मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ माघ ८ बिहीबार
  • Monday, 31 August, 2026
सुवास भट्ट काठमाडाैं
२o८२ माघ ८ बिहीबार o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्वाचनका लागि दुई लाख १३ हजार कर्मचारी खटिँदै 

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ माघ ८ बिहीबार o६:१o:oo
  • मतदान केन्द्रसहित १६५ क्षेत्रमा निर्वाचन व्यवस्थापनका कर्मचारी पठाइने, तीनै तहका कर्मचारीलाई आवश्यकताअनुसार खटाएर त्यसबाट पनि नपुगे शिक्षकसमेतलाई निर्वाचनमा खटाउने तयारी

२१ फागुनको निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगले दुई लाखभन्दा बढी कर्मचारी खटाउने भएको छ । चुनाव तयारी गरिरहेको आयोगले कर्मचारी खटनपटनको तारतम्य मिलाउँदै छ । आयोगका अनुसार मतदान केन्द्रसहित १६५ निर्वाचन क्षेत्रमा निर्वाचन व्यवस्थापनका लागि कुल दुई लाख १३ हजार कर्मचारी खटाइनेछ ।

आयोगले केन्द्रीय कार्यालयसहित प्रत्येक जिल्लामा गरेर ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७० वटा जिल्ला निर्वाचन कार्यालय, ७ वटा प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान निर्वाचनका लागि कर्मचारी व्यवस्थापनको कार्य भइरहेको नयाँ पत्रिकालाई बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सामान्यतया जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतको कार्यालयमा न्यायसेवाका उपसचिवसरहका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतसरह र सात प्रदेश निर्वाचन कार्यालयमा उपसचिवसरहको कर्मचारीको नेतृत्वमा कर्मचारी खटाउने व्यवस्था छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयले अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटाउँछ ।

अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र छन् । ती सबै ठाउँमा आयोगले कर्मचारी व्यवस्थापन गर्नुपर्छ । पाँच सयजनासम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुईजना स्वयंसेवकसहित आठजना कर्मचारी खटिन्छन् ।

त्यस्तै, पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीनजना स्वयंसेवकसहित नौ कर्मचारी खटिन्छन् । अस्थायी मतदान केन्द्रका लागि भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुईजना स्वयंसेवकसहित पाँचजना खटाउने व्यवस्था छ ।

सात प्रदेश निर्वाचन कार्यालय र ७० जिल्ला निर्वाचन कार्यालयमा कर्मचारी दरबन्दी नै छ । यसबाहेकमा भने कर्मचारी खटनपटन गर्नुपर्छ । आयोगले आफूअन्तर्गत कायम नियमित दरबन्दीमा कार्यरतबाहेक अतिरिक्त कर्मचारीसमेतलाई व्यवस्थापन गरिरहेको छ ।

संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका कर्मचारीलाई आवश्कताअनुसार खटाएर त्यसबाट पनि नपुगे शिक्षकसमेतलाई निर्वाचनमा खटाउने गरी काम गरिरहेको आयोगका प्रवक्ता भट्टराईले भने । ‘मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा कर्मचारी खटाइसकिएको छ । मतदान केन्द्रमा निर्वाचनको केही समयअघि फागुन लागेपछि खटाइन्छन्,’ आयोगका प्रवक्ता भट्टराई भन्छन् ।

कर्मचारीलाई भत्तादेखि बिमासम्म 
निर्वाचनमा खटिने कर्मचारीका लागि विभिन्न सुविधा हुन्छन् । आयोगले ती कर्मचारीलाई भत्तादेखि बिमासम्मका सुविधा उपलब्ध गराउँछ । निर्वाचन आयोग, आयोगमातहतका ७७ कार्यालय र १६५ निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीका लागि सुरु तलबस्केलको शतप्रतिशतसम्म निर्वाचन सुविधाको व्यवस्था छ ।

अतिरिक्त समयमा काम गरेकोमा खाजा–खाना खर्चसहितको सुविधा ती कर्मचारीका लागि हुन्छ । मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीलाई दैनिक भत्ताको समेत व्यवस्था छ । मतदान अधिकृतलाई दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई दुई हजार, सहायक कर्मचारीलाई एक हजार ६ सय तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही एक हजार दुई सय रुपैयाँ दैनिक भत्ताको व्यवस्था छ । निर्वाचनमा खटिने सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँको बिमासमेत गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनको चालू खर्चमा सम्बन्धित ४८ वटा काम भइरहेका छन् । यिनका लागि ६ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । कर्मचारी सुविधाबारे प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ ले व्यवस्था गरेको छ ।