
युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियाअन्तर्गत शान्तिसेनामा जान लागेका सैनिक जवानहरूमा कोरोना पुष्टि भएपछि आइतबार हुनुपर्ने उडान स्थगित भएको छ । लिबियामा कार्यरत रहेको फौज बदली गर्न जान लागेका केही जवानलाई संक्रमण पुष्टि भएपछि रोटेसन उडान स्थगित भएको हो । तालिम समाप्त गरेर क्वारेन्टिनमा बसेकामध्ये केहीलाई परीक्षण गर्दा कोरोना देखिएको सेनाले जनाएको छ ।
लिबिया जाने टोलीमा छनेट भएका फौजको तालिम सम्पन्न भइसकेको थियो भने उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो । उडानपूर्व परीक्षण गर्ने क्रममा केही जवानलाई कोभिड– १९ देखिएपछि आइतबर जानुपर्ने चार्टर्ड उडान स्थगित भएको छ ।
कोरोना पोजेटिभ देखिएका सैनिकको सम्पर्कमा रहेकाहरूलाई कन्ट्र्याक्ट ट्रेसिङ गर्ने र सबैको पुनः स्वास्थ्य परीक्षण गरेपछि रोटेसन उडानको मिति तय हुने नेपाली सेनाले विज्ञप्तिमा जनाएको छ । लिबियामा दुई सय २८ जना फौज र एकजना सैनिक पर्यवेक्षक गरी दुई सय २९ जना नेपाली सैनिक कार्यरत छन् ।