साउन महिनाका चार सोमबारदेखि निरन्तर रूपमा पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुँदै आएको ‘सफा गरौँ’ अभियान भव्य रूपमा सम्पन्न भएको छ। साउनको अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा फोहोरमैला व्यवस्थापन तथा सरसफाइ गर्दै अभियानको समापन गरिएको हो।
द कोकाकोला फाउन्डेसनको सहयोग तथा क्रिएसन नेपालको आयोजनामा सञ्चालन भएको अभियानअन्तर्गत पशुपतिनाथ क्षेत्रको सरसफाइसँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्वच्छताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
समापन समारोहमा बोल्दै क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले ‘सफा गरौँ’लाई एकपटकको कार्यक्रमका रूपमा मात्र नभई निरन्तर चल्ने नागरिक पहलका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्।
क्रिएसन नेपालकी सचिव रोशना सुवेदीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइ सबै नागरिकको साझा दायित्व भएको बताइन्।
क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले अभियानको अन्तिम सोमबारसम्म आइपुग्दा पाँच सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको जानकारी दिइन्। उनका अनुसार अभियानमा विभिन्न कलेजका विद्यार्थी सहभागी थिए।