सप्तरीको सीमावर्ती गाउँबाट पेस्तोलसहित आएको अपरिचित समूहले एक युवकलाई अपहरण गरेर लगेको छ। सोमबार मध्यराति बलान बिहुल गाउँपालिका–४, बेल्ही टोलका २४ वर्षीय अभिननन्द यादवलाई हतियारधारी समूहले अपहरण गरी भारततर्फ लगेको अभिनन्दका काका अमोद यादवले बताए।
अमोदका अनुसार राति १२ बजेतिर घरको मूल ढोका घेरेर आएको हतियारधारी समूहले अभिनन्दलाई जबर्जस्ती उठाएर लगेका थिए। ‘हामी सुतिरहेको वेला आएका उनीहरूले पेस्तोल देखाएर नियन्त्रणमा लिए र बलान नदीको बाटो हुँदै भारततर्फ लगे,’ उनले भने। घटनास्थलबाट भारतीय सिमाना करिब ५ सय मिटरको दूरीमा पर्छ। घटनालगत्तै खबर गर्दा पनि प्रहरी समयमा नपुगेको उनले बताए।
सीमा क्षेत्रमा २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ रहे पनि भारतीय समूहले निर्धक्क रूपमा नेपाल प्रवेश गरेर नेपाली नागरिकको अपहरण गरेको भन्दै आक्रोशित स्थानीयले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।
प्रहरीले उदासीनता देखाएको भन्दै मंगलबार बिहानैदेखि आफन्त र स्थानीयले बेल्हीस्थित प्रहरी चौकी घेराउ गरेका वडाध्यक्ष लक्ष्मीनारायण झाले बताए। ‘सुरक्षा निकायले घटनालाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र छानबिन अघि बढाई अपहरित नागरिकको तत्काल उद्धार गर्नुपर्छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्का भने युवकको खोजी कार्य भइरहेको बताउँछन्। उनका अनुसार पक्राउ परेका युवा (भारतमा) गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले लगेको प्रारम्भिक जानकारी आएको छ,’ उनले भने, ‘पेस्तोल बोकेर आएको कुरा जानकारीमा छैन। हामीसँग समन्वय पनि गरेको छैन।’ घटनाको अनुसन्धानका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको एसपी खड्काले बताए।