१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मुना कुँवर काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:१४:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोरोना बिमामा विवादास्पद नीति : १ लाखको बिमा गर्दा २५ हजार भुक्तानी

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:१४:oo

कोरोना बिमा गर्नेले अब उपचार खर्च मात्रै पाउने, त्यसमा पनि होम आइसोलेसनमा बस्नेले अधिकतम २५ हजार मात्रै, अस्पताल भर्ना हुँदा ७५ प्रतिशतसम्म उपचार खर्च

अब १ लाखको कोरोना बिमा गर्नेले बिमांकबराबर होइन, जम्मा २५ हजार रुपैयाँ लिएर चित्त बुझाउनुपर्ने भएको छ । बिमा समितिले आइतबार कोरोना बिमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो । त्यस्तै, अस्पताल भर्ना भएर उपचार गर्नेले अधिकतम् ७५ प्रतिशतसम्म मात्रै खर्च दिने व्यवस्था गरेको छ । अर्थात्, कुनै बिरामी अस्पताल भर्ना भएर उपचार गर्दा २० हजार खर्च भयो त्यति मात्रै दाबी भुक्तानी गर्नेछ । ५० हजारको बिमा गर्नेले अधिकतम साढे ३७ हजार र १ लाखको बिमा गर्नेले ७५ हजार रुपैयाँ मात्रै प्राप्त गर्नेछन् । जबकि, यसअघि कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै जतिको बिमा गरेको हो, त्यति नै रकम संक्रमित वा परिवारलाई दिने व्यवस्था थियो ।  

गत वैशाख पहिलो सातादेखि सञ्चालन गरिएको कोरोना बिमा योजनामा बिमित संक्रमित हुनेबित्तिकै नगद प्रदान गर्ने व्यवस्था थियो । तर, पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि समितिले आइतबार कोरोना बिमा मापदण्ड संशोधन गर्दै राहत रकम र अस्पताल भर्ना खर्च मात्रै भुक्तानी गर्ने व्यवस्था गरेको हो । तर, नयाँ व्यवस्थाअनुसार संक्रमितले दाबी भुत्तानी पाउने प्रक्रियालाई झनै जटिल बनाइएको छ । होम आइसोलेसनमा बसेका संक्रमितले राहत रकमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखका साथै स्थानीय निकायको सिफारिससमेत पेस गर्नुपर्नेछ । त्यस्तै, अस्पतालमै उपचाररत संक्रमित बिमितले भर्ना तथा डिस्चार्ज भौचर पेस गर्नुपर्नेछ । 

कोरोना बिमाको राहत तथा अस्पताल भर्ना खर्च लिन संक्रमित आफैं बिमा कम्पनीहरूमा जानुपर्ने भएको छ । समितिले कोरोना बिमा मापदण्ड परिमार्जन गर्दै संक्रमितलाई मात्रै दाबी भुक्तानी दिइने व्यवस्था गरेको हो । संक्रमितको मृत्यु भएको अवस्थामा मात्रै इच्छाएको वा कानुनी मान्यता पाएको नातेदारले भुक्तानी पाउने व्यवस्था छ । यसअघिको व्यवस्थामा संक्रमितको परिवारले कम्पनीमा दाबी भुक्तानी पाउँथ्यो । यसअघि बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना संक्रमितलाई पौष्टिक आहारको आर्थिक सहयोग हुने भन्दै संक्रमणलगत्तै रकम दिने गरी कोरोना बिमा सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । तर, अब भने बिमित संक्रमणमुक्त भएपछि वा मृत्यु भएपछि मात्रै भुक्तानी पाउने व्यवस्था समितिले गरेको छ । 

त्यस्तै, अब बिमा गरेको एक महिनासम्म संक्रमित हुनेले दाबी भुक्तानी नपाउने भएका छन् । यसअघि १५ दिनसम्म संक्रमित भए कोरोना बिमा लागू नहुने व्यवस्था थियो । त्यस्तै, बिमित विदेश गएको छ भने फर्किएको एक महिनासम्म बिमाले काम नगर्ने व्यवस्थासमेत गरिएको छ । यसअघि त्यसमा पनि १५ दिनको व्यवस्था थियो । 

बिमा समितिले यसअघिदेखि नै कोरोना संक्रमितले दाबी भुक्तानी नदिन कम्पनीहरूलाई उक्साउने गरी नीतिहरू परिमार्जन गर्दै आएको छ । यसपटक समेत गरी समितिले पाँच महिनामा तीनपटक पोलिसी संशोधन गरिसकेको छ । तर, बिमा समितिका विज्ञ भोजराज शर्मा भने परिवेशअनुसार पोलिसी परिवर्तन हुँदै जानु स्वाभाविक रूपमा लिनुपर्ने बताउँछन् । बिमा समितिले पहिला बिमांक रकम दिने भनेर बिमा पोलिसी सञ्चालन ग¥यो, अहिले राहत र उपचार खर्च दिन्छु भन्नु ठगी होइन र ? भन्ने प्रश्नमा विज्ञ शर्माले भने, ‘हिजोका दिनमा बिक्री भएका पोलिसीमा कुनै परिवर्तन हुँदैन, नयाँ पोलिसीका बारेमा मलाई थाहा छैन ।’ 

अर्कातिर, अब एकजना मात्रैले कोरोना बिमा नै गर्न नपाउने व्यवस्था समितिले गरेको छ । अबदेखि जारी हुने पोलिसी परिवार र संस्थागत मात्रै हुने र अवधि आगामी असारसम्मको मात्रै हुनेछ । 

कोरोना बिमा बन्द गर्दै बिमा कम्पनीहरू 
निर्जीवन बिमा कम्पनीहरूले धमाधम कोरोना बिमा पोलिसी बिक्री गर्न बन्द गर्न थालेका छन् । संक्रमितको संख्या बढेपछि कम्पनीहरू पछाडि हटेका हुन् । परिवारको बिमा गर्न खोज्दा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बिमा नगर्ने बताएको काठमाडौंका चित्रबहादुर केसीले बताए । ‘मैले परिवारको नै कोरोना बिमा गर्न खोजेको हो । तर, लुम्बिनी इन्स्योरेन्सले कोरोना बिमा बन्द गरिसकेको बतायो,’ उनले भने । लुम्बिनी इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विके महर्जनले पनि नयाँ क्लाइन्टलाई बुझाउन नसकिने भएकाले केही समयलाई बिमालेख जारी गर्न रोकेको बताए । उनले भने, ‘बिमा समितिले दिन–प्रतिदिन प्रावधान परिवर्तन गरिरहेको छ । नयाँ मानिसलाई यो बुझाउन पनि सकिँदैन । त्यसैले नयाँलाई रोकेको हो ।’

सोमबारदेखि लागू हुने पोलिसीका विषयमा म भन्न सक्दिनँ : चिरञ्जीवी चापागाईं, अध्यक्ष, बिमा समिति


बिमा समितिले कोरोना बिमासम्बन्धी निर्देशिका तीनपटक परिमार्जन गरिसक्यो । नयाँ मापदण्डअनुसार बिमांकअनुसार भुक्तानी नगर्ने, उपचार खर्च मात्र दिने व्यवस्था गरिएन । यस्तो गर्न पाइन्छ ?

यसको बारेमा मलाई केही पनि थाहा छैन । बिमा कम्पनीले चाहे भने कुनै पनि पोलिसी बन्द गर्न वा जारी गर्न पाउँछन् । बिमा समितिको स्वीकृति लिएर वा ६ महिना पोलिसी बन्द गरेपछि समिति आफैँले पोलिसी बन्द गरिदिन सक्छ । बिमा कम्पनीले यस्ता कति पोलिसी बन्द गरेका छन् । त्यसको हिसाब मसँग खोजेर हुन्छ ? 

कम्पनीहरूले चाहे भने कोरोना बिमा पोलिसी पनि बन्द गर्न पाउँछन् भन्ने हो ?

यो पोलिसी बन्द गर्न पाउँदैनन् । यो त नेपाल सरकारको अनुदानमा सञ्चालन भएको पोलिसी हो । यसलाई बन्द गर्न पाउँदैनन् । 

तपाईं आफैँले कम्पनीले चाहे भने बन्द गर्न पाउँछन् भन्नुभयो अनि फेरि यो पोलिसी बिक्री गर्न पाउँदैनन् भन्नुभयो । कुरा अलि स्पष्ट भएन नि ? 

मलाई थाहा छैन । यस विषयमा मलाई केही नसोध्नुहोस् ।

कोरोना बिमा पोलिसी सञ्चालन गर्दा तपाईं आफैँले संक्रमण देखिनेबित्तिकै दाबी भुक्तानी गर्ने, त्यसो हुँदा बिमा रकमले संक्रमितले पौष्टिक आहार खान आर्थिक सहयोग हुन्छ भन्नुभएको थियो । तर, नयाँ मापदण्डले संक्रमित निको भएपछि वा मृत्यु भएमा मात्र दाबी पाउने भए त ?

यसअघि जारी भएका १३ लाख बिमा पोलिसी होल्डरले त्यो सुविधा पाउँछन् । सोमबारदेखि लागू हुने विषयमा म भन्न सक्दिनँ । 

३५ हजारभन्दा बढी दाबी परेमा सरकारले दायित्व वहन गर्ने भन्नुभएको थियो । तर, अर्थ मन्त्रालयले त यसमा सहमति जनाएको छैन भन्छ त ?

यस विषयमा म केही बोल्दिनँ । जसले भन्नुभएको हो, उहाँलाई गएर सोध्नुहोस् ।

बिमा कम्पनीहरूले पोलिसी नै जारी गर्न छोडेका छन् । त्यसमा बिमा समितिको धारणा के हो ? 

कसले जारी गर्न छाडेको हो, त्यसको नाम दिनुहोस्, म स्पष्टीकरण लिन्छु । 

ad
ad