मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १८:oo:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा देउवाविरुद्ध पौडेल पक्षको हस्ताक्षर अभियान

देउवाविरुद्ध हस्ताक्षर गर्न पौडेल पक्षका २७ केन्द्रीय सदस्यको सूची तयार, सभापतिलाई बुझाउनुअघि सिटौला पक्षका पाँच केन्द्रीय सदस्यलाई पनि सहभागी गराउन पहल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

१४औँ महाधिवेशनको नतिजा आफ्नोअनुकूल गराउन विधानविपरीतका काम गरेको भन्दै नेता रामचन्द्र पौडेल समूह सभापति शेरबहादुर देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुटेको छ । आफ्नो समूहका २७ केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिसकेको पौडेल समूह कृष्‍णप्रसाद सिटौला समूहलाई समेत जोडेर देउवामाथि थप दबाब बनाउने रणनीतिमा छ ।

सभापति देउवाले ‘विधानविपरीत चालेका’ कदमको समेत डकुमेन्ट तयार पारेको पौडेल समूहले आफ्नाबाहेक सिटौला समूहका पाँच नेताको सूची तयार गरेको छ । सिटौलालाई समेत सहमत गराएर ३१ जनाको हस्ताक्षर सभापति देउवालाई बुझाउने पौडेल समूहको तयारी छ । सिटौला समूहमा पाँच केन्द्रीय सदस्य छन् । तर, सिटौलाले हस्ताक्षर नगर्ने बताएका छन् ।

पौडेल समूहले महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले समायोजन, विभाग, क्रियाशील सदस्यता र भ्रातृ संस्थामा मनोमानी गरेको विषय समेटेर डकुमेन्ट बनाएको छ । यही डकुमेन्टसहित पहिला केन्द्रीय सदस्यको हस्ताक्षर सभापतिलाई बुझाउने र त्यसपछि पार्टी केन्द्रमा दर्ता गराएर महाधिवेशनसम्मै लैजाने पौडेल समूहको तयारी छ ।

‘केन्द्रीय समितिमा अल्पमत पक्षको कुरा नसुनी एकलौटी रूपमा अघि बढ्ने, समायोजन, विभाग, सदस्यता र भ्रातृ संस्थामा मनोमानी गर्ने र महाधिवेशन प्रभावित गर्ने योजना बनाएपछि हस्ताक्षर अभियानमा जुटेका हौँ,’ पौडेल समूहका एक नेता अर्जुननरसिंह केसी भन्छन्, ‘लिखित रूपमा सभापतिलाई बुझाएर हाम्रा मुद्दा महाधिवेशनसम्मै लग्‍ने तयारीमा छौँ ।’

अभियानमा सिटौलासहित उनको समूहमा रहेका नेताहरू गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईंलाई पनि समेट्ने पौडेल समूहको योजना छ । केही दिनअघि पौडेल समूहले आयोजना गरेको जुम मिटिङमा थापा, पौडेल र चौधरी सहभागी थिए । सिटौला समूहमा प्रभावशाली नेता भएकाले उनीहरूलाई समेत सहभागी गराउन सकिए देउवामाथि दबाब बनाउन सकिने पौडेल समूहको बुझाइ छ ।

तर, पौडेल समूहको अभियानलाई सिटौलाले अझै समर्थन गरेका छैनन् । देउवाविरुद्ध लाग्‍न झापामा रहेका नेता सिटौलालाई पौडेलसहितका नेताहरूले तारन्तार सम्पर्क गरिरहेका छन् । सिटौला स्वयं साँघुरो कार्यतालिका ल्याएको भन्दै संस्थापन र पौडेल समूहसँग रुष्‍ट छन् ।

 सिटौला भन्छन्- झगडा गर्ने हस्ताक्षर अभियान चलाउने होइन, कार्यसमिति बैठक बोलाएर नयाँ कार्यतालिकाअनुसार अघि बढ्नुपर्छ । हामी यस्तो हस्ताक्षर अभियानमा सहभागी हुँदैनौँ ।

‘पहिले सभापति र सबै पदाधिकारी मिलेर कार्यतालिका ल्याउनुभयो । कार्यतालिकामाथि छलफल हुँदा तालिकाअनुसार महाधिवेशन सम्भव छैन भनेर हामीले भन्यौँ । थप समय लिएर भए पनि महाधिवेशन गरौँ भन्यौँ,’ सिटौलाले नयाँ पत्रिकासँग भने, ‘तर, कार्यतालिका साँघुरो गरी ल्याउँदा न काम भयो न महाधिवेशन हुने भयो । अब बाहिर झगडा गरेर र एकले अर्कोलाई हिलो छ्याप्दा कांग्रेस झन् कमजोर हुन्छ ।’

पार्टीका फोरमबाहिर झगडा गर्ने, हस्ताक्षर गर्नेजस्ता अभ्यासले महाधिवेशन झन् अन्योलमा पर्ने सिटौलाको भनाइ छ । ‘झगडा गर्ने हस्ताक्षर अभियान चलाउने होइन, कार्यसमिति बैठक बोलाएर नयाँ कार्यतालिकाअनुसार अघि बढ्नुपर्छ । हामी यस्तो हस्ताक्षर अभियानमा सहभागी हुँदैनौँ,’ सिटौलाले भने ।

पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्मा भन्छन्- पार्टीमा विभिन्न फरक मत प्रकट हुनु स्वाभाविक हुन्छ । तर, यस्ता मतलाई बैठकमै राखेर साझा धारणा बनाएर अघि बढ्दा सबैको हितमा हुन्छ । औपचारिक फोरमबाट समाधान गर्न सकिन्छ । 

संस्थापन पक्षले भने फरक मत केन्द्रीय समितिबाट हल गर्न सकिने बताएको छ । ‘१९ असोजमा केन्द्रीय समितिको विधिवत् बैठक बस्दै छ । बैठक महाधिवेशनकै तयारी सन्दर्भमा बस्न लागेको हो । पार्टीमा विभिन्न फरक मत प्रकट हुने कुरा स्वाभाविक हुन्छ । तर, यस्ता मतलाई बैठकमा राखेर साझा धारणा बनाएर अघि बढ्दा सबैको हितमा हुन्छ । पार्टीको औपचारिक फोरमबाट समस्या भए पनि समाधान गर्न सकिन्छ,’ पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले भने, ‘७७ मध्ये अब आधा दर्जन जिल्लामा मात्र समायोजन बाँकी छ । एउटा वडाको बाँकी भएको जिल्लालाई पनि गणनामा राखेका छौँ । समायोजन सकिएको जिल्लामा सदस्यता वितरणको काम भइरहेको छ । निषेधाज्ञा नभएका र कोरोनाले धेरै प्रभाव नपारेका जिल्लामा सदस्यता वितरण भइरहेको छ । सहमतिमै काम भएका छन् ।’

पौडेल समूह सिटौला समूहसँग मतभेद नरहेको दाबी गर्छ । ‘सभापतिले विधान मिच्दै महाधिवेशनको मुखमा चालेका कदममा हामी र सिटौलाजीबीच मतभेद छैन,’ नेता केसीले भने, ‘उहाँहरूसँग हामी छलफलमा छौँ । संयुक्त हस्ताक्षर हुन्छ भन्नेमा आशावादी छौँ । नभए पनि हामी विकल्पमा लाग्छौँ ।’

उता सिटौला समूह महाधिवेशन गर्न नसकिने गरी कार्यतालिका ल्याएकोमा देउवा र पौडेल समूहले माफी माग्‍नुपर्ने पक्षमा छ । ‘साउनसम्म क्रियाशील सदस्यताको टुंगो लगाउने भन्ने थियो । तर, एक जिल्लाले पनि सकेनन् । पौडेलजीको होल्ड रहेको भनिएका ४५ जिल्लामा पनि सकिएन । आफूले पनि नसक्ने अनि सभापतिलाई मात्रै दोष दिएर हुँदैन,’ सिटौलाले भने, ‘अब यस्तोमा कार्यसमिति बोलाएर छलफल गर्नुपर्छ । गलत कार्यतालिका बनाएकोमा पदाधिकारीले माफी माग्‍नुपर्छ ।’

महाधिवेशन गर्नुपूर्व सबैभन्दा पहिले गर्नुपर्ने काम आन्तरिक समायोजन हो । तर, अझै १३ जिल्लामा समायोजन टुंगिसकेको छैन । प्रदेश २ मा मात्रै महोत्तरीबाहेक सात जिल्लाको समायोजन बाँकी छ । समायोजन नटुंगिँदा सदस्यता वितरण रोकिएको छ ।

अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको समायोजन सभापतिले मनोमानी गरेको केन्द्रीय सदस्य जीवन परियारले बताए । चुनाव जित्न मनपरी सदस्यता वितरण भएकोसमेत उनले दाबी गरे ।

उपसभापति विमलेन्द्र निधिको समितिले समायोजनका नाममा मनोमानी गरेको पौडेल समूहको आरोप छ । केन्द्रीय विभागको ढिला गठन र नेविसंघ, तरुण दल, दलित संघ, किसान संघसहितका नौ भ्रातृ संस्थाको म्याद ६ महिना थपेकोमा पौडेल-सिटौला समूह असन्तुष्‍ट छ ।

निरन्तरको विरोधले पनि रोकिएनन् देउवा
सभापतिको हरेक निर्णय र कदमको विरोध भइरहे पनि महाधिवेशन नजिकिँदा सभापति देउवाले संगठनात्मक गतिविधिलाई रोकेका छैनन् । महाधिवेशनको मुखमा विभाग गठन गर्न नहुने भन्दै आलोचना भए पनि सभापति देउवाले आफूनिकटका नेतालाई समेटेर केन्द्रीय विभाग गठन गरिरहेका छन् । दुई दर्जनभन्दा बढी केन्द्रीय विभागमा विभागीय जिम्मेवारी दिएका देउवाले त्यस्ता विभागमा सदस्यहरू थप गरिरहेका छन् ।

सोमबार मात्र देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनोनीत गरेका छन् । इतर पक्षले विभागमा बस्न अस्वीकार गरे पनि देउवाले आफूनिकटकालाई मात्रै विभागीय जिम्मेवारी र सदस्यमा मनोनीत गर्दै आएका छन् । महाधिवेशन नजिकिँदा प्रभावित पार्ने उद्देश्‍यअनुरूप यस्ता गतिविधि नगर्न पौडेल पक्षले दुईपटकसम्म सभापतिलाई भेटेरै लिखित रूपमा आग्रह गरिसकेका छन् ।