मोरङको रतुवामाई नगरपालिकास्थित उर्लाबारी–आमबारी सडकखण्डबाट प्रहरीले एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बर्डङ्गा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को.१ख ४३७३ नम्बरको मिनीट्रकमा गाँजा फेला पारेको हो।
मिनीट्रक रोकी चेकजाँच गर्दा ट्रकको पछाडि धानको भुसको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएको ३१ वटा पोकामा तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासहित मिनीट्रक र ट्रकचालक धनकुटाको पाख्रीबास नगरपालिका– ९, हिलेका २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिएको छ।