तोप चराको ‘फिनिसिङ टच’

२०७६ श्रावण ११ शनिबार १७:१४:००

यो चरीको कहाँ छ र घर ! उहिले यो गीत सुन्दा मलाई पनि लाग्थ्यो– धेरै चराका घर हुन्न । यिनको काम फगत चिर्बिराउँदै उड्ने र खाने हो । घामपानी र हावाहुरीबाट बच्न एकसरो ओतको राम्रो जोहो गर्ने भनेको मान्छे मात्रै त हो ! 

तर, कहाँ त्यसो हुनु ! जुन चराले बदलिँदो परिवेश र वातावरणअनुरूप ओत लाग्ने गुँड बनाउन सकेन, गुँडमा राख्ने जोडी खोज्न सकेन र न्यानो र सुरक्षित गुँडमा बचेरा जोगाउन सकेन तिनले आफ्नो वंश 

(जिन) विस्तार गर्नै सकेनन् । ती बिस्तारै प्राकृतिक छनोटको चाल्नोमा छानिएर इतिहासको गर्तमा बिलाइसके, हामीले देख्नै नपाई । जो यसमा निपुण हुँदै गए ती प्रजाति यस दुनियाँमा टिके । समयको अन्तरालमा ती चराका सीप झनै तिखारिइयो । 

त्यस्तै, सिपालु चरामध्ये एक हो बया तोपचरा । अंग्रेजीमा विभर – अर्थात् सिलाइ–बुनाइमा निपूर्ण । चरा जगत्मा सबैभन्दा सुन्दर गुँड बनाउन निपूर्ण आर्किटेक्टमध्येको एक । कुशल कालिगडलेझैँ घाँसको त्यान्द्रो बुनेर घर बनाउने पौरखी चरा हुन् यी ।

सामान्यतया, चराहरूले दिनको लम्बाइको आधारमा मौसमी ऋतुको अनुमान गर्छन् । दिन लम्बिँदै जाँदा तापक्रमको एउटा निश्चित बिन्दु पार गरेपछि चरा प्रजननका लागि तयार हुन्छन् । हाम्रो तराई तथा पहाडतिर भने वर्षायामको आरम्भअगाडि यो प्रक्रिया सुरु हुन्छ । तोपचरालगायत अधिकांश अहिले लगभग बचेरा हुर्काउने क्रममा होलान् । प्रजननका लागि जोडी खोज्ने क्रममा अधिकांश प्रजातिका पोथी अलि ‘चुजी’ हुन्छे । प्रजातिअनुसार भाले छनोटका आधार भिन्न हुन्छन् । अधिकांश प्रजातिमा चाहिँ भालेको भव्य बनोट, रंगीन पखेँटा, आकर्षक पुच्छर, मनोरम नृत्य, मधुर गीत आदिलाई पोथीले छनोटका आधार बनाउँछे । केही प्रजातिमा भने गुँड निर्माण महत्वपूर्ण हुन्छ । बया तोपचरामा चाहिँ पोथीले भाले छान्ने आधार नै भालेको गुँड निर्माणको कौशल हो ।

यो सामूहिक-सामुदायिक प्रवृत्तिको चरा हो । यिनको सामूहिक वस्ती हुन्छ । एक्लो गुँड प्रायः भेटिन्न । एउटा वस्तीमा सामान्यतया २० देखि ३० वटा गुँड हुन्छन् । गुँड निर्माण लगभग भाले एक्लैको काम हो । गुँड बनाउन धान, नर्कट वा अन्य लामा पात हुने बोट–बिरुवाको प्रयोग गर्छन् । यसका लागि भालेलाई औसत १८ दिन लाग्छ । गुँड निर्माण आधाजति पुगेपछि निर्माणाधीन गुँडमा झुन्डिएर पखेँटा फिँजाउँदै, चिरबिर कराउँदै पोथीलाई गुँड ‘निरीक्षण’ गर्ने निम्तो दिन्छ । पोथीले गुँडको अवस्थिति, गुणस्तर आदि नियालेर भालेको प्रणय प्रस्तावलाई स्वीकार वा अस्वीकार गर्छे । त्यसपछि भालेले गुँड निर्माणको बाँकी काम सम्पन्न गर्छ । उँधो फर्किएको सोली आकारको गुँड मुखमा साँघुरो हुँदै गएको हुन्छ । सायद गँुडको मुखबाट शत्रु नपसून् भन्ने रणनीति हो यो । गुणको ‘फिनिसिङ टच’ तथा भित्री भागको साजसज्जामा भने पोथीको सानो सहयोग रहन सक्छ । उता भालेले अरू केही थान अपूरो गुँड बनाएको हुन्छ । एउटा गुँडमा पोथीले अन्डा पारिसकेपछि भालेचाहिँ अर्काे गुँडका लागि नयाँ जोडी खोज्न पुग्छ । सामान्यतया, सन्तान हुर्काउने जिम्मा एक्लो पोथीको हुन्छ ।

भाले छान्नमा पोथीको ‘चुजी’ स्वभाव र भालेको बहुपोथी गमन रणनीतिलाई विज्ञहरू ‘प्यारेन्टल इन्भेस्टमेन्ट’ सिद्धान्तका आधारमा व्याख्या गर्छन् । प्यारेन्टल इन्भेस्टमेन्ट अर्थात् आफ्ना सन्तानका पक्षमा गरिने समय, ऊर्जा र स्रोतको लगानी । यो लगानी भाले–पोथी दुवै, भाले एक्लै (केही प्रजातिमा) वा पोथी एक्लैको पनि हुन सक्छ । यो व्याख्याअनुसार भाले वा पोथीमध्ये सन्तानमा जसको लगानी बढी रहन्छ त्यो आफ्नो पार्टनर छनोटमा बढी चुजी हुन्छ । उता कम लगानी गर्ने पार्टनर तुरुन्तै अन्य पार्टनरको खोजीमा लाग्छ । आफ्नो वंश (जिन) विस्तारमा यही अधिकतम फाइदाजनक ‘इभोलुस्नरी’ रणनीति हो । 

बया तोपचराको सन्दर्भमा पोथीले उत्पादन गर्ने अन्डा आवधिक र निश्चित संख्यामा निर्माण हुन्छ । त्यसमाथि बचेरालाई आवश्यक पोषणसहितको अन्डा उत्पादन र सन्तानसमेत लगभग एक्लै हुर्काउनुपर्छ । यस्तोमा पोथीको लगानी सन्तानमा धेरै हुन्छ । त्यसैले, भाले छनोटमा पोथी ‘चुजी’ हुन्छे । उसको भाले छनोटका आधार भनेको भालेमा निहित गुँड निर्माणको शिल्प हो । यसैमार्फत पोथीले सन्तानमा भालेको समेत लगानीको सुनिश्चितता गराउँछे ।

केही भारतीय समुदायमा यो चराले पातको त्यान्द्रोमा जुनकिरी टाँसेर लैजान्छ र आफ्नो कोठा झिलीमिली पार्छ भन्ने जनविश्वास पनि छ । यसको औपचारिक पुष्टिचाहिँ भएको छैन । तर, यसको सुन्दर र कलात्मक गुँडको परख गर्न कुनै मिथक वा लोकोक्ति चाहिन्न ।