
पछिल्लो समय प्रहरी निमुखा र समाजको तल्लो वर्गमाथि अलि बढी नै क्रूर हुन थालेको छ । कमजोर वर्गमाथि प्रहरीको यस्तो रबैयाले प्रहरीको संस्थागत छवि धुल्याउँदै छ । कुनै क्रूर तानाशाही सत्तामा पनि समाजका निर्धामाथि प्रहरी यतिसारो अनुदार र अन्यायी सायदै थियो होला । समाजको हुनेखाने र पहुँचवाला वर्गको अपराध छिपाउन निमुखा पीडितमाथि चरम यातनाको शृंखला चलाउनु प्रहरी संगठनको मर्यादासुहाउँदो आचरण होइन । प्रहरीको शैली र आचरण लोकतान्त्रिक गणतन्त्र नेपालसुहाउँदो भएन, सच्याऊ ।
यतिवेला कोरोना महामारीको समयमा दलितहरू भोकभोकै मरिरहेका छन् । सामान्य उपचार नपाई छटपटिँदै दम तोडिरहेका छन् । दलित समुदाय चौतर्फी असुरक्षाको महसुस गरिरहेका छन् । उनीहरूको सुरक्षाको जिम्मेवारी कसले लिने ? न्याय नपाएका दलितको न्यायको जिम्मेवारी कसले लिने ? खुलेआम दोषीहरूले उन्मुक्ति पाइरहेका छन् । जिम्मेवार निकायहरू अपराधीलाई संरक्षण दिइरहेका छन् । यसबाट दलित समुदाय असुरक्षित महसुस गरिरहेको छ । यसर्थ, राज्य वेलैमा सचेत नभए यो प्रवृत्तिले राज्य र प्रहरी प्रशासनविरुद्ध विद्रोह जन्मिन सक्छ ।
अहिले प्रहरीले गरेका मध्ययुगीन बर्बर हत्याविरुद्ध प्रदेश २ का दलित आन्दोलित छन् । पूर्वमन्त्री विश्वेन्द्र पासवान र पूर्वराष्ट्रिय सभा सदस्य रामप्रित पासवानलगायतका दलित अगुवा न्यायका लागि अनशनमा बसेका छन् । विश्वेन्द्र पासवानलाई प्रहरीले त्यहाँबाट उठाएर धरानको अस्पताल पुर्याएको छ । उनीहरूले दोषी डिएसपी ज्ञानकुमार महतो, एसपी रविराज खड्कालगायत घटनामा संलग्न अन्य प्रहरीलाई बर्खास्त गरी कारबाहीको माग गरेका छन् । तर, अन्य घटनामा जस्तै यो प्रकरणमा पनि दलितको न्याय मर्ने र आततायीहरूले उन्मुक्ति पाउने निश्चितप्रायः छ । किनकि, दलितलाई मानिस जो ठानिँदैन । हाम्रो राज्यसत्ताको व्यवहारले दलितलाई मार्नु हत्या होइन भन्ने गरेको छ ।
प्रहरी ज्यादती र अन्यायका केही दृष्टान्त यस्ता छन् : रौतहटको गरुडा नगरपालिका–८, जिंगडियाका २२ वर्षीय विजय राम प्रहरीको चरम यातनाका कारण उपचारका क्रममा मृत्यवरण गर्छन्, जसलाई जिंगडियाकै नीरञ्जन रामको हत्या आरोपमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको थियो । अर्काे घटनामा, धनुषाको सबैला नगरपालिका–१२, भरकुरुवाका २३ वर्षीय शम्भु सदा प्रहरीको हिरासत कक्षछेवैको शौचालयमा झुन्डिएर मरेको अवस्थामा भेटिन्छन् । शम्भुलाई प्रहरीले हिरासतमा चरम यातना दिएर मारेको परिवारको दाबी छ । चितवन जिल्लाको राप्ती नगरपालिका–२, मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङ चितवन राष्ट्रिय निकुञ्जबाट गस्तीमा रहेका सुरक्षाकर्मीको मध्ययुगीन यातनाका कारण उपचारका क्रममा छटपटिँदै मृत्युवरण गर्न पुग्छन् । यी तीनवटै घटनामा मृत्युको कारण चरम यातना रहेको छ ।
प्रहरीको हिरासत र कब्जामा दिनदहाडै नागरिकको, न्यायको हत्या भइरहेको छ । प्रहरीका हिरासत कक्षहरू निमुखालाई चरम यातना दिने यातनागृहमा रूपान्तरण भइरहनु लोकतन्त्र र आधुनिक समाजलाई सुहाउँदैन ।
प्रहरीमा एउटा यस्तो प्रवृत्ति नै विकास भएको छ कि कुनै पनि गरिब, निमुखा र खासगरी दलित एवं समाजको तल्लो वर्ग, चाहे ती कसुरदार हुन् या बेकसुर, प्रहरीको फन्दामा पर्नेबित्तिकै मरणासन्न हुने गरी पिटिइन्छन् । अनेक प्रकारले यातना दिएर प्रताडित गरिन्छन् । र, होइनलाई हो र होलाई हैनमा बदल्न बाध्य पारिन्छन् । दलितमाथि यस्तो चरम अन्याय कहिलेसम्म ? गरुडामा नीरञ्जन रामको हत्या भएपछि उनको बुबा नन्दलालले केही व्यक्तिमाथि जाहेरी दिएका थिए ।
उजुरीमा विजय रामको नाम थिएन । तर, प्रहरीले अनुसन्धानका लागि जाहेरीअनुसारका मानिसलाई पक्राउ नगरी पीडित विजय रामलगायत केही गाँउलेलाई लग्यो । मृतकका पिता नन्दलाल र दलित अगुवा सोनेला रामले भनेका छन्, ‘प्रहरीले अनुसन्धान गरी न्याय दिलाउँछु भनेका थिए । तर, प्रहरीले त मेरै गाउँका मानिसलाई पक्राउ गरी लगे ।’ अहिले नन्दलाल र सोनेला रामहरू प्रहरीको गतिविधि पीडितलाई झनै सताउने भयो भन्दै छन् । तर पनि उनीहरूको आवाज सधैँ प्रहरीको बुटमुनि दबेर नसुनिने गरेको छ ।
विजयले मरणासन्न अवस्थामा एउटा भिडियोमा भनेका छन्– मलाई प्रहरीले चरम यातना दिएर नीरञ्जन रामको हत्या गरेको कागजातमा जबर्जस्ती सहीछाप गर्न लगायो । चरम यातनाबाट सिरियस भएपछि ४ गते राति ९ बजे विजयलाई उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेज पु¥याइन्छ । विजयको अवस्था नाजुक हुँदै गएपछि १० गते दलित अगुवा, बुद्धिजीवी र पत्रकारहरू अस्पताल पुग्छन् । तर, प्रहरीले कसैलाई विजयलाई भेट्न दिँदैन । ११ गते उपचारकै क्रममा यातनाको पीडाले छटपटिँदै उनले देह त्याग्छन् । काठमाडौंको शिक्षण अस्पतालमा गरिएको शव परीक्षणमा डाक्टरले यातनाकै कारण उनको मृत्यु भएको उल्लेख गरेका छन् । प्रहरीले उनलाई यति धेरै यातना दिएछ कि विजयका संवेदनशील अंगहरूसमेत क्षतविक्षत थिए । प्रहरीले अनुसन्धानका क्रममा यातना दिएको नीलडामको हृदयविदारक फोटो सामाजिक सञ्जालमा अझै भाइरल छ ।
भिडियोमा विजयले भनेका छन्, ‘मलाई दुई दिनसम्म फलामको पाइप, भाटा र बुटले निर्मम कुटपिट गरिरहे । नीरञ्जनको हत्या नस्विकारे तेरो लास यहाँबाट बाहिर जान्छ भनेर धम्की दिन्थे ।’ उनी साँच्चै लास नै बनेर प्रहरी हिरासतबाट मात्रै होइन, सदाका लागि यस धर्तीबाट नै बाहिरिएका छन् । जबसम्म उनले न्याय पाउनेछैनन्, उनको आत्माले प्रहरी र दलित समाज र समग्रमा नेपाली समाजलाई नै लखेटिरहनेछ । विजयले दिएको यो बयान उनको मृत्युकालीन उद्घोष हो । यहाँ कसैले झुट बोलेको छ भने तिनै दोषी प्रहरी अधिकारीले मात्रै बोलेका छन्, अनुदार र हिंस्रक राज्यसत्ताका अनुयायीले बोलेका छन् ।
अहिले विजय राम र शम्भु सदाहरूको न्यायका लागि हजारौँको संख्यामा दलित आन्दोलित छन् । हत्या आरोप लागेका इन्सपेक्टर शशिभूषण यादवलगायतका प्रहरीमाथि कारबाहीको माग गरेका छन् । तर, आन्दोलनमाथि नै प्रहरी ज्यादती भएको छ । पीडित परिवारलाई प्रदेश सरकारले पाँच लाख राहत दिएर थुमथुम्याई आन्दोलन शान्त बनाउन खोजेको छ । दलित आन्दोलनका अगुवा पंचु माझीले आफूहरूको प्रयास कागको प्वाँखजस्तै भएको गुनासो गर्छन् । दलितको जीवन किन यति हलुंगो र मूल्यहीन ?
प्रदेश २ मा लकडाउनको पाँच महिनामा १४ जना दलितको हत्या भएको छ । यसबीच, दुई दर्जनभन्दा बढी दलित महिला र पुरुष गैरदलितबाट कुटपिटमा परेका छन् । यी प्रतिनिधिमूलक घटना मात्रै हुन्, यसअघि पनि यस्ता थुप्रै घटना घटेका छन् । जुन घटनाहरू लोकतन्त्र र मानवअधिकारप्रतिको ठाडो उपहास हो । लासमाथि राजनीति हुने, पैसा र पावरको बलमा न्याय किनबेच गरिने देशमा निमुखा नागरिकको सुरक्षाको प्रत्याभूति हुने आशा गर्नु आफैँमा भद्दा मजाक हुन सक्छ । प्रहरीको हिरासत र कब्जामा दिनदहाडै नागरिकको, न्यायको हत्या भइरहेको छ । प्रहरीका हिरासत कक्षहरू निमुखालाई चरम यातना दिने यातनागृहमा रूपान्तरण भइरहनु लोकतन्त्र र आधुनिक समाजलाई सुहाउँदैन । कारागारभित्र पनि पहुँचका आधारमा बन्दीमाथि व्यवहार हुन्छ । समग्रमा भन्दा जेलमा पनि वर्गविभेद छ, वर्णाश्रम छ । त्यहाँ पनि दलितको दलन दयनीय छ ।