नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वाम–समाजवादी ध्रुवीकरणमा अघि बढेको छ । १० वाम मिलेर गत बुधबार नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो । विचार मिल्ने दल, समूह र व्यक्तिलाई पार्टीमा समाहित गर्दै जाने रणनीति नेकपाको छ ।
वर्ग, दृष्टिकोण र राजनीतिक चिन्तनका आधारमा धु्रवीकरण अघि बढेको नेताहरूले दाबी गरेका छन् । पश्चगामी र यथास्थितिवादीविरुद्ध अग्रगामी शक्तिहरूलाई संगठित गर्दै नेकपालाई मूल राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने नेताहरू दाबी गर्छन् । त्यही रणनीतिअन्तर्गत बुधबार भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान नेपाल’ नेकपामा समाहित हुँदै छ ।
‘वाम–समाजवादी ध्रुवीकरण सुरु भइसक्यो । सुरुमा १० वाम मिलेर नेपाली कम्युनिस्ट पार्टी बनायौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान भोलि समायोजन हुँदै छ । उहाँसँग जोडिएका साथीहरू आउनुहुन्छ । अन्य दल र समूह पनि समायोजन हुन तयार हुनुहुन्छ । उहाँहरू अर्को कार्यक्रममा आउनुहुन्छ,’ नेकपा नेता प्रकाश ज्वालाले भने ।
जेन–जी आन्दोलनका सकारात्मक पक्षलाई आत्मसात् गर्दै वाम–समाजवादी शक्तिलाई एकताबद्ध गर्दै समाजवादी लक्ष्य प्राप्तिको दिशामा अघि बढ्ने उनले बताए । ‘कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन ध्रुवीकरणको विकल्प छैन । सशक्त कम्युनिस्ट शक्ति निर्माणका लागि ध्रुवीकरण प्रक्रिया अघि बढाएका हौँ,’ उनले भने ।
नेता अग्नि सापकोटाले ध्रुवीकरण अभियान अघि बढिसकेको बताउँदै विचार मिल्ने सबैलाई समेटेर अघि बढ्ने जानकारी दिए । ‘ध्रुवीकरण त अघि बढिसक्यो । विचार मिल्ने सँगैलाई समेट्छौँ । विभिन्न दल र समूहसँग चरणबद्ध छलफल भइरहेको छ,’ उनले भने ।
राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा बुधबार दिउँसो २ बजे बृहत् पार्टी समायोजन कार्यक्रम राखिएको छ । कार्यक्रमलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, मातृभूमि जागरण अभियानका संयोजक भीम रावललगायतले सम्बोधन गर्नेछन् । समायोजनसम्बन्धी सहमतिपत्रमा बुधबार नै हस्ताक्षर हुँदै छ ।