
प्रधानमन्त्री कार्कीले अस्पतालमा भेटिन् जेन–जी आन्दोलनका घाइते
जेन–जी आन्दोलनका घाइतेले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई मृतकको बलिदानीको कदर गर्न सचेत गराएका छन् । शनिबार घाइते भेट्न अस्पताल पुगेकी कार्कीलाई उनीहरूले अबको पुस्ताले फेरि यस्तो आन्दोलन गर्न नपर्ने गरी कदम चाल्नसमेत सचेत गराए । जवाफमा कार्कीले जेन–जीको एजेन्डालाई सार्थकता दिने गरी काम गर्ने वचन दिएकी छिन् । उनी धेरै घाइते रहेका ट्रमा सेन्टर र सिभिल अस्पताल गएकी थिइन् ।
दोलखाका रुपिन खड्काले सिभिल अस्पतालको बेडबाट प्रधानमन्त्री कार्कीलाई भने, ‘हामीले जे माग राखेर आन्दोलन गर्यौँ र क्षति व्यहोर्यौँ, अबको पुस्ताले यस्तो गर्न नपरोस् । मृतकको बलिदानीलाई सरकारले कदर गर्ने गरी काम गरोस् ।’ आन्दोलनमा रुपिनको शरीरमा आठ गोली लागेको छ ।
जवाफमा प्रधानमन्त्री कार्कीले जेन–जी युवाले गरेको त्यागलाई सम्मान मिल्ने गरी काम गर्ने आश्वासन दिएकी छिन् । ‘मैले तपाईंहरूको पीडा बुझेको छु, तपाईंहरू हातहतियारविना प्रदर्शनमा उत्रिनुभयो, तर राज्यबाट गोली बर्साउनु गलत भयो,’ उनले भनिन्, ‘तपाईंहरूको त्यागलाई सम्मान मिल्ने गरी काम गर्छु ।’
निजामती अस्पतालमा १० घाइते छन् । यीमध्ये चार आइसियूमा छन् । कार्कीले आइसियूबाहिर रहेका ६ घाइतेलाई भेटेकी थिइन् । अर्का घाइते बनेपाका सुभाष दाहालले पनि कार्कीसँग उस्तै अनुरोध गरे, ‘हामीलाई भेट्न आउनुभएकोमा खुसी लागेको छ, देश अब तपाईंकै हातमा छ, कृपया राम्रो गर्नुहोला ।’
जवाफमा प्रधानमन्त्री कार्कीले मृतक र घाइतेको योगदानको सम्मान गर्ने गरी अघि बढ्ने दोहोर्याइन् । ‘तपाईंहरूले देशको नेतृत्व परिवर्तनका लागि गोली खानुभयो, म प्रधानमन्त्रीको हैसियतमा छु, अब तपाईंहरूको घाउमा मलमपट्टी लगाउने र तपाईंहरूको एजेन्डालाई सार्थकता दिने गरी काम गर्छु,’ उनले ढाडस दिँदै भनिन्, ‘तपाईंहरूको योगदानलाई सम्मान हुने गरी नेतृत्व गर्छु । सबै मिलेर देशलाई राम्रो बनाउनतिर लाग्नुपर्छ ।’
घाइतेहरूले प्रधानमन्त्री भेट्न आएपछि आफूहरूलाई हौसला मिलेको र सरकार भएको महसुस गरेको बताए । ‘प्रधानमन्त्री भेट्न आउनुभयो, चासो दिएर सोधखोज गर्नुभयो,’ हात र खुट्टामा गरी तीन गोली लागेर निजामतीमै उपचाररत चितवनका रमेश परियारले भने, ‘उहाँले देशका लागि राम्रो गर्छु, तपाईंको त्याग र योगदानको कदम गर्ने गरी काम गर्छु भन्नुभएको छ ।’
अपराह्न ४ बजे निजामती अस्पताल पुग्नुअघि प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टरमा रहेका घाइते भेटेकी थिइन् । ३:१५ मा ट्रमा पुगेकी उनले घाइतेलाई सरकार रहेको प्रत्याभूति दिलाउने र उचित क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएकी थिइन् । ट्रमा सेन्टरमा ३६ घाइते उपचाररत छन् । जसमध्ये ६ जना आइसियूमा छन् ।
जेन–जी समूहले राखेका माग जायज भएको र गोली चलाउनु गलत भएको दोहोर्याउँदै उनले घाइतेलाई भनिन्, ‘यसमा छानबिन गहन रूपमा हुन्छ, तपाईंहरूलाई निराश पार्ने गरी मैले काम गर्नेछैन । तपाईंहरूको घाउमा मलम लगाउने र यो घटनाको दोषीलाई कारबाही गर्न सरकार केन्द्रित हुनेछ ।’
प्रधानमन्त्री कार्कीले हरेक बिरामीको नाम, ठेगाना, गोली लाग्दाको अवस्था र हालको अवस्था सोधेकी थिइन् । घाइतेको उपचारमा कमी हुन नदिन पनि अस्पताल नेतृत्वलाई निर्देशन दिइन् ।
निजामती अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले सबै बिरामीको उपचार नि:शुल्क भइरहेको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताए । ‘हालसम्म सबैको उपचार नि:शुल्क भइरहेको छ, यसबारेमा पनि प्रधानमन्त्रीज्यूले सोध्नुभएको थियो, कतिपय घाइते उपचारपछि फर्किएर पनि नियमित काम गर्न नसक्ने भएकाले यसबारेमा सम्बोधन हुने गरी कार्यक्रम ल्याउने उहाँले बताउनुभएको छ,’ डा. रेग्मीले भने, ‘उपचारमा सहजीकरण गर्न र कुनै कमी हुन नदिन भन्नुभएको छ ।’
जेन–जी आन्दोलनको पहिलो २३ भदौको साँझ पनि कार्की घाइतेलाई भेट्न निजामती अस्पताल पुगेकी थिइन् । भोलिपल्ट आन्दोलनलाई सघाउँदै सकडमै उत्रिएकी थिइन् । जेन–जीको मागअनुसार उनी शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् ।