वैदेशिक रोजगारीमा आकर्षक तलबसहित विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौं महानगरपालिका–४ बस्ने ४१ वर्षीय मनोहर मुडभरी, बाजुरा घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २६ वर्षीय अनिल मल्ल, कास्की घर भई टोखा नगरपालिका–१० बस्ने ३४ वर्षीया कमला पौडेल सुनार र पाँचथर घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेल रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उनीहरूले विभिन्न देश पठाइदिने भन्दै पीडितबाट लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार मनोहरले मौरिसस पठाइदिने भन्दै एक जनाबाट तीन लाख ५० हजार रुपैयाँ लिएका थिए। त्यस्तै अनिलले कम्बोडिया पठाइदिने भन्दै आठ लाख ८४ हजार, कमलाले रोमानिया पठाइदिने भन्दै छ लाख र तुलसीरामले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै छ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। मनोहरलाई ललितपुर महानगरपालिका–३ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ भने अनिललाई काठमाडौं महानगरपालिका–११, कमलालाई काठमाडौं महानगरपालिका–२६ र तुलसीरामलाई काठमाडौं महानगरपालिका–९ बाट बुधबार पक्राउ गरिएको हो।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।