आन्तरिक पर्यटनको गन्तव्य : हात्तीदह सिमसार

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

चुरेको काखमा हरियाली जंगल, सिमसार जलाशयमा बोटिङ, स्वच्छ र कोलाहलमुक्त वातावरण, विभिन्न प्रजातिका फूल, बालउद्यान, प्राणी उद्धार केन्द्र पनि । यी सबै दृश्य सिराहाको हात्तीदह सिमसार क्षेत्रको हो । यो रमणीय क्षेत्र अहिले आन्तरिक पर्यटनको गन्तव्य बन्दै गएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लहानको मुख्य बजारबाट करिब पाँच किलोमिटर उत्तर–पूर्वमा पर्ने सिमसार क्षेत्रमा वनभोज, वन्यजन्तु अवलोकन, जलाशयमा बोटिङ गर्नेहरूको चहलपहल अचेल बढ्दै गएको छ । कोइरालो खोला नमुना सामुदायिक वनले ओगटेको ५७ हेक्टरमध्ये करिब ११ हेक्टर क्षेत्रमा सिमसार तथा पर्यापर्यटनको संरक्षण र विकाससँगै आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको छ । २०५७ सालमा हस्तान्तरण भएको सामुदायिक वन समूहमा एक सय १९ घरधुरी उपभोक्ता छन् ।

वन समूहका अध्यक्ष रुद्रनारायण चौधरीका अनुसार वनसँगै सिमसार क्षेत्रको संरक्षण गरी जलाशयमा बोटिङको व्यवस्थासँगै माछापालन, पूर्वाधारको विकास र वन्यजन्तु राख्न थालिएपछि आन्तरिक तथा छिमेकी मुलुकबाट आउने पर्यटकको संख्या बढ्न थालेको छ । करिब १५ वर्ष पहिले वन क्षेत्रलाई आश्रय बनाएर बसेको दुईवटा जंगली हात्तीले गाउँमा क्षति गर्न थालेपछि सुरक्षाकर्मीको सहयोगमा हात्ती धपाउन गाउँलेहरूले ठुलै सास्ती खेपे । ‘जंगलमा हात्ती फेला परेन । हात्ती सिमसारमा पो रहेछ । त्यही दिनदेखि दहको संरक्षण गरी हात्तीदह नामाकरण गरिएको हो,’ अध्यक्ष चौधरीले सुनाए । त्यति वेलादेखि मेलापर्वमा गाउँलेहरू वनभोज खान र रमाइलो गर्न आउने ठाउँलाई करिब सात वर्षदेखि पर्यटकहरू आउने मुख्य ठाउँको रूपमा विकास गरिएको उनले बताए ।

अध्यक्ष चौधरीका अनुसार लहान नगरपालिकाले सडक बाटो निर्माण तथा मर्मत गरेको छ । दिवंगत नेता प्रदीप गिरीको संसदीय विकास कोषबाट खानेपानी ट्यांकी निर्माण भएको छ । वडा कार्यालयले बिजुली र खानेपानी धारा जडान गरेको छ । बृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोजस्थल निर्माणमा सहयोग गरेपछि पर्यापर्यटन प्रवर्द्धनसँगै सिमसार क्षेत्रको विकास भएको हो । ‘आगामी दिनमा बाह्य पर्यटकलाई समेत थप आकर्षित गर्न साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे (घरवास) प्रवर्द्धन, घोडा सवारी, जलाशयमाथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्ने योजना छ,’ उनले भने । सिमसार क्षेत्रको जलाधार संरक्षण र ताल निर्माणले वन्यजन्तुका लागि पानी पिउन र जैविक विविधता संरक्षणमा ठुलो योगदान पुगेको सामुदायिक वन उपभोक्ता महासंघका कार्यक्रम अधिकृत टेकेन्द्र शाहले बताए ।

स्थानीय रोजगारी सिर्जना र आयआर्जन
हरेक शनिबार पाँच सयदेखि एक हजारजनासम्म आन्तरिक पर्यटकहरू घुम्न आउने गरेको अधिकृत शाह सुनाउँछन् । ‘प्रवेश शुल्कसँगै बोटिङ्, बाल उद्यान, सेल्फी पिङ् र समूहगत रूपमा वनभोज खान आउनेहरूबाट लिइने शुल्क र क्यान्टिन हाम्रो मुख्य आम्दानीको स्रोत हो,’ उनले भने,‘त्यसबाहेक घुम्न आउनेहरूले सिमसार क्षेत्रबाहिर कटेज, खाजाघर, किराना पसलमा गर्ने खर्चले स्थानीयको आयआर्जनमा ठुलो टेवा पुगेको छ ।’ उनका अनुसार चालू आर्थिक वर्षको असार मसान्तसम्ममा वन समूहको करिब ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

स्थानीय धेरै महिलाहरूले सिमसार क्षेत्र बाहिर स–साना पसल चलाएर आयआर्जन गरिरहेको उपाध्यक्ष हरिहरदेवी चौधरीले सुनाइन् । ‘वन समूहले चलाइरहेको सिमसार क्षेत्रको संरक्षणसहित वनस्टे, क्यान्टिनमा काम गरिरहेका १० जना कर्मचारीमध्ये चारजना त महिला नै छन्,’ उनले भनिन् । समूहका सचिव बद्री सदाय भन्छन्,‘हात्तीदह सिमसार क्षेत्र घुम्न आउने पर्यटकलाई लहानबाट ल्याउन लैजान स्थानीय ५० जनाभन्दा बढीले विद्युतीय रिक्सा चलाएर आफ्नै गाउँठाउँमा रोजगारी गरिरहेका छन् ।’ लहान १५ शोभापुरका रामनाथ महतो भन्छन्,‘लहानदेखि हात्तीदहसम्म दैनिक ६ पल्टसम्म ओहोरदोहोर गर्छु । दैनिक १५ सय रुपैयाँ कमाउँछु । त्यही कमाइले चारजनाको परिवारको जीविका चलिरहेको छ ।’ सिमसार परिसर बाहिर व्यक्तिगत लगानीमा चलाइएका कटेज, खाजा पसल, किराना पसलमा समेत काम गर्नेहरूको संख्या जोड्ने हो भने करिब एक सयजनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । उनका अनुसार स्थानीय महिलाहरूले खर र बाँसको ढक्की, पूजाको सामग्री बोक्ने भाँडो बनाएर बिक्री गरिरहेका छन् । वन समूहका व्यवस्थापक तथा कार्यालय प्रमुख दुर्गानन्द चौधरी भन्छन्,‘वन समूहले स्थानीयस्तरमा रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोकेको छ ।’ हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र नबनुन्जेल आसपासका क्षेत्रमा मुस्किलले ५० हजार रुपैयाँ प्रतिकट्ठाको दरले खरिद–बिक्री भइरहेको जग्गा पछिल्लो समय करिब ५० लाख रूपैयाँ प्रतिकट्ठाका दरले खरिद–बिक्री भइरहेको छ ।

सिमसार क्षेत्रमा वनस्टे पनि 
हरेक दिन सिराहासहित, सप्तरी, उदयपुर, धनुषा र छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रबाट समेत पर्यटकहरू आउन थालेपछि घर फर्किन नभ्याउनेहरूलाई लक्षित गरी गत चैतको पहिलो सातादेखि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा ल्याइएको छ । समूहको पहल तथा सक्रियतामा वनपरिसरभित्र वनस्टे सञ्चालन गरिएको छ । सस्तो शुल्कमा स्थानीय परिकार खुवाएर वनस्टेमा बस्न सकिने व्यवस्था गरिएको छ । समूहले वनस्टेमा वास बस्न चाहनेहरूका लागि चिया, खाजा, स्थानीय परिकारसहितको खाना र एक रात बस्न आठ सय ५० रुपैयाँ शुल्क तोकेको छ । ‘उक्त मूल्य लहान बजार क्षेत्रमा रहेका होटेल, लजहरूभन्दा झन्डै ७५ प्रतिशत सस्तो हो,’ समूहका कोषाध्यक्ष गीताकुमारी चौधरीले भनिन्,‘वनस्टेमा रहँदा स्थानीय कला संस्कृति प्रदर्शन, स्थानीय थारू परिकारसहितको खाना खुवाइनेछ । वन तथा सिमसार क्षेत्रको अवलोकनसमेत गराइनेछ ।’

वनस्टेका लागि पहिलो चरणमा करिब पौने १२ लाख रुपैयाँको लागतमा एक पटकमा छ जना बस्न मिल्ने दुई कोठाको शौचालयसहितको भवन निर्माण गरिएको छ । वनस्टेमा बस्न खोज्नेहरूको संख्या बढ्न थालेपछि लहान नगरपालिकाले २० लाख रुपैयाँको लागतमा थप नयाँ दुई कोठाको भवन निर्माण गरिरहेको छ । वनस्टेका निर्माणका लागि जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ र लहान नगरपालिकाले सहयोग गरेको समूहले जनाएको छ । समूहका अनुसार वनस्टे निर्माण गर्न परियोजनाबाट आठ लाख ६ हजार ८८ र समूहका सदस्यहरूबाट तीन लाख ६७ हजार २९५ गरी ११ लाख ७३ हजार ९८३ रुपैयाँ खर्च गरिएको छ ।

लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीले २०७४ सालमा आफू पहिलोपटक निर्वाचित भएपछि वडाको बजेटबाट सिमसार क्षेत्रको विकासका लागि वन समूहलाई एउटा खानेपानीको कल दिएको स्मरण गर्दै भने,‘पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउनुले हात्तीदहले पर्यापर्यटनको क्षेत्रमा फड्को मारेको छ ।’ रोजगारीका लागि बढ्दो विदेश पलायन रोक्दै स्थानीय युवा–युवतीलक्षित रोजगारी सिर्जना, थारू कला संस्कृतिको प्रवर्द्धन, पर्यापर्यटनको विकासका लागि वनस्टे कोशेढुंगा बनेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताए । वनस्टे सञ्चालनका अतिरिक्त नगरले वन समूहमा आबद्ध स्थानीय चार सय किसानको आर्थिक अवस्था उकास्न करिब एक करोड ४० लाख रुपैयाँबराबरको विभिन्न किसानमुखी आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय महिला समूहलाई दुना र टपरी बनाउने मेसिन उपलब्ध गराइएको छ । 

सुझावित समाचार