नेपालमा मलेसियाबाट समेत गाँजा तस्करी हुन थालेको छ । मलेसियाबाट ल्याइएको १३ केजी तीन सय ३० ग्राम गाँजा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको छ।
सो गाँजा लिन आएका चार भारतीय पनि पक्राउ परेका छन्।
पक्राउ पर्ने भारतीयहरूमा सायद सदिक अली, महेश अशोक मोर्जे, मिर्जा नाजिर बैग र मो अजिम छन्। उनीहरूको साथबाट गाँजा रहेको चार जटा झोला बरामद गरिएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए।
पक्राउ परेका भारतीयहरू मंगलबार बेलुका ८ बजे एयर इन्डियाको उडानबाट दिल्लीबाट काठमाडौं आएका थिए। मलेसियन एयरलाइन्सको जहाज भने पौने १० बजे अवतरण भएको थियो। लामो समय विमानस्थलको शौचालयमा बसेका उनीहरूले मलेसियन एयरलाइन्सबाट आएको लगेज लिएर निस्किएका थिए। ती लगेज कसले ल्याएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी सिलवालले बताए।
उनीहरू लामो समय शौचालयमा बसेपछि शंका लागेर निगरानी गरी प्रहरीले पक्राउ गर्दा झोलामा गाँजा भेटिएको हो। हवाई टिकट र १५ हजार रुपैयाँ भारतीय रुपैयाँ दिने सर्तमा आफूहरूलाई सो झोला लिन पठाइएको पक्राउ परेकाहरूले बताएका छन्। भन्सारको स्क्रिनिङमा झोलाभित्र गाँजा रहेको पत्ता लागेको थिएन।
नेपालको विमानस्थलमा थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीयहरू बारम्बार पक्राउ पर्दै आएका छन्। मलेसियाबाट पनि गाँजा आउन थालेको प्रहरीले जनाएको छ। यस्तो गाँजा धेरैजसो भारत पुग्ने गरेको छ। उच्च नाफा हुने भएकाले भारतीय गिरोहले थाइल्यान्ड र मलेसियाबाट नेपाल हुँदै गाँजा तस्करी गर्दै आएका छन्।