वर्ल्डलिंक कम्युनिकेसनले कालीकोटको आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डिपफ्रिज जडान गरेको छ । कम्पनीले पचालझरना गाउँपालिका– ७ स्थित नानीकोट स्वास्थ्य चौकीलाई सहयोग गरेको हो ।
उक्त स्वास्थ्य चौकीमा गुणस्तरीय फ्रिज अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधि सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो । सो समस्या समाधान गर्न कम्पनीले तीन किलोवाट क्षमताको सौर्य प्रणालीसहित डिपफ्रिज जडान गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको जनाएको छ । यसबाट औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास लिइएको कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालानले भनिन् ।
कम्पनीका अनुसार सोही वडाअन्तर्गत पंगेलीदेवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई अनलाइन स्मार्ट बोर्डमार्फत अंग्रेजी भाषा कक्षा पनि सञ्चालन गरेको छ । लोकोपकार संस्थासँगको सहकार्यमा वर्ल्डलिंकले २५ जना विद्यार्थीमा सो कार्यक्रम सञ्चालन गरेको हो । सहभागी विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो । भर्जुअल माध्यमबाट विद्यार्थीको आत्मविश्वास बढाउन सो कार्यक्रम प्रभावकारी हुने कम्पनीको भनाइ छ । वर्ल्डलिंकको यस पहलले ग्रामीण स्वास्थ्य सेवा सुधार र डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।