मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार १३:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बारीमा प्रतिदर्जन ६५ रुपैयाँ पर्ने केरा बजारमा दुई सय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १३:१३:oo

कैलाली–कञ्चनपुरका किसानका बारीमा प्रतिदर्जन ६०–६५ रुपैयाँमा पर्ने केरा यहाँका बजारमा दुई सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । काँचो केराको तुलनामा पकाएको केराको मूल्य उपभोक्ताले तीन गुणासम्म बढी तिरिरहेका हुन् । मूल्यमा व्यापारी र बिचौलिया हाबी हुँदा उपभोक्ता मारमा परेका भन्दै यहाँका केरा उत्पादक किसानले मूल्य नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिचौलियाको रजाइँले उपभोक्तासँगै आफूहरू पनि मारमा परेको केरा उत्पादक किसान दीपेन्द्र थारूले बताए । ‘हामीले बारीमा प्रतिदर्जन ६० देखि ६५ रुपैयाँमा बिक्री गरिरहेका छौँ । त्यही केरालाई बजारमा उपभोक्ताले डेढ सयदेखि दुई सय रुपैयाँ तिर्नु परिरहेको छ,’ थारूले भने, ‘बिचौलियाको मनोमानीले किसान र उपभोक्ता प्रत्यक्ष रूपमा मारमा परेका छन् । सरकारले यसलाई नियन्त्रण गर्नुपर्छ ।’

केरा उत्पादक संघ कैलालीका अध्यक्षसमेत रहेका उनले बिचौलियाले केरामा कालोबजारी र कृतिम मूल्य वृद्धि गरेको बताए । उपभोक्तामा पनि किसानले मूल्य बढाएको भन्ने परिरहेको, तर मूल्य व्यापारी र बिचौलियाले बढाएर लाभ लिइरहेका थारूले बताए ।

कैलाली र कञ्चनपुर जिल्ला केरा उत्पादक संघले धनगढीमा बिहीबार पत्रकार सम्मेलन गरेर केराको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । बारी र बजारमा बिक्री हुने केराको अधिकत मूल्य निर्धारण हुनुपर्ने केरा उत्पादक किसानको माग छ । दुवै जिल्लाका केरा उत्पादक संघले संयुक्त विज्ञप्ति जारी गर्दै बजारमा केराको अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

केरामा ट्रपिकल रेस– ४ रोग देखिएकाले सरकारले केही महिनायता भारतीय केराको आयात रोक लगाएको छ । भारतीय केरा आयातमा प्रतिबन्धले नेपाली उत्पादनलाई प्रोत्साहन भए पनि यही मौकामा बिचौलियाले मूल्यमा मनोमानी गरेको केरा उत्पादक किसान लक्षीराम आचार्यले बताए ।

बारीमा बिक्री हुने केरा बजारसम्म पुग्दा दुई, अढाई सय गुणा महँगाे भइरहे पनि किसानले अझै लागतअनुसार मूल्य पाउन नसकेको उनले गुनासो गरे । बिचौलिया हाबी हुँदा किसानले उचित मूल्य नपाउने र उपभोक्ताले अधिक मूल्य तिर्नुपर्ने अवस्था रहेको आचार्यले बताए ।

विगतमा भारतीय केराको आयातले नेपाली केराले बजार पाउन मुस्किल हुने गरेको थियो । अहिले बजारको भने समस्या नरहेको किसानले बताएका छन् । ‘भारतीय केराको आयात रोकिएपछि कैलाली, कञ्चनपुरमा केरा खेतीको क्षेत्र बढ्दै छ । पढेलेखेका युवाहरू पनि केराखेतीमा आकर्षित भइरहेका छन्,’ आचार्यले भने, ‘मल, बिउ, विषादी, सिँचाइका विद्युतको समस्या भने अहिले पनि उस्तै छ ।’

कैलाली केरा उत्पादक संघका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा साढे नौ सय हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ । त्यस्तै, कञ्चनपुरमा ७१० हेक्टरमा केरा खेती छ । प्रदेशभरि करिब दुई हजार हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको, ७८० जना कृषक केरा खेतीमा संलग्न रहेको र उत्पादनले प्रदेशलाई आत्मनिर्भर बनाएको संघको दाबी छ ।