१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
राेशन जनकपुरी
२o८१ बैशाख ३० आइतबार o९:४७:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बलात्कारको सामाजिक मनोविज्ञान

पीडिताले न्याय खोज्ने वेला सरकारी पक्षबाट गरिने लापर्बाही, उपेक्षा र दुव्र्यवहार नैतिकहीन सामाजिक चेतनाकै परिणाम हो

Read Time : > 5 मिनेट
राेशन जनकपुरी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:४७:oo

युवतीका निम्ति हाम्रो समाजमा यस्ता शब्द प्रयोग गरिन्छन्– च्वाँक, माल, पठ्ठी आदि । प्रायः युवावर्गको एउटा हिस्साले कुनै युवतीलाई देखेर यौनानन्द अनुभूत गर्न प्रयोग गरिने शब्द हुन् यी । यी शब्दहरूभित्र पुंसत्वप्रतिको गर्वभाव पनि मिसिएको छ । यो हाम्रो धार्मिकतामा स्त्रीका निम्ति प्रयोग गरिने वीरभोग्या अर्थात् शक्तिशालीले भोग्ने वस्तु (माल) को लौकिकीकरण हो । हाम्रा प्राचीन ग्रन्थमा स्त्रीलाई धनको श्रेणीमा राखिएको छ, जसलाई पुरुषले भोग्ने अधिकार राख्छ । 

धार्मिक ग्रन्थमा तपाईंले इन्द्रजस्ता देवताको स्तुति पनि भेट्टाउनुहुनेछ, जसले गौतमपत्नी अहिल्यालाई छल गरेर बलात्कार गरेका थिए । यस्तै पौराणिक ग्रन्थमा हिन्दूका आराध्य विष्णुले छलपूर्वक तुलसीवृन्दाको सतित्व भंग गरेको प्रसंग उल्लेख छ । प्राचीन हिन्दू धार्मिक ग्रन्थहरूमा यस्ता अनेकौँ प्रसंग छन् । यसरी छलपूर्वक अथवा बलपूर्वक स्त्रीसँग समागम गर्नुलाई आजको भाषामा बलात्कारी भन्ने गरिन्छ र यस्ताका निम्ति सामाजिक र कानुनी दुवै रूपमा दण्ड–सजायको व्यवस्था गरिएको छ । तर, पौराणिक कालमा छल वा बलपूर्वक स्त्रीसँग समागम गर्ने यी देवताहरू पूजनीय नै छन् ।

अझ विडम्बना के छ भने पुराण रचयिताले विष्णुले छलपूर्वक समागम गरेकी तुलसी वृन्दालाई आफ्नो प्रियाको रूपमा वैकुण्ठधाममा स्थान मात्र दिएनन्, विष्णुलाई अघ्र्यदान गर्दा तुलसीको पात (तुलसीवृन्दाको प्रतीक) हालेपछि मात्र त्यो अघ्र्य वा भोग शुद्ध हुने व्यवस्था गरे । पुराणकारका अनुसार यो तुलसीवृन्दाका निम्ति वरदान थियो । महाभारतमा शक्तिशाली राजा, महाराजा र वीर पुरुषले सुन्दर स्त्रीको अपहरण गरेर भिœयाउने अनेकौँ प्रसंग छन् । वर्तमान हिन्दू धर्मभीरु समुदायले आस्थापूर्वक यी पौराणिक कथाको ‘वाचन र श्रवण’ गरेर पुण्य प्राप्त गर्ने गर्छ । के हामी पारम्परिक रूपमै बलात्कारको संस्कृतिलाई महिमामण्डित गरिरहेका छौँ ?

वस्तुतः हामी सामाजिक मनोविज्ञानको दृष्टिले पुरातन र आधुनिकताको दोभानमा उभिएका छौँ । यस दोभानमा हामी एकातिर आधुनिक रूपमा प्रतिष्ठित हुन वैज्ञानिक प्रयोगको नजिक हुन चाहन्छौँ भने अर्कोतिर पौरुषेय पौराणिकतामा आफ्नो वीरत्व अर्थात् मर्दनापन पनि कायम राख्न चाहन्छौँ । पौरुषेय मिथक र इतिहासको लामो ऐतिहासिक यात्रामा हाम्रो व्यक्तित्व पनि फेरिएको छ ।

पौराणिक देवताजस्तै स्त्री हाम्रा लागि पनि कुनै स्वादिलो व्यञ्जन र स्वामी (मालिक)को अधिकारमा रहेको वस्तुजस्तै हो । स्वामित्वले जेसुकै गर्ने अधिकार दिन्छ । यसैकारण कुनै सुन्दर स्त्री हेर्दा हामीमा भोग्ने इच्छा बलियो हुन्छ र स्त्रीले अस्वीकार गरे हामी त्यसलाई बलपूर्वक प्राप्त गर्ने प्रयास गर्छौं । आधुनिक सामाजिक वर्जना र कानुनले यसलाई बलात्कार र अनैतिक कर्म र कानुनी अपराध भनेपनि हामीभित्रको त्यो पौराणिक पुरुष यसबाट प्रेरित भइरहन्छ ।

पात्रको रूपमा एउटा मात्र पुरुष देखिए पनि यो सामाजिक मनोविज्ञान हो, जसको स्रोत हाम्रो पारम्परिक विधान र शास्त्रमा लुकेको छ । कुनै युवकले कुनै युवतीलाई बलात्कार गर्दा पञ्चायत बोलाई आर्थिक प्रलोभन दिएर वा धाकधम्की दिएर होस्, गाउँघरमा नै मिलाउने प्रयास यस्तै पुरुषप्रधान सामाजिक मनोविज्ञानको परिणाम हो ।

धनुषा जिल्लाको रघुनाथपुरमा भएको एउटी युवतीको बलात्कारको घटनालाई पञ्चायत बोलाएर पीडितालाई १२ लाख रुपैयाँ दिएर गाउँमै मिल्न प्रलोभन दिएको र नमानेपछि अनेक धाकधम्की दिन थालेको भर्खरैको प्रसंग अहिले चर्चामा छ । हाम्रो समाज २१औँ शताब्दीमा पनि मध्यकालीन ग्राम्य संरचना तथा चेतनामा बाँचिरहेको यो सटिक उदाहरण हो ।

सामाजिक विवाद र अपराधको निरूपणका निम्ति वैध र कानुनी निकाय हुँदाहुँदै पनि बलात्कारजस्तो जघन्य अपराधमा पनि पञ्चायतले शक्तिशाली वर्गको पक्षमा फैसला दिने चलनलाई लज्जास्पद नै मान्नुपर्छ । यस्ता पञ्चायतमा स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधि पनि सामेल हुने गर्छन् । विडम्बना के छ भने बलात्कारजस्ता गम्भीर र कानुनी भाषामा फौजदारी अपराधमा समेत प्रहरीले गाउँमा मिलेको वा नमिलेको प्रतीक्षा गर्छ र नमिलेमा मात्र कानुनी प्रक्रिया अगाडि बढाउने गरेको पनि देखिएको छ ।

कतिपय अवस्थामा त यस्ता पञ्चायत प्रहरी कार्यालयमै हुने गर्छन् । तर, यस्तो स्थिति अधिकांश कमजोर पहुँचका पीडित पक्षले बढी भोग्नुपरेको देखिन्छ । यस दृष्टिले बलात्कारको दंश पनि अधिकतम् आर्थिक र सामाजिक रूपमा कमजोर पक्षले नै भोग्ने गर्छन् । विगतको निर्मला बलात्कार प्रकरण होस् वा अहिले चर्चामा रहेको बझाङकी सम्झना कामीको बलात्कार प्रकरण होस् वा केही दिनपहिले बलात्कृत छोरीको दोषीलाई सजाय दिलाउन जनप्रतिनिधि र प्रहरीमा अनेक प्रयत्न गर्दा पनि कसैले नसुनेपछि आत्महत्या गर्ने सप्तरीकी दलित समुदायकी आमाको प्रकरण होस्, सबैले यही तथ्यलाई प्रमाणित गर्छन् । 

बलात्कारको घटनामा पछि जे भए पनि पहिलो नजरमा स्त्रीमाथि नै दोष थोपर्ने मनोविज्ञान हामीभित्रको परम्परागत पुंसत्व हो । तर, अब यस पुंसत्वलाई पुँजीवाद र उपभोक्ता संस्कृतिले नयाँ किसिमबाट गढेको छ । ‘हिम्यान’, ‘माचोम्यान’, पुंसत्वका आधुनिक प्रशंसावाचक शब्द हुन् । अधिकांश विभिन्न बिलासी सामग्रीको प्रचारमा प्रयोग हुने यी शब्द सुगठित शरीर भएको र स्त्री सहजै आकर्षित हुने पुरुषका निम्ति प्रयोग हुने गर्छ । स्त्री यहाँ पनि पुरुषसँग लहराझैँ बेरिएर सौन्दर्यात्मक वस्तुको रूपमा प्रयोग भएकी हुन्छिन् ।

केही वर्षपहिले भारतीय पत्रिकामा नैन्डोज चिकेनको विज्ञापनमा यस्तो लेखिएको थियो– ‘तपाईं हाम्रा कम्मर छाम्नुस् वा स्तन वा फेरि हाम्रा तिघ्राहरू... हामी नराम्रो मान्दैनौँ । तपाईंलाई जे मन पर्छ, हामी तपाईंलाई नैन्डोजको सबै (अंग) खानुको मजा आफ्नो हातबाट लिन सल्लाह दिन्छौँ ।’ त्यस्तै दुई वर्षपहिले अमेजन इन्डियाको वेबसाइटमा गरिएको एउटा विज्ञापनमा चुरोटको खरानी झार्ने एउटा एस्ट्रेको तस्बिर यसरी प्रस्तुत गरिएको थियो, जसलाई हेर्दा एउटी नग्न युवती टबमा गोडा फट्याएर सुतिरहेकी जस्तो देखिन्थ्यो ।


नेपालमै कैयौँ रक्सीका विज्ञापनमा स्त्रीलाई अर्धनग्न र वासनात्मक मुद्रामा प्रस्तुत गरिएको देख्न सकिन्छ । स्त्री यहाँ पनि वीरभोग्या वस्तुको रूपमै प्रस्तुत गरिएको हुन्छ, जसले तपाईंलाई प्रयोग गर्न आमन्त्रण गरिरहेको हुन्छ । र, आधुनिकताका भ्रममा हामी यसलाई सहजभावमा हेरिरहेका हुन्छौँ । स्त्रीलाई वस्तुको रूपमा परिभाषित गर्नमा धर्म र पुँजीवाद समान देखिन्छन् । हामी यी दुवैलाई सहज भावमा आफ्नो प्रतिष्ठाको प्रतीक बनाएर गौरवान्वित हुने गर्छौं ।

यसरी विचार गर्ने हो भने हामी प्रकारान्तरले बलात्कारलाई सांस्कृतिक रूपमा स्वीकार गरिरहेका हुन्छौँ । वस्तुतः आवश्यक वा बिलासिता होस्, वस्तु उपभोगको बानी परिसकेका हाम्रा निम्ति धर्म होस् वा उपभोक्ता बजार, विविध सन्देशका माध्यमबाट हामीभित्र संस्कृतिका रूपमा अश्लील चिन्तन स्थापित गरिरहेकोप्रति हामी विचार नै गर्दैनौँ । 

७० को दशकमा अमेरिकामा सेकेन्ड वेभ फेमिनिज्म नामक महिलावादी आन्दोलन विकसित भइरहेका वेला ‘रेप कल्चर’ (बलात्कार संस्कृति) शब्दावलीको चलन सुरु भयो । यसको मुख्य अवधारणामा बलात्कारको मामिलामा पीडित महिलालाई नै दोषी ठहर्‍याउनु, महिलाको पहिरन र स्वतन्त्र विचरणलाई बलात्कारका निम्ति प्रेरक परिस्थिति मान्नु र बलात्कारीप्रति नै समर्थन देखाउनुजस्ता पुरुष प्रवृत्ति हो ।

स्त्रीलाई वस्तुको रूपमा परिभाषित गर्नमा धर्म र पुँजीवाद समान देखिन्छन् । हामी यी दुवैलाई सहज भावमा आफ्नो प्रतिष्ठाको प्रतीक बनाएर गौरवान्वित हुने गर्छौं । यसरी विचार गर्ने हो भने हामी प्रकारान्तरले बलात्कारलाई सांस्कृतिक रूपमा स्वीकार गरिरहेका हुन्छौँ ।

रघुनाथपुरको मामिलामा पीडितलाई आर्थिक प्रलोभन दिएर तथा धम्क्याएर दोषी पुरुषलाई बचाउन समुदाय नै लागेको देखिनुमा, सेकेन्ड वेभ मुभमेन्टले औँल्याएको ‘रेपकल्चर’को निहितार्थ देखिन्छ । यद्यपि यहाँ पात्रहरू पुँजीवादभन्दा पनि कबिलाई ग्राम्यचेतनाबाट प्रेरित देखिन्छ, जसले स्त्रीलाई पुरुषमातहतको मान्छ र अर्को जस्तोसुकै मामिला भए पनि ग्रामीण समुदायमा निप्टाउनु उचित ठान्छ ।

हाम्रो देशमा बलात्कारका विरुद्ध कानुन छन् र अधिकारवादी संस्था निरन्तर बलात्कारविरुद्ध संघर्ष गरिरहेका देखिन्छन् । कैयौँ मामिलामा दोषीलाई सजाय भएको पनि देखिन्छ । तर, पनि बलात्कारका घटना यसरी सहजै भइरहेका छन्, मानौँ यो समाजको स्वाभाविक चरित्र हो । यस्तो किन हो भने हामी हाम्रो चेतनाको विस्तार धार्मिकता र उपभोक्तावादी पुँजीवादभन्दा अगाडि लैजान चाहँदैनौँ ।

उपभोक्तावादी पुँजीवादले व्यक्तिलाई वस्तु र उपभोक्तामा र समाजलाई बजारको रूपमा मात्र चिन्छ, त्यसैले उसका निम्ति मानवीय अस्तित्व र नैतिकताको प्रश्न नै रहँदैन र धर्मले पुरुषमुनि स्त्रीलाई नैतिक नै देख्छ । यस्तोमा स्त्री अस्मिता र स्वातन्त्रीय र समाजको स्वाभाविक चरित्रमा परिणत नभएसम्म बलात्कारको मनोवैज्ञानिक अनुकूलता समाप्त हुन सक्दैन । तर, यसभन्दा पनि पहिले स्त्रीलाई पुरुषबराबरको हैसियतमा ल्याउन आर्थिक र सामाजिक रूपमा समृद्ध तुल्याउनु आवश्यक छ । किनभने बलात्कार सामाजिक र मनोवैज्ञानिक अपराध मात्र होइन, यसको एउटा अहं कारण आर्थिक असमानता र विभेदसँग पनि जोडिएको छ ।

अहिलेसम्मका बलात्कारका घटनामा अधिकांश दलित, उत्पीडित र सामाजिक राजनीतिक रूपमा कमजोर वर्ग र समुदाय नै सिकार भएका पाइएका छन् ।
अमेरिकी नारीवादी आन्दोलनमा भनिएजस्तै बलात्कार एउटा सामाजिक संस्कृति भन्नु ठीक हुँदैन । यसलाई एउटा सामाजिक आर्थिक रोग भन्नु उचित हुनेछ । तर, तपाईंलाई नैन्डोज चिकेन र नग्नयुवतीको तस्बिरसहितको एस्ट्रेले आकर्षित गर्छ भने निश्चय नै तपाईं समाजमा बलात्कारको रोगलाई संरक्षण दिने रोगीमध्ये एक हुनुहुन्छ । यस्तोमा रघुनाथपुरकी पीडितालगायत बलात्कारको घटनाको नैतिक दोषीमध्येमा एउटा तपाईं पनि हुने देखिन्छ ।

तपाईं मात्र होइन, कानुनी दण्डसजायमा मात्र हल खोज्ने र यसको सामाजिक नैतिक चेतनातर्फ नसोच्ने शासन पनि दोषी हुने देखिन्छ । पीडिताले न्याय खोज्ने वेला सरकारी पक्षबाट गरिने लापर्बाही, उपेक्षा र दुव्र्यवहार नैतिकहीन सामाजिक चेतनाकै परिणाम हो । कहिल्यै यस कोणबाट बलात्कारबारे सोच्नुभएको छ ? छैन भने अब सोच्नुस् ।

ad
ad