Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
अमुल थापा काठमाडाै‌ं
२०७७ जेठ २९ बिहीबार १३:४५:००
मुख्य समाचार

कुवेतबाट उद्धार गरी ल्याइए नेपाली महिला (फोटोफिचर)

अमुल थापा, काठमाडाै‌ं
२०७७ जेठ २९ बिहीबार १३:४५:००

वैदेशिक रोजगारीमा कुवेत पुगेर समस्यामा परेकामध्ये तीन सय नेपालीलाई त्यहाँको सरकारले नेपाल फर्काउने भएको छ ।  सरकारबाट आममाफी पाएकामध्ये कुवेतले आफ्नै खर्चमा नेपालीलाई फर्काइदिन लागेको हो । ती नागरिक बिहीबार दिउँसो जजिरा विमान कम्पनीका दुई जहाजमार्फत काठमाडौंमा ओर्लंदै छन् । जजिराले बिहीबार बिहान ११ः३० र मध्याह्न १२ः३० को उडानतालिका पाएको छ । 

जजिराले बुधबार नै एक सय ५० नेपालीलाई ल्याइदिने भएको थियो । तर, नागरिक उड्डयन प्राधिकरणले कूटनीतिक नियोगबाहेकका उडानमा प्रतिबन्ध गरेकाले ल्याउन सकेन । बुधबार सहमति भएपछि बिहीबार उडान हुने निश्चित भएको हो । ‘प्राधिकरणले उडान अनुमति दिएको छ,’ कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले भने, ‘बिहीबार तीन सयलाई लिएर जजिराको जहाज उड्दै छ ।’ 

कुवेतमा रहेका नेपाली कामदारमध्ये गैरकानुनी रूपमा रहँदै आएका, भिसा अवधि सकिएकालगायतका करिब तीन हजार कामदारलाई यहाँको सरकारले आममाफी दिएको थियो । तीमध्ये महिला र बिरामीलाई पहिलो प्राथमिकतामा राखेर फर्काउने प्रक्रिया सुरु गरेको भण्डारीले जानकारी दिए । 

कोरोना प्रभाव विश्वभर फैलिँदै गएपछि कुवेतले गत अप्रिल १ देखि ३० तारिखसम्म आममाफीको आवेदन दिन आह्वान गरेको थियो । भिसाको अवधि सकिएका र स्पोन्सरको घर छोडेर गैरकानुनी रूपमा कुवेत रहँदै आएका सबै मुलुकका श्रमिकलाई सरकारले आममाफीका लागि आवेदन दिन आह्वान गरेको थियो । नेपाली श्रमिकमध्ये करिब तीन हजारले आवेदन दिएका थिए । 

गैरकानुनीमा रूपमा बस्दै आएका श्रमिकलाई कुवेत सरकारले समातेर नेपाल फर्काउने गर्छ । तर, यसका लागि श्रमिकले ठूलो रकम भुक्तानी गर्नुपर्ने हुन्छ । र, पुनः श्रमिक स्वीकृतिमा रोक लगाइन्छ । तर, यसपटकको आममाफीमा कुवेत सरकारले कुनै पनि शुल्क नलाग्ने तथा श्रमिक फेरि फर्किन चाहेमा फर्किन पाउने अवसरसहित आममाफी दिएको छ ।