१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ७ बुधबार
  • Monday, 07 July, 2025
२o७७ असोज ७ बुधबार २o:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवागढी नाका हुँदै सामान भित्रन थाल्यो, बिहीबारदेखि नियमित हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ७ बुधबार २o:o७:oo

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चीनले स्वास्थ्य सामग्री नेपाल पठाएको छ । नाकामा काम गर्ने कामदारमा कोरोना देखिएपछि बन्द गरेको चीनले बुधबार आफ्नो एउटा गाडीमा स्वास्थ्य सामग्री नेपाल पठाएको हो । 

चिनियाँ एउटा गाडीमा आएको सामान नेपाली दुईवटा कन्टेनरमा लोड गरिएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख पुन्यविक्रम खड्काले बताए । ‘व्यावसायिक प्रयोजनका लागि आएको स्वास्थ्य सामग्री रहेछ, व्यवसायीहरूले नै स्वास्थ्य सामग्री ल्याएका हुन्,’ उनले भने । 

उक्त सामग्रीको बुधबार नै भन्सार जाँचपास भएकोसमेत उनको भनाइ रहेको छ । एकतर्फी नाका सञ्चालन गरेको चीनले नाकामा काम गर्ने मजदुरमा देखिएको कोरोना संक्रमणलाई लिएर तीन सातादेखि नाका बन्द गरेको थियो । 

चीनले न्यून सामग्री आयात गर्दै आएको र पछिल्लो समय नाका खुलाउन चासो नदेखाएपछि पछिल्लो समय परराष्ट्र मन्त्रालयमार्फत नाका सञ्चालन गर्नका लागि पहल सुरु भएको छ । 
नेपालतर्फ नै चिनियाँ गाडीले सामान झार्ने व्यवस्था मिलाउन ल्हासाबाट आएको एक टोलीले बुधबार नेपालतर्फको यार्डको अवलोकनसमेत गरेका छन् । अब नियमित रूपमा सामान आयात गर्न चीन लागिपरेको चिनियाँ पक्षले बताएको भन्सार प्रमुख खड्काले बताए । 

बिहीबारदेखि दैनिक पाँच गाडी सामान नेपाल भित्र्याउने चिनियाँ पक्षले जानकारी गराएकोसमेत खड्काले बताए । उनले भने, ‘बिहीबारदेखि नियमित पाँचवटा गाडीमा सामान ल्याउँछौँ भनेर चिनियाँ पक्षले भनेका छन्, थप सामान ल्याउन, थप बढाउने भन्ने विषयमा पुनः छलफल गर्नुपर्ने देखिन्छ ।’ 

नियमित रूपमा नाका सञ्चालन नहुँदा केरुङमा नाै महिनादेखि सामान रोकिएका छन् । जसले गर्दा व्यापारीहरू मर्कामा परेका छन् ।  कोरोना भाइरस  संक्रमणको महामारीबीच एकतर्फी सञ्चालनमा आएको रसुवागढी नाकामा नजिकिएको चाडबाडका मुखमा समेत नियमित सञ्चालन नहुनु दुःखद रहेको व्यापारीले बताएका छन् । कोरोना भाइरसका कारण माघ १५ गतेदेखि असार २७ गतेसम्म नाका बन्द गरिएको थियो । त्यसयता पनि नाकामा नियमित कारोबार हुन सकेको छैन । 

एकतर्फी रूपमा नाका सञ्चालन गरेको चीनले यसअघि दैनिक आफ्नो चारवटा गाडीमा रसुवागढी नाकाको मितेरीपुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको थियो ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन् । मितेरी पुलमा सामग्री लोड–अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट लगाएका कामदार खटिएका छन् । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटाएका छन् । मितेरी पुलसम्म आइपुगेको सामान १५ जना कन्टेनरचालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुऱ्याउने काम गर्छन् । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजाने गरेका थिए ।