नेपाली नयाँ वर्ष २०८३ को अवसरमा बेलायतको लन्डनमा ‘नेपहप नाइट २०८३’ भव्य रूपमा सम्पन्न भएको छ।
मिलानोयर इभेन्ट्सद्वारा उत्तरी लन्डनको डाल्स्टनस्थित ‘अर्थ रिभोलुसनरी ह्याक्नी हल’मा आयोजित कन्सर्टमा नेपाली हिपहपका चर्चित कलाकारहरू समीर घिसिङ (भिटेन) र साकार (लिल बुद्ध)ले संयुक्त प्रस्तुति दिएका थिए। कन्सर्टमा एक हजारभन्दा बढी नेपाली युवाको उपस्थिति रहेको बताइएको छ।
साँझ ६ देखि मध्यरातसम्म चलेको कार्यक्रममा भिटेनले ‘हामी यस्तै त हो नि ब्रो’, ‘हालखबर’ र ‘चुरोट’ तथा साकारले ‘नो पिस इन लभ’लगायतका गीत प्रस्तुत गरेका थिए। दुवै कलाकारले ‘ल ल ल’ गीतमा संयुक्त प्रस्तुतिसमेत दिएका थिए।
कन्सर्टकै सिलसिलामा भिटेनले युट्युबमा ३० लाख सब्सक्राइबर पुर्याउने पहिलो नेपाली गायकको कीर्तिमान बनाएका छन्। यस उपलब्धिलाई आयोजक टोलीले लन्डन ब्रिजअगाडि केक काटेर उत्सवको रूपमा मनाएको थियो।