नेकपा एमालेका सांसदहरूले आफ्नो १५ दिनको पारिश्रमिकबराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने भएका छन्।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकले मासिक पारिश्रमिकको ५० प्रतिशत पार्टी कोषमार्फत कट्टा गरी राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो।
बैठकले रसुवा भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजबिनका लागि राज्यका सबै संयन्त्रको प्रयोग गर्न ध्यानाकर्षण गराउने र फेला परेका शवहरूको पहिचान गरी परिवारको जिम्मा लगाउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।
एमालेले संसद्मा रहेका सबै संसदीय दलहरू सम्मिलित सर्वदलीय विशेष संसदीय समिति गठनको पहल गर्ने निर्णयसमेत गरेको छ। खोज, उद्धार, राहत र पुनर्स्थापनाको कामलाई स्थलगत अनुगमन गर्न, अन्तर निकाय समन्वय बढाउन र सरकारी कामलाई पारदर्शी, जवाफदेही बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्नुपर्ने निर्णयमा उल्लेख छ।