
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले निषेधाज्ञा कायमै रहेका वेला जबर्जस्ती रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्दा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘करिब ६० टनभन्दा बढी तौल र ५० फिटभन्दा अग्लो मत्स्येन्द्रनाथको रथलाई विनाजानकारी र योजना तान्न खोज्नु अशोभनीय कार्य भयो, स्थानीय सरकार र प्रशासनलाई जानकारी नै नदिई अशोभनीय ढंगबाट रथ तान्ने प्रयास गरिनुले संस्कृति र सम्पदाप्रेमी सबैको मन नराम्रोसँग दुखाएको छ ।’
‘धर्म, संस्कृति, जात्रा, परम्परा जोगाउने नाममा भएको यस्तो घटनाले मर्माहत बनाएको छ, रातो मत्स्येन्द्रनाथको रथ बनाउने र तान्ने प्रक्रियामा ललितपुर महानगरपालिकाको भूमिका नहुने कुरा यहाँहरूलाई अवगत गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ ।
मेयर महर्जनले कोभिड– १९ का वेला स्वास्थ्य सतर्कता अपनाउन भक्तजनहरूको व्यवस्थापन र जात्राका लागि ‘लजिस्टिक सपोर्ट’ मात्रै गर्न खोजेको जनाएका छन् । विज्ञप्तिमा महर्जनले ललितपुर महानगरपालिका कला, धर्मसंस्कृति, सम्पदा, जात्रालगायतका अन्य परम्पराले सम्पन्न सहर भएको उल्लेख गर्दै अमूल्य निधिको संरक्षण तथा सम्मान गर्न महानगरवासी र सम्पूर्ण संस्कृतिप्रेमी जनसमुदायलाई आग्रह गरेका छन् ।
मेयर महर्जन बिहीबार आफ्नो पिसिआर रिपोर्टको प्रतीक्षा गर्दै होम आइसोलेसनमा बसेका थिए । अपराऋनपछि रिपोर्ट नेगेटिभ भएको खबर प्राप्त भएसँगै रातो मत्स्येन्द्रनाथको रथका विषयमा आयोजना गरिएको छलफलमा सहभागी भएको उनले बताए ।