लन चोकबाट जिरो किलोमिटरसम्म पाँच दशमलव ६ किलोमिटर सडकलाई अस्फाल्ट कंक्रिटिङ गर्न नौ करोड रुपैयाँमा सम्झौता भएको छ । सम्झौताको म्याद सकिएर ६ महिना थपिएको छ ।

सम्झौता भएर काम सुरु गर्ने वेलामा जाइकाको परियोजनाअन्तर्गत पाइप बिछ्याउन सडक खन्न थालिएको घिमिरे बताउँछन् । ‘पाइप लाइन बिछ्याएलगत्तै काम थाल्ने योजना थियो । तर, लगत्तै लकडाउन सुरु भएपछि निर्माण कम्पनीले कामदार अभाव देखाउँदै काम थाल्न सकेन,’ उनी भन्छन् ।

ठेकेदार कम्पनी भन्छ– भारतबाट कामदार ल्याउन पाए भटाभट काम
महानगरका सडकलाई अस्फाल्ट कंक्रिट गर्न जिम्मा लिएको इलाइट मोतीधन जेभीले कामदार ल्याउन पाए काम भटाभट अगाडि बढाइने बताउने गरेको छ । त्यसका लागि लकडाउनअघि नै उपकरण र सामग्री ल्याइसकिएको कम्पनीका कन्ट्रयाक म्यानेजर राजु रानाभाट बताउँछन् ।

‘लकडाउनपछि भएका कामदार पनि घर फर्काइयो, अहिले ल्याउन समस्या भयो,’ रानाभाट भन्छन्, ‘कामदार आउन तयार छन्, तर जोखिम मोल्न सकिएको छैन ।’

भारतबाट कामदार ल्याउन नदिइएको उनको गुनासो छ । ‘काम भएन, खाल्डा धेरै भए भनेर मात्र भएन । किन भएन भनेर पनि खोजिदिनुप¥यो,’ उनी भन्छन्, ‘भारतबाट कामदार ल्याउन उनीहरूलाई तयारी अवस्थामा राखिएको छ । पिसिआर परीक्षण गरेर ल्याउने कुरा पनि भएको छ । तर, जोखिम मोल्ने कि नमोल्ने भन्ने अन्योल छ ।’