१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २१:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आकस्मिक बोलाइएको मन्त्रिपरिषद् बैठकमा के–के भयो ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २१:१o:oo

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठनबारे लगातार छलफल चलिरहेका वेला आइतबार बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक नियमित एजेन्डामा निर्णय गर्दै सकिएको छ । आकस्मिक बैठक केही नियमित एजेन्डामाथि निर्णय गर्दै करिब चालीस मिनेटमै सकिएको हो । 

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बोलाइने गरिए पनि मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–प्रचण्डबीच नियमित छलफल चलिरहेका वेला मन्त्रीहरूलाई एजेन्डा जानकारी नगराई आइतबार अपराह्न १२ बजे बालुवाटारमा बैठक बोलाइएको थियो । त्यसअघि अध्यक्ष प्रचण्डसँग छलफल गर्ने तय भएको जानकारी पाएका कारण सबैजसो मन्त्री प्रधानमन्त्री ओलीले पुनर्गठनको ‘स्टेप’ चाल्न लागेको अनुमानसहित बैठकमा सहभागी भएका थिए ।

मन्त्रीहरू तोकिएकै समयमा बालुवाटार पुगे पनि उनीहरूले करिब एक घन्टा प्रधानमन्त्री ओलीको पर्खाइमै बिताए । दिउँसो १ बजेपछि मात्र ‘क्याबिनेट’ हलमा प्रवेश गरेका प्रधानमन्त्रीले टिममा रहेर सहयोग गरकोमा आफूहरूलाई धन्यवादसहितको मन्तव्य दिन सक्ने अनुमान पनि गरेका थिए । 

तर, आइतबारको आकस्मिक बैठक अनुमान गरेभन्दा बिलकुलै भिन्न रह्यो । एक मन्त्रीका अनुसार बैठकस्थल प्रवेश गर्नासाथ प्रधानमन्त्री विगतको शैलीमा प्रस्तुत भएनन् । कम्तीमा २५ देखि ४० मिनेटसम्म मन्तव्यसहित बैठक सुरुवात गर्ने प्रधानमन्त्रीले आइतबारको बैठकमा भने बैठक सुरु गरौँ भन्दै मुख्यसचिवलाई नियमित एजेन्डा जानकारी गराउन निर्देशन दिए ।

‘प्रधानमन्त्रीले मन्तव्यविनै बैठक सुरु गर्दै मुख्यसचिवलाई बैठकका नियमित एजेन्डाहरू के–के छन् जानकारी गराउनुस् भन्दै निर्देशन दिनुभयो, त्यसपछि पालैपालो मन्त्रालयका एजेन्डाहरू प्रस्तुत भयो, त्यसपछि उहाँले यसो गरौँ भन्दै निर्णयहरू भए, त्यसपछि बैठक सकियो,’ ती मन्त्रीले नयाँ पत्रिकासँग भने, उहाँको अनुहारको भाव र शैली हेर्दा पुनर्गठनको प्रेसरमा रहनुभएजस्तो पनि देखिनुभएन ।’

बैठक सकिएपछि मात्र मन्त्रीहरूले चाल पाए– पुनर्गठनसम्बन्धी ओली–प्रचण्ड छलफल अझै परिपक्व भइसकेको रहेनछ । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग करिब साढे दुई घन्टा छलफल गरेका थिए । तर, उनीहरूबीच कतिवटा मन्त्रालय हेरफेर गर्ने र क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति नजुटेको बालुवाटार स्रोतले जनाएको छ । 

‘पूरै सेट होइन, रिक्त रहेका मन्त्रालयहरू पूर्ति गर्ने हिसाबले पनि होइन, उहाँहरू आवश्यकताको सिद्धान्तलाई ध्यान दिएर एक दर्जन आसपासमा मन्त्रीहरू परिवर्तन गर्ने गृहकार्यका लागि छलफलमा हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘पुनर्गठनबारे छलफल भइरहेको साँचो हो, सबै टुंगिसकेको छैन, त्यसैले समझदारी जुट्नेबित्तिकै जुनसुकै वेला मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ ।’ 

आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ । केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रूपमा कार्यरत भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।

त्यस्तै, बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता अनुमोदन गरेको छ । मन्त्रिपरिषदको बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो ।
 

ad
ad