Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ भदौ १८ बिहीबार ०४:०५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बलिउडका फिल्म निर्माताको अपराध यात्रा : फिल्म डुबेपछि नेपाल छिरेर नक्कली सुन तस्करी

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ भदौ १८ बिहीबार ०४:०५:००

भारतीय फिल्मी उद्योग बलिउडमा निर्माताका रूपमा छवि बनाएका निलेस सखियाले ‘पेनाल्टी’नामक फिल्म बनाएका थिए । भारतीय बक्स अफिसका अनुसार फिल्म १९ जुलाई ०१९ मा रिलिज भएको थियो । फिल्मले केही लाख भारतीय रुपैयाँ मात्रै ‘ग्रस कलेक्सन’ गरेको थियो । नतिजा– फिल्ममा दुई करोड भारतीय रुपैयाँ सखियाले डुबाए ।

सखियाले ‘पेनाल्टी’मा क्षेत्रीयताका कारण एउटा युवाले फुटबल टिममा प्रवेश नपाएको कथा उठाएका थिए । तर, फिल्मको लगानी डुबेपछि सखियासँग विकल्प साँघुरिए । लगानी चाँडो उठाउने विकल्पका रूपमा उनले सुनचाँदी तस्करीको योजना बनाए । ‘लाइट, क्यामरा, एक्सन’को उज्यालो दुनियाँबाट उनी गुप्त अपराधमा अँध्यारो दुनियाँमा प्रवेश गरे । सुनचाँदी तस्कर गर्न नेपाल छिरे । 

नवलपरासीबाट पक्राउ परेका उनी बलिउडका फिल्म निर्माता रहेको अनुसन्धानमा भेटियो । प्रहरीले उनलाई सुन्धाराबाट बरामद नक्कली सुन प्रकरणमा पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनी आफैँले फिल्म डुबेपछि सुनचाँदी तस्करीका लागि नेपाल छिरेको बताएका छन् ।

फिल्ममा दुई करोड भारतीय रुपैयाँ डुबाएको सखियाले प्रहरीसँगको बयानमा बताएका छन् । अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘यसले सिनेमामा दुई करोड रुपैयाँ भारु डुबाएको बयान दिएको छ । यही लगानी उठाउन नेपाल आएको देखिन्छ ।’

प्रहरीका अनुसार सुन्धाराबाट बरामद नक्कली सुनको मुख्य हिस्सेदार सखिया नै हुन् । बरामद सुन आफ्नो रहेको सखियाले स्वीकार गरेका छन् । ‘बरामद नक्कली सुनको मुख्य हिस्सेदार सखिया रहेको खुलेको छ । सुन्धाराबाट बरामद नक्कली सुनमा सोही लगानी उठाउने उद्देश्यले लगानी भएको देखिन्छ,’ एसएसपी थापाले भने ।

प्रहरीले सखियासँगै विजय पटेल र दिवाङ पटेललाई पनि पक्राउ गरेको थियो । सखिया र सञ्जय पटेल बारा हुँदै नेपाल प्रवेश गरेका थिए । यसका लागि सघाउने काम भने बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले गरेका थिए । अन्सारीकै गाडीमा उनीहरू नेपाल आएका थिए । 

प्रहरीका अनुसार तस्करीकै क्रममा सञ्जय पटेलको अन्सारीसँग चिनजान थियो । सखियालाई अन्सारीसँग भेटाउने काम सञ्जयले गरेका थिए । सुन्धारामा बरामद नक्कली सुन तस्कर गरी मालामाल हुने योजना सोही क्रममा बनेको थियो । तस्करी गर्न नेपालतर्फको सम्पूर्ण सेटिङ मिलाउन अन्सारीले प्रतिबद्धता जनाएपछि नक्कली सुनमा लगानी गर्न सखिया राजी भएका थिए । 

योजनाअनुसार अन्सारीले सखिया र सञ्जय पटेललाई भारतबाट बारा हुँदै काठमाडौंं ल्याएर होटेलमा बस्ने बन्दोबस्त मिलाए । उनले नै दरबारमार्गबाट चाँदी किन्न लगाएका थिए । अनि तस्करीका लागि आफ्नै गाडी प्रयोग गरेका थिए । प्रहरीसँगको बयानमा उनले तस्करीका लागि नेपालतर्फको सेटिङ मिलाउने काम आफैँले गरेको भनेका छन् ।

बरामद नक्कली सुन आफ्नो नभई सखियाको भएको, तर दुई थान हतियार भने आफ्नो भएको उनले बयान दिएका छन् । यसअघि भारतीय अल्ताफको नाममा नक्कली भारतीय रुपैयाँ तस्कर गरेको, बलराम पटुवाको हत्यामा आफू संलग्न रहेकोसमेत बयानमा स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । 

महाशाखाका एसएसपी थापाले भने, ‘बरामद सुन आफ्नो नभएको, तर हतियार भने आफ्नो रहेको उनले बयानमा भनेका छन् । तस्करीका लागि नेपालतर्फ सम्पूर्ण सेटिङ आफूले नै मिलाएको पनि उनले बयानमा स्वीकार गरेका छन् । यसअघि भएका अपराधमा समेत आफ्नो संलग्नता रहेको उनको भनाइ छ ।’

पक्राउ पर्ने अवस्था देखिएपछि गत १३ साउनमा सुनको जलप लगाइएका साढे १५ किलो चाँदी, आधा किलो सुन र दुईवटा पेस्तोलसहितको झोला प्रहरी जवान बहादुरसिंह कडायतलाई सुन्धारामा बुझाएर उनीहरू फरार भएका थिए । बरामद सुनको जलप लगाइएको चाँदी उनीहरूले दरबारमार्गस्थित गहना पसलबाट खरिद गरेका थिए । 

प्रहरीले इल्ताफलाई १३ साउनमा बाराको निजगढबाट पक्राउ गरेको थियो । यसअघि उनी भारतीय नक्कली रुपैयाँ कारोबारमा तीन वर्ष जेल सजाय भुक्तान भई छुटेका थिए । उनी ०७२ मा यस मुद्दामा पक्राउ परेका थिए । ०६४ मा अनामनगरमा भएको बलराम पटुवा हत्यामा पनि उनी २६ महिना जेल सजाय भुक्तान भई छुटेका थिए । 

नक्कली चाँदी तस्कर घटनामा प्रहरीले इल्ताफसहित सखिया, विजय पटेल, दिवाङ पटेल, कौशल पटेल, प्रहरी जवानद्वय कडायत, प्रसन्न श्रेष्ठलगायतलाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध संगठित अपराध र हातहतियार तथा खरखजानाविरुद्धको मुद्दामा म्याद थप गरी अनुसन्धान जारी छ । बरामद सुनका अर्का हिस्सेदार भने सञ्जय पटेल हुन् । उनी अहिलेसम्म फरार छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले उनीहरूविरुद्ध संगठित अपराध तथा हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत म्याद थप भई अनुसन्धान जारी रहेको बताए । उनले भने, ‘पक्राउ परेकाविरुद्ध संगठित अपराध र हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत म्याद थप भई अुनसन्धान भइरहेको छ । संगठित अपराधमा अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राख्ने कानुनी अधिकार छ । त्यसैअनुसार म्याद थप भई उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ ।’