१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
डा. गोविन्दराज पोखरेल
२o८१ जेठ १ मंगलबार o९:४१:oo
Read Time : > 6 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेस पक्कै जाग्छ

अब देशका लागि, लोकतन्त्रका लागि र जनताको जनजीविका एवं समुन्नतिका लागि कांग्रेस फेरि जाग्छ

Read Time : > 6 मिनेट
डा. गोविन्दराज पोखरेल
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:४१:oo

मुलुकको राजनीति, यसभित्र विद्यमान बेथिति र त्यसले समाजमा पार्ने असरबारे लामो समयदेखि कलम चलाउँदै आउनुभएका पुरञ्जन आचार्यको कांग्रेसका कमजोरी केलाउँदै र जनताले अझै कांग्रेसमा देखाएको भरोसाका बारेमा विवेचना गर्दै ‘के कांग्रेस जाग्ला’ शीर्षकको लेख नयाँ पत्रिकामा पढ्न पाइयो । केही समययता कांग्रेसका बारेमा धेरै बुद्धिजीवीले कलम चलाइरहनुभएको छ । सबैले कांग्रेसलाई कमी–कमजोरीको समीक्षा गरी अहिलेको परिवर्तित समाजको चाहना, वर्तमान सरकारको नीतिले गर्दा देशको खस्किँदो अर्थतन्त्र र यसले विशेषगरी गरिखाने वर्ग, युवा र निजी क्षेत्रमा पारेको असर, हाम्रो कूटनीतिमा र लोकतान्त्रिक प्रणालीमा परेको आघातलाई सम्बोधन गर्न विकल्पसहित जनताको भलोका लागि कांग्रेसले केही कदम चालोस् भन्ने मनसाय बुझिन्छ । इतिहासमा कांग्रेसका नेता र कार्यकर्ताले लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न गरेको त्याग, सदाहत र धैर्यलाई मनन गरेरै यस्ता विचार मूल धारका मिडियाका साथै सामाजिक सञ्जालमा आएका छन् । आफैँ लगानी गरेर आफ्नै नेतृत्वको सरकारका कमजोरी उजागर गराउने संस्कार बसाल्नुभएका बिपीको पार्टीका हामी कार्यकर्ताले समाजमा स्वस्फूर्त रूपमा विश्लेषक, सामाजिक अभियन्ता र बुद्धिजीवीबाट आएका सुझाब, आलोचना र खबरदारीलाई सम्मान र ग्रहण गर्नु लोकतान्त्रिक संस्कार पनि हो ।

गणतान्त्रिक नेपालमा जनताले चुनेका नेताले नै सर्वेसर्वा हुने मौका पाएका छन् । गणतन्त्र घोषणा गरेपश्चात्का निर्वाचनबाट गठन भएका सरकारले यही भदौ १९ सम्ममा करिब चार हजार चार सय दिन मुलुकको राज्य संयन्त्रको बागडोर सम्हालेका रहेछन् । जसमध्ये कम्युनिस्ट प्रधानमन्त्रीले करिब तीन हजार दुई सय पाँच दिन नेतृत्व सम्हालेका रहेछन्, जुन झन्डै ७३ प्रतिशत समय हुँदो रहेछ । जबकि कांग्रेसका नेताहरू जम्मा आठ सय ६१ दिन (करिब २० प्रतिशत समय) प्रधानमन्त्री भएका रहेछन्, जुन वेला संघीयता र समावेशितासहितको संविधान घोषणा भयो र निर्वाचनमार्फत संविधान कार्यान्वयन पनि भयो । तर, देशमा भएका नकारात्मक कुराजति कांग्रेसले गरेको भनेर गोयबल्स शैलीमा कम्युनिस्ट साथीहरूले जनतामाझ बेच्नुभएको छ ।

कांग्रेसले संवैधानिक राजतन्त्रको कालखण्डमा सत्ताको बागडोर चलाउँदा गरेकामध्ये निजी क्षेत्रको विकास, ग्रामीण भेकमा शिक्षा र स्वास्थ्यका संरचना, पर्यटन, सामुदायिक एवं कबुलियत वन, जलविद्युत्मा निजी क्षेत्र, सहकारी, बैंकिङ र पूर्वाधार क्षेत्रमा राम्रा काम नभएका होइनन् । तर, हामीले बस्ती–बस्तीमा पुगेर बताउन चुक्यौँ । हामीबाट केही ठाउँमा सुशासन कायम गर्न, योग्यता र क्षमताको कदर गर्न, समाजका हरेक वर्गको रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक अधिकारको मागलाई सम्बोधन गरी निष्कर्षमा पुर्‍याउन, निष्पक्ष हुनुपर्ने संस्थामा राजनीतीकरण हुनबाट रोक्ने काममा कमजोरी भएकै हो । साथै शक्तिका लागि अलोकतान्त्रिक शक्तिसँग आन्दोलनमा या सत्तामा गठजोडमा बिपीको विचारभन्दा पर पुगेको आरोप पनि लागेकै छ । यी सब कमी–कमजोरीलाई आगामी दिनमा सुधारेर जानेछौँ भन्ने जनताले विश्वास गर्ने गरी भरोसा दिलाउन पार्टी नेतृत्वको ठूलो भूमिका हुने भएकाले आगामी महाधिवेशन हाम्रा लागि ठूलो चुनौतीको क्षण छ । 

पार्टीको मनोनीत हुने हरेक ठाउँमा र केन्द्रीय सदस्यमा केही प्रतिशत विभिन्न पेसा र विज्ञताबाट सिधै पार्टीमा आउन चाहने प्रबुद्ध वर्गका लागि खुला राखिनुपर्छ । यसले नयाँ विचार, नयाँ सोच र नयाँ अनुभवबीच बहस गराउनेछ ।

जनसंख्याको करिब ४० प्रतिशत युवा भएको देश भए पनि विप्रेषण र आयातमा धानिएको अर्थतन्त्र, बुढ्यौली समाज हुनुभन्दा अगाडि नै दिगो समुन्नति तीन दशकभन्दा कम समयमा हासिल गर्नुपर्ने चुनौती, राज्यले प्रदान गर्ने सेवा–सुविधामा सबैको न्यूनतम आवश्यकताका लागि पनि पहुँचमा असमानता, राज्यका विभिन्न संरचना र संस्थामा चरम राजनीतीकरण र भ्रष्टीकरणले साधारण जनतामा समेत राजनीतिक दल र सरकारी प्रणालीप्रति ल्याएको वितृष्णा, क्षणिक राजनीतिक फाइदाका लागि गिजोलिदिएको हाम्रो कूटनीति, उत्प्रेरणा प्राप्त गर्न नसकेका लगानीकर्ता, समाजमा बेरोजगारी, विभेद र विभिन्न प्रकारका हिंसालगायत चुनौतीबाट पार पाउन धेरै विश्लेषक साथीहरूले भनेजस्तै राजनीतिक दल, तिनको नेतृत्व र तिनले विकास गर्ने नीतिगत संरचना एवं नीतिको सफल कार्यान्वयन प्रणालीमा व्यापक रूपान्तरणविना सम्भव छैन । लामो राजनीतिक संस्कार बोकेको कांग्रेसमा पनि व्यापक सुधारको खाँचो टड्कारो देखिएको छ, जुन अब आउने महाधिवेशनबाट नेतृत्व गर्न खोज्नेले बुझ्न जरुरी छ । यसका लागि हामीले कस्तो नेतृत्व, कस्तो एजेन्डा र संगठन बनाउँछौँ, त्यसमा भर पर्छ ।

समाधानका मूल एजेन्डा : वर्तमान सरकारले आफ्नो स्वार्थ पूरा गर्न लोकतान्त्रिक प्रणालीलाई बंग्याउन लागेको देखिएकाले यसलाई क्षयीकरण गर्नबाट जोगाउन मुलुकमा सुशासन र लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई अक्षुण्ण राख्न कांग्रेसले शान्तिपूर्ण तवरले सदन, सडक र बस्ती–बस्तीमा चेतना अभिवृद्धि गर्दै गलत कामको सशक्त प्रतिरोध गर्नुपर्छ । लोकतन्त्रका आधार भत्काउन, ल्याउन खोजिएका सम्पूर्ण विधेयक संसद्बाट पास हुन दिनु हुँदैन ।

कोरोना र कोरोनाभन्दा अघि वर्तमान सरकारका अक्षमताले खस्किँदो देशको आर्थिक अवस्था र युवा बेरोजगारीको समस्या समाधानका लागि सबै प्रकारका उत्पादन एवं सेवा क्षेत्रमा लगानी वृद्धि गर्ने नीतिगत र संस्थागत माहोल सिर्जना गर्ने उपायमा पार्टीले आफ्नो धारणा चाहे प्रतिपक्षमा हुँदा होस् या सरकारमा हुँदा, जनतालाई जानकारी गराउने संस्कारको विकास गर्नुपर्छ, जुन यसपटक पार्टीले सुरुवात पनि गरेको छ । अहिलेको प्रतिस्पर्धात्मक स्वतन्त्रताको अवसर देशभित्रै र विशाल अर्थतन्त्र भएका छिमेकी राष्ट्रबीच रहेकाले थुप्रै आर्थिक सम्भावनालाई समुन्नतिको नतिजामा लैजान मुलुकको प्रचुर प्राकृतिक साधन–स्रोत र ठूलो जनसंख्या भएको युवा वर्गको सिर्जनशीलता र उद्यमशीलता उपयोग हुने माहोल, लगानीमैत्री आर्थिक नीति, बिमा, अन्य प्रवद्र्धनका औजार विकास र कार्यान्वयन गर्नु पर्नेछ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका कमी–कमजोरीलाई संरचनागत र नीतिगत सुधार गरी गरिब र धनीमा कायम विभेद हटाई त्यसमा सर्वसाधारणको पहुँचको ग्यारेन्टी गर्ने र ‘क्रस सब्सिडी’को अवधारणाअन्तर्गत कमाउने अस्पताल र विद्यालयले दुर्गमका विद्यालयलाई सुविधासम्पन्न गराउन आर्थिक सहयोग पुर्‍याउने नीति, विपन्न वर्गका लागि भौचर र बिमामार्फत चाहेको सीप एवं शिक्षा प्राप्त गर्न सक्ने र उपचारका लागि अस्पतालमा पहुँच पुर्‍याउनेलगायत नीतिगत र वित्तीय औजारको प्रयोग गरिनुपर्छ । मुलुकमा कायम सबै प्रकारका विभेद र हिंसाको अन्त्यका लागि संस्थागत प्रणालीमा सुधार, चेतना बाँड्ने र नीतिगत रूपमै अवसरमा पहुँच सुनिश्चित गर्ने व्यवस्थाका लागि कांग्रेसले सरकार वा विपक्षमा जहाँ रहे पनि पहल गर्नुपर्छ, आवाज उठाउनुपर्छ।

अहिलेको सरकारका कारण बरालिएको कूटनीतिक सम्बन्धलाई विशेषगरी छिमेकी मुलुक भारत र अमेरिकासँगको सम्बन्धलाई सुधारेर मुलुकको अखण्डता र स्वाभिमान कायम राख्दै कूटनीति बलियो बनाउन अहिले प्रतिपक्षमा रहँदा ‘ट्र्याक टू’ र सरकारमा रहँदा सबै क्षेत्रबाट पहल गर्नुपर्छ । छिमेकी मुलुक भारत र चीनबाट लगानी र प्रविधिको हस्तान्तरणमा र यीलगायत सीमापार देशमा बजार विस्तारलाई कूटनीतिक क्षेत्रमार्फत पनि जोड दिनुपर्छ । क्षणिक राजनीतिक लाभ र लोकरिझ्याइँका लागि मित्रराष्ट्रहरूको मानमर्दन गर्ने अपरिपक्व कूटनीति र अन्धराष्ट्रवादले हामीलाई समुन्नतिको मार्गमा अगाडि बढ्न सहयोग गर्दैन । बिपीको जस्तो दूरदर्शी र राष्ट्रप्रेमको भावले सम्बन्धलाई दिगो र बलियो बनाउनुपर्छ । मुलुक जलवायु परिवर्तनले उब्जाएको विपत्को ठूलो जोखिममा छ । हरेक वर्ष हुने क्षति कम गर्न यसलाई प्राथमिकतामा राखेर हाम्रा पूर्वाधार, कृषि विकासका र सामाजिक सुरक्षाका नीति बनाउने परम्परा बसाल्नुपर्छ । दरिलो भौतिक पूर्वाधार र आर्थिक रूपले गतिशील सुरक्षित बस्ती विकासलाई प्रवद्र्धन गरी बर्सेनि हुने धनजनको क्षतिबाट बच्नुपर्छ । 

एजेन्डा कार्यान्वयनका लागि संगठन : अबको संगठनको जिम्मेवारी नै कांग्रेसको सदन, सडक र बस्तीमा सक्रिय उपस्थिति गराउने हुनुपर्छ । कांग्रेसका केही नेता व्यापक रूपमा जनतामाझ पुगेको हामीले देखेका छौँ । समाजमा धेरै राजनीतीकरण भएको गुनासो भएकाले कांग्रेस पार्टीलाई सबै जनताले मन पराउने पार्टी बनाउनेतर्फ सोच्नुपर्छ, न कि सबै नागरिकलाई कांग्रेस बनाउनेतर्फ । पार्टीको असल व्यवहार र कामका कारणले जनताले यसलाई रोज्ने बनाउनुपर्छ । कम्युनिस्टजस्तो समाजका हरेक अंगमा लेबी तिर्ने कार्यकर्ता बनाउने संस्कार अन्त्य गरी जनताको सेवा र विकासको नतिजा देखाएर पार्टीलाई मन पराउने जमात ठूलो बनाउनेतिर लाग्नुपर्छ ।

पार्टीको नीति र विधानस्वरूप चल्ने पार्टीका प्रदेश र स्थानीय तहमा संगठन स्वतन्त्र र स्वाधीन हुने परिपाटी बनाउनुपर्छ । पार्टीको विधानअनुरूप निर्णय लिने अधिकार तल्लो तहमै राख्नुपर्छ । पार्टी संगठनलाई ‘मेरिटोक्रेसी’सहितको विधानअनुरूप सक्षम र समावेशी बनाउनतिर लाग्नुपर्छ, जसले गर्दा सबैको समान सम्मान होस् । अहिले मुलुकभरि घुमेका आसलाग्दा नेतृत्वले आगामी दिनमा विधानमै स्थानीय तहमा कम्तीमा ६० प्रतिशत, प्रदेशमा ५० प्रतिशत र संघमा ४० प्रतिशत युवावर्गलाई जिम्मेवारी हुने संगठनको निर्माण गर्नुपर्छ भनेर युवामा उत्साह बढाएका छन् । पदाधिकारी केन्द्रीय तहमा एउटा पदमा एकपटक र प्रदेश र स्थानीय तहमा बढीमा दुईपटकभन्दा बढी एउटै पदमा बस्न नपाउने बनाउनुपर्छ भन्ने सन्देश नेतृत्वले अठोट गर्दा पुस्तान्तरणको स्पष्ट सन्देश र भरोसा दिएको हामीले सुनेका छौँ । पार्टीमा ‘एक व्यक्ति एक पद’को अवधारणाअनुरूप प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति नहुने कुरा पनि नेतृत्व तहबाटै सुनिएको छ । यसले सहकार्य र सामूहिक नेतृत्वलाई जोड दिन्छ । समावेशीमा बढीमा दुईपटक र पार्टीका सबै व्यक्ति तल्लो तह वडाबाटै चुनिएर आउने व्यवस्था गर्नुपर्छ भन्ने बहुमतको स्वर देखिएको छ, जिल्लास्तरीय नेतृत्वमा । यसबाट पार्टीमा जिम्माली प्रथा अन्त्य हुनेछ । पार्टीको मनोनीत हुने हरेक ठाउँमा र केन्द्रीय सदस्यमा केही प्रतिशत विभिन्न पेसा र विज्ञताबाट सिधै पार्टीमा आउन चाहने प्रबुद्ध वर्गका लागि खुला राखिनुपर्छ । यसले नयाँ विचार, नयाँ सोच र नयाँ अनुभवबीच बहस गराउनेछ । छिमेकी भारतमा पनि यही देखिएको छ ।

समस्या समाधान गर्ने नेतृत्व : सानो भनिए पनि नेपाल जनसंख्याका हिसाबले ४९औँ स्थानमा छ । पश्चिम युरोप र पश्चिम अफ्रिकाबाहेक संसारका सबै ठाउँका मानिससँग मिल्ने अनुहार भएका हामी नेपाली हिमाल, पहाड र तराई मधेसमा करिब १२५ भन्दा बढी भाषा बोल्छौँ । त्यसैले कांग्रेसको नेतृत्व यी सबै ठाउँ, संस्कृति र भाषा भएका जनताले पत्याएको हुनुपर्छ । दुई ठूला अर्थतन्त्र र रणनीतिक रूपले महत्वपूर्ण देशसँग मित्रता कायम राख्दै उनीहरूको विकासको गतिमा मुलुकलाई सँगै लैजान कूटनीतिक व्यवस्थापन गर्न सक्ने क्षमता भएको हुनुपर्छ । 

पार्टीका कार्यकर्तासँग दृढ भएर पार्टीलाई विधानअनुसार चलाउने, नैतिक र सांगठनिक रूपमा तथा समुन्नतिको दृष्टिकोणसहित नागरिकको मन जित्न सक्ने सफा छवि भएको विचारमा गतिशीलता बोकेको कांग्रेसको सिपाही हुनुपर्छ । वर्तमानमा देशको मूल समस्या पहिचान गरी युवा, किसान, निजी क्षेत्र, वातावरण र सामाजिक क्षेत्रका अभियन्ता, पेसाकर्मी, पिछडिएको वर्ग र समुदाय एवं महिला सबैलाई उज्यालो भविष्य देखाउन सक्ने हुनुपर्छ । विपक्षीका कामका कमजोरी पहिल्याउँदै सबै जनतालाई सचेत र सशक्त गराउन आफ्नो पार्टी संरचना परिचालन गर्न सक्ने आँट बोकेको चाहिन्छ । सूचना र सञ्चारको प्रयोग गर्ने प्रणालीको विकास गराई पार्टीका हरेक गतिविधि पारदर्शी रूपमा जनतासमक्ष पु¥याउन सक्ने, पार्टीलाई विधि र विधानअनुरूप चलाई कुनै पनि स्तरको नेता तथा पार्टीका कार्यकर्तालाई अन्याय हुन नदिने ठूलो छाती भएको नेतृत्व चाहिन्छ । 

विश्लेषक साथीहरूले उठान गरेजस्तै प्रश्न उठ्न सक्छ कि कांग्रेसले यस्तो नेतृत्व कहाँबाट ल्याउँछ ? नेपाली कांग्रेसले पार्टीभित्रकै गतिशील र दूरदर्शी वरिष्ठहरूको अनुभव र युवाहरूको जोसले अहिलेको नेतृत्व चलाउने हो । बहसमा उठाइएका गुण भएका पार्टीका यस्ता नेता, जो देश घुमेर, स्थानीयस्तरका नेता र कार्यकर्तासँग सघन छलफल गरी अहिले केन्द्रीयस्तरमा जनताले आशा गरेका नेतृत्वसँग व्यापक छलफल गरी समावेशी समूहको नेतृत्व निर्माण हँुदै छ । त्यसैले अब आउने नेतृत्वले माथि उल्लेख गरिएका समस्याको पहिचान, एजेन्डाको ग्रहण, संगठनको प्रकारका सोचाइमा एकमत भएर अगाडि बढ्ने गृहकार्य धेरै अगाडि बढाएकाले हामी नेपाली कांग्रेसका कार्यकर्ताको स्तरबाट सबैलाई के भरोसा दिलाउन चाहन्छौँ भने अब देशका लागि, लोकतन्त्रका लागि र जनताको जनजीविका एवं समुन्नतिका लागि कांग्रेस फेरि जाग्छ । साथीहरू ढुक्क हुनुहोस्, देश बुझेर, विचार दिएर, सबैलाई संयोजन गरेर आउने नेतृत्व भरोसा गर्नलायक हुनेछ र कांग्रेस पक्कै जाग्नेछ ।

 

ad
ad