१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ भदौ १८ बिहीबार १४:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोस्रो चरणको चक्रपथ विस्तारका लागि सडकका संरचना हटाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ भदौ १८ बिहीबार १४:३२:००

चक्रपथको दोस्रो चरण (कलंकीदेखि चाबहिलसम्म) विस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक विस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरू संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । 

चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलंकीसम्म विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तार गर्ने भएको छ । ११ दशमलव छ किलोमिटर सडकको विस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । चिनियाँले यसअघि नै सडक निर्माणको पूर्वअध्ययन गरिसकेको छ । 

सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतकाे पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै सो सडकमा रहेका दुई हजार एक सय  रूख काटिएको छ । सडकको मुख्य भागबाट दुवैतर्फ ३१–३१ मिटरभित्र पर्ने केही घर हटाउन बाँकी छ । महाराजगन्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको काठमाडौं चक्रपथ योजनाका प्रमुख अमृतमणि रिमालले बताए । कतिपय स्थानीयवासीले विरोध गरे पनि मुआब्जा दिइने भएकाले समस्या नहुने उनको भनाइ छ । 

उनका अनुसार सो घर भत्काउन आयोजनाले नै मूल्यांकन गरेर मुआब्जा दिने प्रक्रिया अघि बढाएको छ । उनले भने, ‘अवस्था केही सामान्य भएपछि नै थप काम अघि बढ्नेछ ।’ स्वयम्भूमा रहेको एउटा स्तूपा सडकको अधिकार क्षेत्रमा रहेकामा त्यसलाई पनि सारिने भएको छ । स्तूपाको निर्माण गर्दा नै सडकको अधिकार क्षेत्रमा भएकाले अहिले सार्नुपर्ने अवस्था आएको प्रमुख रिमालले बताए ।  काठमाडौं महानगरपालिकाले सो स्तूपा सार्ने जिम्मेवारी लिइसकेको छ । 

आयोजनाले सडकका दुवैतर्फ रहेका सबै रूख काटिसकेको छ । सडक निर्माण सुरु भएपछि नै नयाँ रूख रोपिनेछ । चक्रपथ पहिलो चरणको निर्माण सम्पन्न भएपछि मात्रै रूख रोपिएको थियो । उनले भने, ‘यो खण्डमा सडक बनाइरहँदा रूख पनि रोपिनेछ ।’

चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण सुरु भएको थियो । सडक निर्माण सुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घरटहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो । ०७१ मा सुरु भएको सडक निर्माण ०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो । विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो ।

चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरु गर्नेछ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड– १९ को संक्रमणका कारण तत्काल आउन नसकिए पनि अवस्था सामान्य भएपछि नै चिनियाँ आएर अध्ययन सुरु गर्ने बताइएको छ । रासस