१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाको भन्दा गुजाराको चिन्ता : जीविका चलाउन महामारीकै बीच भारत पस्दै सयौँ नेपाली (तस्बिरसहित)

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

भारत र नेपालमा कोरोना महामारी फैलिइरहेका वेला आफ्नो जीविका चलाउनकै लागि सयौँ नेपाली भारततर्फ लाग्न थालेका छन् ।

महामारी रोक्न नेपाल र भारतको सीमा सिल गरिएका वेला भारतबाट स्वदेश फर्किएका सयौँ नेपाली पुनः आफ्नो रोजीरोटीका लागि भारत फर्कन थालेका हुन् । 

भारतको आधार र रासन कार्ड देखाएर उनीहरू पुनः रोजगारीका लागि गड्डाचौकी नाका हुँदै भारत गइरहेका छन् । 

नेपालमा रोजगारी नपाएपछि उनीहरू पुनः भारतमै पुरानै रोजगारीका फर्किन लागेको उनीहरूले बताएका छन् ।

बेदकोट नगरपालिका १० चतहरीका सिद्धार्थ आउजीले महामारीकै बीच आफ्नो रोजीरोटीका लागि भारत जान लागेको बताए । 

‘म गत फागुनमा घर आएको हुँ,’ उनले भने, ‘पाँच महिनादेखि घरमा बेरोजगार भएर बसेको थिएँ, यहाँ नेपालमा काम पाउने त कुरै भएन अब फेरि भारत फर्किन लागेको हुँ ।’ 

भारतको दिल्ली एक होटेलका कार्यरत सिद्धार्थ बेरोजगार भएर बसेपछि बाध्य भएर भारत फर्कन लागेको बताए । 

भारत पस्न लागेका भीमदत्त नगरपालिका– ६ ऐठपुरका राज भट्टले नेपालमा महामारी चले पनि खान लाउन समस्या भएकाले बाध्य भएर भारत जान लागेको बताए । 

‘६ महिनादेखि बेरोजगार बसेको थिएँ,’ उनले भने, ‘दैनिक घरबार चलाउन मुस्किल भयो, भारत नगई नहुने भयो ।’ 

झोलाझिम्टी बोकेरका गड्डाचौकी अघि शुक्लाफाँटा नगरपालिका– ४ पिपलाडीका स्थानीय नवराज जोशी भेटिए । 

‘भारतमा महामारी तीव्र चलेको थियो, उतिवेला सुरक्षित बस्नका लागि घर आएँ,’ उनले भने, ‘लामो समयसम्म गाउँमा रोजगारी पाइएन, दैनिक घर गुजारा चलाउन बाध्य भएर फेरि भारत फर्किंदै छु ।’

महाकाली नगरपालिका– ४ दोधाराका धनबहादुर सुनार पनि महामारीबीच फेरि भारत पसेका छन् । ‘नेपालमा कुनै रोजगारी छैन, घरधन्दा चलाउन मुस्किल भयो,’ उनले भने, ‘घरमा बसेर कोरोनाले भन्दा भोक मर्ने अवस्था भएपछि बाध्य भएर बिदेसिँदै छु ।’ 

कैलाली टीकापुर नगरपालिका– ९ का बलबहादुर नेपालीले नेपालमा लकडाउनका वेला आर्थिक समस्या भएकाले घरमा बसेर ऋणमा पर्नुभन्दा बाध्यतावश भारत जान लागेको बताए । 

उनले भारतबाट मालिकले काममा फर्किन भनेको र यहाँ घरमा बेरोजगार भई खाली बस्नुभन्दा बिदेसिनु नै उपयुक्त लागेर जान लागेको बताए । 

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पीताम्बर जोशीले भारतबाट फर्किएकाहरूलाई स्वदेशमै रोजगारीमा लगाउन सकेको भए देशको उन्नति हुने भए पनि नेपालमा योजना नै नभएको बताए । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले आधार र राशन कार्ड भएकालाई भारत जान दिन लागेको बताए । 

‘हामीले सीमा क्षेत्रमा नेपाल-भारत प्रवेशका लागि प्रमाण हेर्छौँ,’ उनले भने, ‘त्यहीअनुसार जाने आउनेक्रम चलेको छ ।’