मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १८:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विवेक, सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन राप्रपाको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १८:oo:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सम्पूर्ण नेपाली नागरिकहरूलाई संयम, विवेक, सहिष्णुता तथा राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ। शुक्रबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली समाजको शक्ति सहअस्तित्व र साझा राष्ट्रिय उद्देश्यप्रतिको प्रतिबद्धतामा निहित रहेको स्पष्ट पारेको हो।

‘बहुसंख्यकको सम्मान र अल्पसंख्यकको संरक्षण हामीले सदियौंदेखि अभ्यास गर्दै स्थापित गरेको राष्ट्रिय चरित्र हो। यसका विरुद्ध कुनै पनि बहानामा गरिने क्रियाकलापले राष्ट्रिय एकता, सामाजिक सदभाव, धार्मिक सहिष्णुता र दीर्घकालीन शान्तिको हाम्रो साझा चाहनामाथि कुठाराघात हुन पुग्ने यथार्थलाई मनन गर्न सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछ’ राप्रपा प्रबक्ता मोहनकुमार श्रेष्ठद्वारा बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

बैठकले तराई मधेसमा विकसित दुःखद घटनाप्रति समिक्षा गरेको छ। ‘तराई मधेस क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति राप्रपा गहिरो दुःख तथा गम्भीर चिन्ता व्यक्त गर्दछ’ राप्रपाले भनेको छ, ‘तराई मधेस क्षेत्रमा तनाव कायम रहेकै अवस्थामा धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्मय ढंगबाट भएको हत्याको निन्दा गर्दछ। राप्रपाको स्पष्ट मान्यता छ कि हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता वा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।’

प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको राप्रपाले औँल्याएको छ। ‘राज्यले संयमता गुमाउँदा र परिस्थितिको सहि विश्लेषण नगर्दा तराई मधेस क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना गर्न बल पुग्न गएको छ। समस्याको समाधान दमन र गोली प्रहारबाट खोजिनु उपयुक्त हुँदैन। लोकतन्त्रको सार संवाद, सहिष्णुता, विधिको शासन र पारस्परिक सम्मानमा निहित हुन्छ। त्यसैले घटनाको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन राप्रपा सरकारसँग जोडदार माग गर्दछ’ प्रबक्ता श्रेष्ठले भनेका छन्।

राप्रपाले विशेषतः तराई–मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व वा धार्मिक महोत्सवका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद उत्पन्न हुने क्रमप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा राप्रपाले जोड दिएको छ। राप्रपाले २०६२÷६३ को राजनीतिक परिवर्तनपश्चात् राज्यले अवलम्बन गरेको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि अब गम्भीर राष्ट्रिय समीक्षा अपरिहार्य भएको पनि निस्कर्ष निकालेको छ।

राप्रपाले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको पुनर्स्थापनाको आफ्नो एजेन्डा कुनै धर्म, सम्प्रदाय वा समुदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित नभएको भन्दै थपेको छ, ‘नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता, समान अधिकार र पारस्परिक सम्मानलाई संस्थागत रूपमा सुनिश्चित गर्ने राष्ट्रिय अवधारणाका रूपमा पार्टीले यसलाई निरन्तर उठाउँदै आएको छ । पछिल्लो दुई दशकको अभ्यासले हिन्दु राष्ट्र नेपालको आवश्यकता प्रमाणित गरिरहेको यथार्थलाई स्विकार गर्न र तदअनुरुप बहस प्रारम्भ गर्न राप्रपा सबैमा आह्वान गर्दछ।’