१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन प्यासी काठमाडौं
२o८१ बैशाख २४ सोमबार oo:४४:oo
Read Time : > 4 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

फेरि ब्युँझिएला त गुरुकुल ?

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार oo:४४:oo

नेपाली रंगमञ्चको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको गुरुकुल नाटकघर अहिले बन्द छ, करिब नौ वर्षदेखि बन्द गुरुकुल फेरि सञ्चालनको प्रयास हुँदै 

......

रंगकर्मी सुनील पोखरेलसँग एउटा पेन्टिङ छ । सानो बक्स साइजको क्यानभासमा चित्रकार किरण मानन्धरले पेन्टिङ गरेका छन् । पेन्टिङमा विक्रम सुब्बाले कविता लेखेका छन्– 

उसले गर्नु गर्यो
अझै के के गर्ने हो
होसियार 

३० चैत ०६२ । देशभर आन्दोलन चलिरहेको थियो । कफ्र्यु जारी थियो । जमघट हुने स्थान थियो, गुरुकुल । नाट्यकर्मी, साहित्यकार सबै आन्दोलनमा थिए । त्यहीवेला सडकमा आएका वृद्ध उमेरका स्रष्टा जो भाग्न सक्दैनथे, उनीहरूलाई नाट्यकर्मी सुनील पोखरेलले घर पठाए । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्रहसन देखाए । कसैले कविता पनि वाचन गरे । त्यसपछि गुरुकुलबाट बाहिर सडकमा निस्किए स्रष्टा–कलाकारहरू । ११–१२ जना स्रष्टा पक्राउ परे । तर, रंगकर्मी पोखरेलहरू भने गिरफ्तारीमा नपर्ने योजनामा थिए । किनभने भोलिपल्टै नाटक देखाउन पाकिस्तान जानुपर्ने अवस्था थियो । प्रहरीले लखेट्दै आए, सबै गुरुकुलभित्र छिरे । रामकुमार राई भन्ने एक युवक थिए । उनी क्यान्टिनतिर भागे । उनलाई दुई गोली हानियो, तर लागेन । प्रहरीले नराम्रोसँग पिटे । पछि गोलीका दुई खोका भेटिए ।

‘सञ्जीव उप्रेतीलाई प्रोफेसर भनेपछि पुलिसले छाडिदियो । त्योवेला हामीले गोली संकलन गर्‍यौँ, बेलुका भेला भयौँ छाडिदिएपछि । सबैलाई भेला गर्‍यौँ,’ पोखरेल सम्झन्छन्, ‘अनि यसमा किरण मानन्धरले पेन्टिङ गर्नुभयो, विक्रम सुब्बाले कविता लेख्नुभयो । बाटोमा खसेको चाहिँ नारायण वाग्लेले लिएर गए, गुरुकुलमा हानेको चाहिँ यही पेन्टिङमा छ ।’ गुरुकुल परिसरभित्रै गोली चलेको थियो पुरानो बानेश्वरमा । तर, पेन्टिङ कुमार आलेले लैजाने भनेका थिए, पछि पोखरेलले लिएर आए । 


 

 

हामीले गुरुकुल सञ्चालन गर्न सरकारलाई जग्गा देऊ, हामी भाडा दिन्छौँ भनेका छौँ । व्यापारीले जस्तो पो दिन सक्दैनाैँ होला । भौतिक संरचना हामी आफैँ बनाउँछौँ भनेकै हो । तर, खोइ व्यापारीलाई दिनका लागि जग्गा छ, हामीलाई छैन । : सुनील पोखरेल, नाट्यकर्मी

......

पछि गुरुकुल नाटकघर बन्द भयो । बन्द हुनुको कथा आफ्नै छ । सुनील पोखरेलले एकपटक भनेका थिए, ‘जग्गा भाडामा लिएर कहिल्यै नबस्नू ।’ पहिला त्यही जग्गा दुई करोड ५६ लाख रुपैयाँमा जग्गामालिकले किन्न आग्रह गर्थे । तर, पछि ३६ करोडभन्दा बढी त्यसको मूल्य भयो । सो जग्गामा पोखरेलहरू आफैँले नाटकघर बनाएका थिए । लिज सकिन दुई वर्ष बाँकी थियो । जग्गाधनीले बैंकबाट थुप्रै ऋण लिएका रहेछन् । पछि जग्गा बेच्नैपर्ने बाध्यता आइपरेपछि पोखरेलहरूले छाडे । ‘त्यसपछि म दुई तीन वर्ष घरबाटै निस्किइनँ । कतै गइनँ,’ पोखरेल भन्छन्, ‘के भयो, कस्तो भयो, त्यसबीचको समय म केही पनि सम्झन्न ।’ 

गुरुकुल जग्गाको विषय मात्र थिएन । पोखरेलहरूले त्यहाँ धेरैवटा अभिलेख राखेका थिए । काठमाडौंको नेवारी संस्कृतिकै मात्र तीन वर्ष लगाएर डकुमेन्टेसन गरेका थिए । सबै अहिले गुमनाम छन् । क्यासेटमा रहेका फुटेज हराए । कस्ट्युम, प्रोपर्टी सबै कता हराए कता । थिएटरका लागि भनेर मोबाइल जामर पनि प्रयोग गरेका थिए । नाटक मञ्चन हुने बेला जामर अन गरिन्थ्यो । सन् २००३ मा सुरु भएको थियो गुरुकुल नाटकघर । त्यसवेला लेखक कविहरूको जमघट हुने स्थान थियो गुरुकुल । तर, नाटकघर रहेको जग्गाको विषय आएपछि गुरुकुल सदाका लागि बन्द भयो, २०१०/११ तिर । अहिले स्र्रष्टा, कलाकारहरू सहरभरिका नाटकघरतिर भेटिन्छन् । सबैको चाहना छ फेरि गुरुकुल ब्युँझियोस्।

......

सन् २००६ मा नाट्यकर्मी पोखरेलको अगुवाइमा गुरुकुलमा इब्सन अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गरिएको थियो । ६–७ देशबाट नाटक आएका थिए । देशमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । मुलुक जनआन्दोलनपछि पहिलो संविधानसभा निर्वाचनको तयारीमा थियो । महोत्सवमा आएका प्रधानमन्त्री कोइरालाले मञ्चबाटै भने, ‘के गर्नुपर्छ, हामी तयार छौँ ।’ नाट्यकर्मी पोखरेलका अनुसार त्यो एक खालको नैतिक दबाब हुन्छ सरकारको भन्ने थियो । ‘गुरुकुलको ठाउँ छाडिहाल्न पनि पर्दैन थियो भन्ने लागेको थियो । र, हामीले सहयोग लिएनौँ,’ पोखरेल भन्छन्, ‘तर, पछि जग्गाको विषयमा अप्ठ्यारो पर्‍यो । हामीले त्यसपछिको सरकारलाई खबर गर्‍यौँ । भरतमोहन अधिकारीलाई फोन गर्‍यौँ । तर, यतिन्जेल धेरै परिवर्तन भइसकेको थियो । सम्भव हुन सकेन ।’ र, यसपछि गुरुकुल भग्नावशेष पनि बाँकी नरहने गरी बानेश्वरको हाइटबाट गायब भयो ।

त्यसपछि बनेका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीलाई भेट्न पोखरेलहरू गए । सबैले हुन्छ, दिने भनेर आश्वासन दिए । तर, अहिलेसम्म त्यो पूरा भएको छैन । ‘त्यसवेला ३६ करोड कसरी तिर्न सकिन्थ्यो र, तर सुरुमा दुई करोड ५६ लाख मागेको वेलामा बैंकबाट ऋण लिएर तिरेको भएचाहिँ हुन्थ्यो होला । पछि त निकै ढिला भइसकेको थियो,’ पोखरल भन्छन् । 

......

हिले पनि गुरुकुल सञ्चालनको वातावरण मिलाउन नाट्यकर्मी पोखरेललगायतले सरकारलाई प्रस्ताव पठाएका छन् । तर, त्यो प्रस्ताव सरकारको प्राथमिकतामा छ या छैन भन्ने उनलाई थाहा छैन । हरेक सरकारले भेट्न गएपिच्छे प्रस्ताव लिएर आउनू भन्छन्, नाट्यकर्मीहरू प्रस्ताव लिएर जान्छन् पनि । तर, त्यसपछि प्रस्ताव यत्तिकै सकिन्छ । ‘हामीले सरकारलाई भाडा दिन्छौँ, जग्गा देऊ भनेर भनेकै छौँ । व्यापारीले जस्तो पो दिन सक्दैनाैँ होला,’ पोखरेल गुनासो गर्छन्, ‘भौतिक संरचना हामी आफैँ बनाउँछौँ भनेकै हो । तर, खोइ व्यापारीलाई दिनका लागि जग्गा छ, हामीलाई छैन ।’

अब गुरुकुल सुरु गर्दा अलि फरक तरिकाले गर्ने योजनामा छन् पोखरेल । पहिलाजस्तो कविता गोष्ठी, सांगीतिक, साहित्यिक कार्यक्रम अरूले गरिरहेका छन् । पुरानै कुरा दोहोर्‍याउनुको अर्थ देख्दैनन् उनी । जतिवेला गुरुकुल चलिरहेको थियो, त्योवेला पोखरेलहरूको सबैभन्दा ठूलो सपना स्कुलको थियो । स्नातक पढाइ हुने नाटक स्कुल सुरु गर्ने योजनामा थिए । दुई वर्षे कोर्स त सुरु गरेका थिए । त्यहीँ बसेर पढ्नुपर्ने र त्यहीँ काम गर्नुपर्ने किसिमको । पोखरेलहरूले दुई ब्याचका लागि काम पनि गरे । तर, कुनै विश्वविद्यालयसँग एफिलिएसन थिएन, सिक्नलाई सिक्नेजस्तो मात्र थियो । पछि बेलायतको एक विश्वविद्यालयसँग कुरा गरे, एफिलिएसन दिने भए । तीन वर्षको ब्याचलर्स थियो । केही रफ पाठ्यक्रम पनि तयार भएको थियो । पछि गुरुकुल नै बन्द भयो, एफिलिएसनको प्रयास त्यत्तिकै हरायो । 

आरोहण गुरुकुलको विराटनगर, मोरङमा ठूलो संरचना छ । महानगरपालिकाले लिजमा जग्गा दिएको थियो, २५ वर्षका लागि । पछि प्रचण्डको सरकार हुँदा भोगचलनको मुद्दा हाले, आरोहण गुरुकुलकै कोही सदस्यले । सरकारले आरोहण गुरुकुललाई भोगचलन गर्न दिने भनेर निर्णय गर्‍यो । पोखरेललाई त्यसबारे थाहा थिएन । एकदिन काठमाडौंमा गुरुकुलका लागि जग्गा माग्न जाँदा प्रचण्डले पोखरेललाई भने, ‘विराटनगरको जग्गा भोगचलनका लागि जिम्मा दिइसक्यौँ त ।’ पछि पोखरेलले बुझे, त्यो हो रहेछ । अनि अहिले आरोहण गुरुकुलकै नाममा जग्गा छ । त्यहाँ हल बन्दै छ । पोखरेल सोचिरहेका छन्, विराटनगरै गएर थिएटर स्कुल चलाउने हो कि ! सुरुमा काठमाडौंमा थिएटर स्कुल चलाउँदा पनि विदेशबाट मेलमार्फत सोध्थे, के कस्तो किसिमको पढाइ हो भनेर । पोखरेल पनि काठमाडौंमै स्कोप छ भन्ने सोच्छन्, तर काम गर्न ठाउँ छैन । उनी भन्छन्, ‘अझै पनि आस मरिसकेको छैन ।’

......

ल्का हिउँ परेजस्तो मिश्रित फुलेका छन् दाह्री । कपाल छोटो छ । दाह्रीजस्तै छ कपाल पनि । लकडाउनको समय पढाइमै बिताए । पहिलेभन्दा तागतिला पनि बनेका छन् । बिहानै उठेर ललितपुरको ठेचोस्थित सिभिल होम्स घुम्छन् । ध्यान गर्छन् । पुस्तक पढिरहेका छन् । नयाँ नाटक गर्ने योजनामा पनि छन् । तर, यसैमा गर्ने भनेर यकिन भइसकेको छैन । पोखरेल उमेरले करिब ५७ वर्षका भइसके । यो उमेरमा पनि उनी नाटकबारे सोचिरहेका हुन्छन् । नाटकसँगको यति लामो यात्रा गरेर आइपुग्दा पोखरेलको अनुभव छ, आफूलाई मन परेको काम गरियो भने निरन्तर लागिँदो रहेछ, साथमा त्यसबाट दुःख–सुख चल्ने अवस्था बन्यो भने । ‘सुरुमा त नामको भोकै हुँदो रहेछ काम गर्दा नबुझे पनि । पछि बिस्तारै त्यतिमा मात्र नबसिँदो रहेछ । त्योभन्दा अगाडि गइँदोरहेछ,’ पोखरेल भन्छन्, ‘त्यसपछि बिस्तारै जीवनसँग जोडेर पनि हेरिँदो रहेछ । अब नाटक र समय मेरा लागि जीवनसँग जोडेर हेर्ने एउटा पाटो हो ।’

ad
ad