१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o५:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइतबार सीमान्त दरमा बढ्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:o८:oo

आइतबार नेप्से परिसूचकमा उच्च घटबढसहित ४ दशमलव २९ अंकले बढेर बजार बन्द भएको छ । वाणिज्य बैंक समूहमा यस दिन कायम रहन सकेको वृद्धिले नेप्सेको वृद्धि टिकेको हो । 

कारोबारमा आएका वाणिज्य बैंकसहित होटेल, विकास बैंक, वित्त कम्पनी र सामूहिक लगानी कोष समूहमा मात्रै वृद्धि भएको हो । कारोबारमा आएका केही जलविद्युत् कम्पनीहरूको सेयर मूल्यमा उच्च वृद्धि कायम रहे पनि यो समूहको परिसूचक भने घटेको छ । नेप्से १ हजार ६ सय २० बिन्दुको प्रतिरोध परीक्षणमा रहँदा बजारले स्पष्ट दिशा संकेत गर्न सकेको छैन । यस दिन पनि नेप्से १ हजार ५ सय ७५ सम्म पुगेर ओर्लिएको हो । 

बजारमा लगानी रकममा भने वृद्धि नै देखिएको छ । यस दिन पनि ३ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ८८ कम्पनीको मूल्य बढेर कारोबार भएकोमा १५ वटाको ५ प्रतिशतमाथि र ८६ कम्पनीको मूल्य घटेकोमा दुइटाको मात्रै ५ प्रतिशतभन्दा धेरैले घटेको छ । ‘क’ वर्गका कारोबारमापक सूचक सेन्सेटिभ पनि बढेको छ । 
 
 युनिलिभर नेपालको लाभांश १० वर्षयताकै कम 
युनिलिभर नेपालले प्रतिसेयर १ सय रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । विगत १० वर्षको लाभांश दर हेर्ने हो भने यो वर्ष सबैभन्दा कम लाभांश प्रस्ताव गरेको हो । कम्पनीमा लकडाउनको प्रभाव देखिएकाले लाभांश दरसमेत निकै घट्न पुगेको छ । यसअघि कम्पनीले प्रतिकित्ता १ हजार २ सय ७० रुपैयाँसम्म लाभांश दिएको थियो । ब्लु–चिप कम्पनी मानिने युनिलिभरमा धेरै कमको लगानी छ । कम्पनीको अन्तिम कारोबार मूल्यसमेत १९ हजार ४ सय ४ रुपैयाँ छ । मर्जर प्रक्रियामा रहेका कारण आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार रोक्का राखिएको छ । आरम्भ चौतारी, सिवाइसी र शालिग्राम लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेका हुन् । 

 मेरो सेयर तीन घन्टा अवरुद्ध  
प्राथमिक सेयरमा आवेदन दिन प्रयोग हुने सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयरमा कन्फिगेरेसनको काम चलिरहेकाले आइतबार करिब ३ घन्टा लगानीकर्ताले सेयरमा आवेदन दिन पाएनन् । आइतबारबाट जनरल इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर निष्कासन भएको छ । १४ असोजसम्म सेयर आवेदन खुला गरिएको छ । आइतबार रातमा पनि मेरो सेयरमा काम हुने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भने । 

केही समय प्रणालीमा सुधारका कामहरू भइरहेकाले समस्या देखिइरहेको न्यौपानेले बताए । उनले भने, ‘तर, लगानीकर्ताले अन्य समयमा आवेदन दिन सक्छन् ।’ कम्पनीमा आवेदन दिने अवधि थप्ने–नथप्ने विषयमा भने अहिले कुनै निर्णय भएको छैन । यद्यपि, आइतबार नै कम्पनीले मागेबराबर रकमको आवेदन परिसकेको छ ।

ad
ad