सरकारले प्रांगारिक मल उत्पादकहरूको विवरण संकलन गर्दै छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले देशभर रहेका व्यावसायिक प्रांगारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु भएको जानकारी गराएकी हुन् ।
नेपालमा प्रांगारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबिच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन भएको हो ।
मन्त्री चौधरीले प्रांगारिक मल, कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त उद्योग वा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गरेकी छिन् ।
उत्पादकहरूले क्युआर कोड स्क्यान गरेर वा अनलाइन दर्ता गर्न सक्नेछन् । यही साउन २१ गते सम्म विवरण दर्ता गर्न भनिएको छ ।
मन्त्रालयले सबै व्यावसायिक प्रांगारिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई दिगो कृषि विकास, माटोको उर्वराशक्ति संरक्षण तथा प्रांगारिक कृषि प्रवर्द्धनको अभियानमा सहभागी हुन आह्वान गरेको छ।