
भरतपुर अस्पताल कोभिड– १९ प्रयोगशालालाई अविनाश ग्रुप प्रालिले स्वचालित पिसिआर परीक्षण मेसिन दिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयस्थित म्यानुअल मेसिनको माध्यमबाट परीक्षण गर्दै आएको प्रयोगशालालाई अविनाश ग्रुपले बिहीबार स्वचालित मेसिन उपलब्ध गराएको हो ।
प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार यो मेसिनको प्रयोग गर्दा हाल परीक्षण भइरहेकोभन्दा सरदर आधा घन्टा छिटो नतिजा निकाल्न सकिन्छ । अविनाश ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले जर्मनीबाट खरिद गरेर मेसिन उपलब्ध गराएको जानकारी दिए । यो मेसिन खरिदमा ४० लाख रुपैयाँभन्दा बढी लागेको उनले बताए । सामाजिक दायित्व महसुस गरेर मेसिन सहयोग गरेको उनले बताए ।
भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले स्वचालित मेसिन प्राप्त भएसँगै ढिलो नतिजा आयो भन्ने गरिएको गुनासो कम हुँदै जाने विश्वास व्यक्त गरे । उनले परीक्षणलाई अझै छिटो बनाउन संघीय सरकारसँग स्वचालित आरएनए एक्स्ट्राक्टर मेसिन माग गरेको जानकारी गराए ।